कालिकोटमा डोजरले सत्यानाश, जहाँ सडक, त्यहाँ पहिरो
कालिकोट : जिल्लामा स्थानीय तहले फेसनका रुपमा विकासमा डोजरको प्रयोग गर्दा जहाँतही पहिरो जाने समस्या भएको छ । हरेक स्थानीय तहमा जहाँ सडक त्यहाँ पहिरो छ । जहाँ डोजर पुगेको छ त्यहाँ पहिरो पहिरो पनि पुगेको छ ।
हरेक वर्ष वर्षायाम सुरुसँगै ठाँउठाँउमा पहिरो जान सुरु हुन्छ । नागरिकलाई त्रास, विकासको विनास हुन्छ । जिल्लाको पचालझरना गाउँपालिका ८ लामाचौरमा ठूलो पहिरो खसेको छ । एउटा बस्ती नै जाखिममा परेको छ । सामुदायीक वनमा लगाएका सयौँ विरुवा मरेका छन् । स्थानीय जगत्त गिरीले भने, 'लामा चौरमा कहिल्यै पहिरो खस्दैन थियो । सामुदायीक वनको बीचबाट बिरुवा मासेर डोजरबाट सडक खनियो । अहिले थामि नसकिने पहिरो गइरहेको छ । राति पानी पर्दा पहिरो खस्न थालिहाल्छ । राति निदाउन पनि सकिदैन्,' कुन बेला के हुन्छ ।'
यो वर्ष जेठकै महिनामा भारी वर्षा भयो । दाँहाँमा पहिरो जाँदा बजारबाट फर्किँदै गरेका बले विकको ज्यान गयो । उक्त पहिरो पनि सडकमै खसेको थियो । जहाँ बर्षेनि पहिरो खस्ने र डोजरले पुन: सडक संचालनमा ल्याउने काम हुँदै आएको छ । गत आर्थिक वर्षमा जिल्लामा पहिरोबाट ५१ जनाले ज्यान गुमाए । अधिकांश स्थानीयको डोजरबाट खनिएको सडकको आसपासबाट खसेको पहिरोमा परी ज्यान गुमाएका थिए।
यस वर्ष पनि बाढी र पहिरोको जोखिम निकै बढेको छ । भारी वर्षा हुने समय साउन र भदौ महिना नआउदै जेठमा परेको अविरल वर्षाका कारण जिल्लाभरी का सडक पहिरोका कारण अवरुद्ध छन् । करोडौँ खर्चेर बनाएका सडकमा मोटरसाइकल पनि गुडाउन सकिने अवस्थामा छैनन् ।
जिल्लामा बर्षेनि पहिरोको जोखिम बढ्नुमा डोजर विकास र भीरालो जमिन मुख्य कारण भएको प्राविधिक बताउँछन् । त्यससँग स्थानीय तहले वातावरणीय प्रभाव मुल्यांकनबिना धमाधम डोजरबाट सडक खन्नु पनि अर्को कारण हो । निमित्त समन्वय अधिकारी इन्जिनियर चक्रबहादुर शाहीले स्थानीय तहले अव्यवस्थित रुपमा धमाधम डोजरबाट सडक खन्दा पहिरोको जोखिम बढको बताए ।
उनले भने, 'जिल्लामा अधिकांश भिरालो जमिन छ । बलौटे माटो छ । यहाँ मानवीय जनशक्तिबाटै विकासमा जोड दिनुपर्छ । सडक खन्दा बायो इन्जिनियरिङ पनि अनिवार्य आवश्यकता हो । त्यसतिर कसैले पनि ध्यान दिएका छैनन् ।'
गाउँका युवाहरु कामको खोजिमा भारततिर जान्छन् । यहाँका स्थानीय सरकार सडक खन्न भारतबाट डोजर ल्याउँछन् । स्थानीय जनशक्तको श्रम विदेश गएको छ । डोजर विकासले गाउँहरु सबै पहिरोको जोखिममा परेका छन् । यो राम्रो पक्ष होइन् ।
जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनीपाल शाहीले जनप्रतिनिधिलाई तत्काल गाउँगाउँमा गाडी पुर्याउने रहरका कारण जहाँ पनि डोजर प्रयोग गर्दा पहिरोको समस्या आएको बताए ।
उनले भने, 'छिटो सडक पुर्याउने नाममा धमाधम डोजरमार्फत सडक खन्नाले पहिरोको त्रास बढेको छ । जिल्लाका हरेका पालिकामा सडकको आसपासका बस्तीहरु सबै पहिरोको उच्च जोखिममा छन् । कतिपय ठाउँमा भने कल्पना नगरेको स्थानमा पनि पहिरो खसेको छ ।'
कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बाढी र पहिरोको जोखिमलाई मध्यनजर गरी पूर्व तयारी गरिरहेको बताए । उनले भने, 'तीनपटक जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ। हरेक वडामा २५ हजार मुल्य बराबरका उद्धार सामग्री राखिएको छ । राजमार्ग आसपासमा पहिरो जाँदा तत्काल सडक खोल्न डोजर पनि राखिएको छ । '
एक सय ८ बस्ती उच्च जोखिममा
जिल्लाका १ सय ८ वटा बस्ती विपद्को उच्च जोखिममा रहेको पाइएको छ । कर्णाली विकास आयोगले २०७३ सालमा निकालेको प्रतिवेदन अनुसार कालिकोटका १ सय ८ वटा बस्तीहरु बाढी पहिरोको उच्च जोखिममा रहेको पाइएको हो । ती बस्तीलाई सुरक्षित बनाउन स्थानीयदेखि संघीय सरकारसम्म कसैले पनि चासो देखाएका छैनन्।
कर्णाली विकास आयोगले तयार पारेको प्रतिवेदन अनुसार शुभकालिका गाउँपालिकाको तल्लो दलित टोल, छात्ती, साउबाडा, पर्जै, चौलागाईंबाडा, माथिल्लो हाउडी, कालेबाडा, समलागाउँ, पचालझरना गाउँपालिकाको दलित टोल, खार्दु, जारकोट, कुड, तोलीभिर, मय, विषखेत, पातला गाउँपालिकाका राडु, डोरी, तल्लो नेटा, सल्लीकोट, कुम, दुर्सी, बोक्चु, जिन्दर, तिब्गाड, मोहर, लखनबाडा, चुलाकोट, पारीखेत गाउँहरु पहिरोको उच्च जोखिमका रहेको उल्लेख गरिएको छ । त्यस्तै, महावै गाउँपालिकाका कदमपुर, पदमघाट, सिमखेत, नकु, धामीबाडा, औलगेला, सइगेला, गणेशकोट, पान्तडी, कोटबाडा, सान्नीत्रिवेणी गाउँपालिकाका लुसा, सेरीज्युला, रकु, लुइयाँटा, कयारी, उजेलगाउँ, तिकुवा, बालुपाटा, तिलखुरेनी, पोरीवन, धामीगाउँ र नरहरिनाथ गाउँपालिकाका धारी, बडेमला, चाखुडे, डाँडाखर्क, घट्टेखोला, घोडेसिल्ला, खातीरूपसा, भेडेखोला, खलाबाडा, तामाखोला, मास्कोट, थाइमाडु, खार, उच्छव गैराटोल, दुदुल्ली पाकर टोल, खाडीकोट, बड्डाखला लालु, वसन्तपुर, साँझपानी, सितला, घट्टखोला बाढी र पहिरोको उच्च जोखिममा रहेको जनाएको छ ।
यस्तै तिलागुफा गाउँपालिकाका डाँडाभिग्म, नाग्मा, चुलिकोट, फोइमडीपानी, फोइधराली, राँचुली, खल्ला, धनाडा, छाप्रे, ओखरभित्ता, लुब्र, रानावाडा, माजुवाडा, खाँडाचक्र नगरपालिकाका पोरीपाली, सेरीघाट, दोहा, ओखलढुंगा, दाहा, बदालकोट र रास्कोट नगरपालिकाका न्यौपानेवाडा, चुडीमुल, पुछुडेवाडा, बुढीसैन, कुमलवाडा, स्युना, काप्रा, औल, सान्नीघाट, पुच्छेगाउँ, गैरागाउँ, बल्लेकाँध, बाखरकोट, पाटेडिल, बास्तोला, पालाँतीबाडा, बाइतीसिम पनि पहिरोको उच्च जोखिममा रहेको जनाएको छ ।
स्थानान्तण भएनन् जोखिमयुक्त बस्ती
जिल्लाको शुभकालिका गाउँपालिका ६ हाउडीमा बर्षेनि पहिरो जाँदा एक सय ७६ घरधुरीहरु जोखिममा छन् । २०७२ सालदेखि बर्षेनि पहिरो खस्दा हाउडीका २२ दलित घरधुरीसहित १ सय ७६ घरधुरीहरु जोखिमयुक्त ठाँउमा बस्दै आएका छन् ।
