‘वधूशिक्षा’ लेखेर ‘वरशिक्षा’ नलेखेका भानुभक्त !
नेपाली समाजमा एकातिर श्रीमान्ले श्रीमती छोड्नेभन्दा श्रीमतीले श्रीमान् छोड्ने दर बढ्न थाल्यो अर्कोतिर परिवर्तनका लागि भन्दै महिलाको झुण्ड, बाहुन हुँ भन्नेको अर्को झुण्ड, थारुको अर्को झुण्ड, दलितको झुण्ड, आदिवासीको झुण्ड बनिरहँदा मानवीय भावनाको बोध हुन नसकेको त होइन !
१९औं शताब्दीका फ्रान्सेली समालोचक एच.ए. टेनले आफ्नो ‘द थ्यौरी अफ इंगलिस लिटेरेचर’ नामक पुस्तकमा समाजपरक समालोचना पद्धतिको चर्चा गरे। ‘जाति, पर्यावरण र क्षण’बाट हरेक साहित्यकार प्रभावित हुन्छ’ भन्ने उनको विचारले इतिहास र वर्तमानलाई सामयिक व्याख्या गर्ने आधार प्रदान गरेको छ। माक्र्सवादी चिन्तनको स्वरूपभित्र पनि यो अवधारणाले थप बल प्रदान गरेकै भान हुन्छ। अहिले वर्गीय समाजलाई हेर्ने चस्माको आलोकमा वास्तविकताको अन्तर्य उद्घाटन हुन थालेको छ।
समाज बाहिर र भित्रको चर्चा, वास्तविकता र पूर्वाग्रहको भाष्य अनि प्रभाव, दबाब र अभावको भिष्म व्याख्याको प्रयास हुन थालेको देखिन्छ। यस मानेमा हाम्रा आदिकवि भानुभक्त आचार्य (१८७१ असार २९–१९२५ असोज ६) लाई हामीले उनकै युगसँग राखेर हेर्नुपर्छ। टेनका अनुसार– साहित्यकार समाजकै प्राणी हो। उसको जन्म पनि समाजमै हुन्छ। त्यसैले साहित्यकार समाजको संस्कार, मूल्य, मान्यता र जातगत प्रभावबाट मुक्त हुन सक्दैन। यही आधारमा भानुले वधूशिक्षामा नारी दमनको विकराल परिदृश्यलाई पस्कनु त्यो समाजको प्रभाव हो। उनले नारी आदर्शताको अर्थमा वधूशिक्षा लेखे। किनभने, तत्कालीन समाजभित्र कँज्याइएका नारीहरूमा पितृसत्तात्मक दबाबको प्रभाव थियो :
भक्तिले पति ईश्वरै भनी बुझुन् पाऊ तलैमा परुन्
पूजा हो पतिको भनेर घरका काम्मा अगाडि सरुन्।।१।।
पतिपरायण हुँदा पत्नीपरायण होओस्, पतिभक्ति हुन्छ भने पत्नीभक्त होओस् तब विभेदको कटुताको सवालै उठ्दैन ! बालबच्चा हेर्नुपर्ने, भित्री कामधन्दामा नारीको कला पारखी रहने अर्थात् लैंगिक चाहनाको अन्तरले पनि सायद एउटा अघोषित कानुन बन्यो। नारीलाई घरभित्र कँज्यायो अनि समाजभित्र कुसंस्कार बन्यो। यसर्थ, भानुको भावनामा सोही समाजको दृश्य चित्रित हुन पुग्यो। भानुले तारापतिलाई सम्झाउँदै बुहारीका लागि वधूशिक्षा बनाएको कुरा पृष्ठभूमिका रूपमा तीन पंक्तिमा उल्लेख गरेका छन्। वधूशिक्षालाई नै घटनाले जन्माएको प्रष्ट छ। भानुको विचार र सोचमा नारी दमनको भावना भन्दा पनि तत्कालीन समाजको बुझाइभित्रको वस्तुपरक चित्रण छ अर्थात् तत्कालीन समाजको प्रतिनिधिमूलक भाव प्रस्फुटित छ। वस्तुत: साहित्यकार समाजबाहिर जान नसक्ने टेनको अवधारणासँग वधूशिक्षा ठ्याम्म मिल्छ :
रोगी बालक वृद्ध सासु ससुरा जेठाज्यु देवर पति
पूmपू सासु अमाज्यु नन्द जति छन् खान्छन् इ खाजा जति।।१२।। ....
