असारे विकासको चटारो
कालीकोट : स्थानीय तहहरूमा बजेट सिध्याउनकै लागि असारको अन्तिममा धमाधम विकास निर्माणका काम भइरहेका छन् । विगत वर्षमा जस्तै यसपालि पनि असारे विकासले पुनः निरन्तरता पाएको हो । पचालझरना गाउँपालिका–९ को कोटिला तिखार्ति सडक मर्मत, गाउँपालिकामा रंगशाला निर्माण, पलाँतामा स्थानीय सडक, सान्नी त्रिवेणीमा स्थानीय सडक तथा अन्य पूर्वाधार, तिलागुफा, महावै, शुभकालिकालगायतका स्थानीय तहमा सडक र पूर्वाधारका कामहरू धमाधम भइरहेका छन् । कतिपय योजनाहरू असारमै सम्झौता भएर असारमै कार्य सम्पन्न गर्ने तयारी छ ।
जिल्लाको महावै गाउँपालिका अध्यक्ष नन्दबहादुर सिंहले स्थानीय तहमा अख्तियारी नै जेठ असारमा आउने समस्याका कारण असारमै सम्झौता र असारमै विकास गर्नुपर्ने बाध्यता रहेको बताए । प्रदेश र संघीय सरकारबाट कतिपय योजनाहरूको अख्तियारी नै जेठको अन्तिम साता र असारको पहिलो साता आउने भएकाले समस्या भइरहेको उनको भनाइ छ । बजेट फ्रिज जान नदिन असारमै सम्झौता गरेर असारमै हतारहतार काम गर्नुपरेको उनले बताए ।
सडक, विद्युत्, खानेपानीलगायतका योजनाहरू समयमै काम सुरु नगर्दा निर्माण कार्य सम्पन्न गर्न ढिलाइ भएको स्थानीय बताउँछन् । पचालझरना गाउँपालिका–७ का चम्फा बोहोराले असार महिना घरको काम र सरकारी कामसँगै हुँदा समस्या हुने गरेको बताइन् । गाउँगाउँमा सरकार पुगे पनि विकास निर्माणका काम र अन्य गतिविधि पुरानै गतिमा रहेको भन्दै उनको असन्तुष्टि छ । यस्तै तिलागुफाका स्थानीय निराजन हमालले स्थानीय सरकार बनेपछि समयमै विकास निर्माणका काम हुन्छन् भन्ने आशा निराशामा परिणत भएको बताए । उनले भने, ‘स्थानीय सरकार भएको अनुभूति गरिएको भए पनि असारे प्रवृत्ति भने कायमै छ ।’
विकास निर्माणका कामहरू ढिलो सुरु हुँदा असारमा कतिपय काम गरिरहेको र कतिपय उपभोक्ताहरू भुक्तानी लिन भीड लागेका छन् । जिल्ला समन्वय समिति कालीकोटका प्रमुख अनिपाल शाहीले असारे विकासका कारण सबै योजनाहरूको अनुगमन गर्न कठिनाइ हुने गरेको बताए । जिल्लाका ९ वटै तहमा सञ्चालित विकास आयोजनाको अनुगमन गर्न भौगोलिक विकटताका कारण दुई महिना लाग्ने उनको भनाइ छ । धेरै विकास निर्माणका योजनाहरूको अख्तियारी असारमा आएर असारमै काम हुने भएकाले सबै स्थानीय तहका सबै वडाहरूमा अनुगमन गर्न सकिँदैन ।