गत वर्षको साउन महिनामा लगातार पहिरो खसेर १५ दिन घर छोडेर खुला चौरमा गाउँपालिकाले दिएको पालमा बसे । गाउँलाई स्थानान्त्रण गर्ने भनेर पालिकामा निर्णय पनि गरे । तर ती बस्तीको अन्यत्र कुनै विकल्प नभएकाले वर्षा रोकिएपछि पुन: त्यही घरमा फर्किए । यो वर्ष पनि पहिरो आउन थालिसकेको छ । त्यहाँका नागरिकहरु पहिरोको त्रासमै त्यही बस्तीमा छन् ।
२०७२ सालदेखी निरन्तर पहिरो खस्दा हालसम्म २२ दलित परिवारका घर सहित २५ वटा घर भत्किसकेका छन् । २७ जनाको खेतियोग्य जमिन पुरै पुरिएको छ । शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईका अनुसार गाउँपालिकाको बजेटले पहिरो रोकथामका लागि सम्भव नरहेकाले जिल्ला दैवि प्रकोप उद्धार समिति मार्फत हरेक वर्ष केन्द्रमा पहल भइरहेको भएपनि हाउडीका नागरिकको पीडा सम्बोधन भएको छैन् । स्थानीय सौरे विकले तीन वर्षदेखि न राति निन्द्रा न दिनमा भोक भएर बाँच्नु परेको बताए ।
यस्तै पचालझरना गाउँपालिका ३ मा २०६५ सालमा पहिलो पटक पहिरो गयो । ६ घर पुरिए । त्यसपछि बर्षेनि पहिरो गइरहेको छ । दुई पटक पहिरो रोकथामका लागि बजेट आयो । स्थानीय ज्योतीबहादुर कठायतका अनुसार गत वर्ष र चालु आर्थिक वर्षको प्रदेश सरकारबाट ३०∕३० लाख बजेट आयो । सामान्य जाली लगाइयो । तर १५ दिनसम्म पनि टिकेन् । जालीहरु पनि पहिरोसँगै बगे । जुन पहिरोले ६० घरधुरीहरु जोखिममा छन् । उक्त बस्ती स्थानान्तरण गर्ने निर्णय गरेर अन्यत्र ठाउँ हेरियो । तर बस्ती सारिएन । जोखिमयुक्त उक्त बस्तीमा अहिले पनि मानिसको बसोबास रहँदै आएको छ । आजभोली पहिरोको त्रासले मानिस लेकाली क्षेत्रका गोठतिर सरेका छन् ।
यस्तै गत वर्षको साउन १ गते जिल्लाको महावै गाउँपालिका ३ नकुमा भीषण पहिरो जाँदा स्थानीयका ३४ घरधुरीहरु जोखिममा परे । उनीहरुलाई केही समय खुला ठाउँमा पालमा राखियो । उक्त बस्तीलाई स्थानान्तरणका लागि पहल गरियो । महाँवै गाउँपालिका ३ का वडा सदस्य रजबहादुर बिष्टकै पहलमा गाउँलाई नै स्थानान्तरण गर्न जिल्लासम्म आए । जिल्ला प्रशासन र प्रहरीमा निवेदन पनि दिए । उनीहरुको अन्यत्र कही जाने ठाँउ थिएन् । सरकारले त्यसको व्यवस्थापन गरिदिएन् । वर्षा रोकिएपछि पुन: त्यही बस्तीमा मानिस बस्न थाले । यो वर्षपछि फेरी गत शुक्रबार त्यही नकुमा फेरि पहिरो खस्यो। ती वडा सदस्य रजबहादुर बिष्टकै घर पहिरोमा पुरियो । उनका दुई छोरा दुई छोरी र उनका दाइ डिलबहादुर बिष्टका दुई छोरीको ज्यान गयो । परिवार नै शोकमा डुब्यो ।
यस्तै जिल्लाको तिलागुफा नगरपालिका ७ छाप्रेको ढाँडखोलामा गत वर्षको साउन महिनामै भीषण पहिरो खस्यो । स्थानीयका तीन घर पुरिए । २५ घरपरिवार विस्थापित भए । करिब ९३ लाख ३० हजार बराबरको क्षति भयो । गाउँ नै पहिरोको जोखिममा भएपछि त्यहाँको बस्ती स्थानान्तरण गर्ने भनियो । तर वर्षा रोकिएपछि त्यही बस्तीमा मानिसहरु पुन: बस्न थाले। अहिले पनि त्यो बस्तीमा पहिरोको जोखिम भएपनि मानिसहरु बसिरहेका छन्।