नारी र पुरुषका बिचको लैंगिक विभेदभित्र धार्मिक र सामाजिक प्रहार जति छ त्यसभित्र प्राकृतिक अन्तरलाई समेत घुसाइएको छ। आखिर दमन, अन्याय, अत्याचार त नारीलाई मात्रै होइन, सबैका लागि दण्डनीय अपराध नै हो। यद्यपि, आज भत्किरहेका विसंगत परिवारमा नारीको भूमिकालाई त्यतिखेर सचेत तुल्याएका आदर्शवादी सन्देश त आजका लागि निकै उपयोगी छन् नै। किनकि प्रकृतिले बच्चालाई नौ महिना कोखमा राख्ने, जन्माउने, आमाजस्तो गरिमामय भूमिका निर्वाह गर्ने र सन्तानलाई असल शिक्षा दिने सबैभन्दा शक्तिशाली क्षमता पुरुषलाई दिएकै छैन। वस्तुत: सतीप्रथा, दासप्रथा, पुरुषद्वारा बहुविवाह गर्ने एकोन्मुख पितृसत्तात्मक संस्कार, नारीले नारीलाई नै र पुरुषले नारीलाई दमन गर्ने बुहार्तनवादी सोचले त्यतिखेरको समाज कति ग्रसित रहेछ भन्ने कुरालाई बोध गर्ने अवसर वधूशिक्षाले दियो। भानुले पनि समाज अनुकूल लेखिदिए तर त्यो समाजकै सोचभित्रमात्र पोखिएर त्यसमा अलिकति पनि विद्रोही भाव नहुनुले नै भानु दोषमुक्त रहँदैनन् :
सौताको रिस गर्नु पाप छ बहुत् एकै दुवैका पति।
मर्दामा पनि जानुपर्छ जसले मीलेर सङ्गै सती।।१३।।.....
....चाकर्लाई अह्राउनू खुशि हुँदै मीठा वचन्ले गरी।।३।।....
छिनि सकि सब धन्धा सासुको पाउ मिच्दी।
उँघिकन बिखबर् भै पाउ मिच्दै त ढल्दी।।२७।।....
राम्रो–नराम्रो कर्मलाई पाप–धर्मको कसीमा कसिदिएकाले भानु पनि उक्त समाजको आफ्नै विश्वासमुखी नियमबाट अछुतो रहेनन्। २०८औं जन्मदिवसको प्रसंगलाई हेर्दा १८७१ मा जन्मेका भानुले भोगेको समाज आजजस्तो त पक्कै थिएन। किनभने अमेरिका युरोपतिर सन् १८४० को दशकमा नारी आन्दोलनको संगठन प्रारम्भ भएको इतिहास छ। १९औं शताब्दीबाट प्रारम्भ भएको नारीवादी आन्दोलनले आजसम्म समानताको लडाइँ लडिरहनुपरेको छ। यो प्रशंसावादी वा बचाउमुखी विचार नभएर समाजको गतिशील यथार्थ हो। भानुको त्यो बेलाको समाजमा हनन् भएको नारी अधिकारका सन्दर्भलाई उनले वस्तुपरक व्याख्या गरिदिए। त्यसैले हामीलाई केही त थाहा भयो। वस्तुपरक रचनामा रचनाकार तटस्थ बन्न पुग्छ तर आत्मपरक लेखनमा लेखकको नीजत्व झल्किन्छ। आखिर उनी तत्कालीन समाजका एक प्रतिनिधि पात्र न हुन्। वधूशिक्षा लेखेकै कारण भानुलाई नारीविरोधी भनेर आरोपको लाठी बर्साउनुभन्दा २०० वर्षपछिका हामीले व्यावहारिक रूपमा समतामूलक समाजको दिगो सोच बनाउनु उत्तम हो।
साहित्यकार जुन देश, काल, समय र परिस्थितिमा जन्मे, हुर्केको हुन्छ, सोहीअनुसार सामाजिक तथा सांस्कृतिक मूल्य मान्यतालाई विश्वास गर्छ। भानु पनि त त्यही पितृसत्तात्मक समाजमा जन्मिए। अनि, उनी पनि आजसम्म जकडिएर हट्न नसकेको नारी दमनकारी सोचभित्र मात्रै रुमल्लिए :
प्राणका नाथ् पतिका अगाडि गइ जो फर्माउँछन् सो गरोस्।
भन्छन् ल्यान तमाखु खान्छु भनि ता चाँडै तमाखू भरोस्।।
किस्मिस् दाख बदाम मिस्रि नरिवल् जो चीज् छ सो सो दिई
पाऊ मिच्न तयार भै अघि सरोस् तेल्को कटौरा लिई।।२८।।
श्रीमान्का लागि बदाम, किसमिस दिनुपर्ने वधूशिक्षाको सन्दर्भले विपन्न परिवारको अभाव र वास्तविकतालाई समेट्न सक्दैन। यहाँ श्रीमान्ले श्रीमतीलाई सोही भाग कटाएर दिनुपर्ने मान्यता रहँदो हो त सायद वधूशिक्षामा देवकोटाको मुनामदनको आभा आइहाल्थ्यो। अर्कोतिर, हिजोको धुमपान गर्ने संस्कार र आजको समाजको मद्यपानसम्मको संस्कारसँग तुलना गर्दा मान्छे त आज नै बढी अनैतिक बन्दै गएको देखिन्छ। यद्यपि, बुहार्तनवादी दमनकारी हिजोको चित्र आज धेरै हदमा परिवर्तित छ। परिवारमा आपसी सद्भाव र प्रेमका कोणबाट हेर्दा आजको मान्छे हिजो जसरी संयुक्त परिवारमा पनि छैन। अनि, सासुले बुहारीलाई बुहार्तन लाद्ने परिपाटी उल्टिएर छोराबुहारीले वृद्ध अभिभावकलाई अपमान गरेका दृश्य आज छन्। समाज परिवर्तन हुनुपर्नेमा लोभानीपापानी बढ्दै गएको भान हुन्छ।
आजको सहरी समाजतिर हुने विवाह, जन्मदिन जस्ता समारोहमा मदिराजन्य पदार्थ खाने र खुवाउने व्यवस्था नभएसम्म त्यसलाई स्तरीय भेला मानिँदैन। यसर्थ वधूशिक्षामा वर्णित समाजसँग रहेर तुलना गर्दा हाम्रो वर्तमान समाजमा केही परिवर्तन त भयो तर विसङ्गति बढ्यो। हिजोको आदर्श प्रेम आज भौतिक र दैहिक वासनामा परिणत भयो। हाम्रो समाजमा श्रीमान्ले श्रीमती छोड्नेभन्दा श्रीमतीले श्रीमान् छोड्ने दर बढ्न थाल्यो। बच्चालाई झाडीमा फाल्ने आजको भयावह अवस्था हिजो थिएन। आजको समाज जति अनादर्श र कलंकित छ त्योभन्दा धेरै सभ्य र भव्य सुखका साथ पारिवारिक सद्भाव हिजो बढी थियो कि ! एउटा विचारणीय पाटोलाई हेर्दा सायद हिजोको समाजका सकारात्मक विषयलाई भानुले धेरै लेखेनन्। अर्थात्, ‘वधूशिक्षा’ त लेखे तर ‘वरशिक्षा’ लेखेनन् र गल्ती भएको हुँदो हो।
सासुले बुहारीलाई बुहार्तन लाद्ने परिपाटी उल्टिएर छोराबुहारीले वृद्ध अभिभावकलाई अपमान गरेका दृश्य आज छन्। समाज परिवर्तन हुनुपर्नेमा लोभानीपापानी बढ्दै गएको भान हुन्छ।
आजका मान्छेले लेख्ने साहित्यमा दमन र उत्थानका विषयलाई जति धेरै उठाइन्छ तर मानवता र विपन्नतामा दुख्ने घाउ छायामा परिरहेकै छन्। भावी पिँढीले आजको समाजमा पनि अभैm व्याप्त रहेको जातीय विभेदका समस्याभन्दा पनि चर्काे बनेको भौतिकवादी लालसा, अमानवीय स्वार्थका कारण ओझेलिएको मानवताका विषयमा प्रश्न उठाउन सक्नेछ। त्यहाँ तेस्रो लिंगीको आवाज छुटेको, नारीद्वारा पीडित पुरुषको कथा छुटेको अनि कोटा पद्धतिका कारण, जातका कारणले सक्षम मानिसलाई अन्याय भएको कुरा पनि त उठ्न सक्ला। आज हामीले बनाएको समानता, अधिकार र अवसरको दायरालाई आगामी पुस्ताले ‘मानवीय न्यायको सिद्धान्त’ विपरीत भनेर अथ्र्याउन सक्ला। त्यसैले हाम्रो सोच दोषमुक्त छँदै छैन। आजका लागि निकै सान्दर्भिक माग बनिरहेका विषय भोलिका लागि असान्दर्भिक र अनुपयुक्त हुन सक्छन्।
विभेदमा प्रताडित मानवतावाद
देशको लिखित कानुनभन्दा समाजको अलिखित कानुन कहिलेकाहिँ निकै अब्बल बनिदिन्छ। यसले सकारात्मक र नकारात्मक दुवै धारणालाई मलजल गराइदिन्छ। यदि वधूशिक्षाभित्र वरशिक्षाको भावना पनि हुँदो हो त सायद त्यो समालोचनामा जिम्मेवारीबोध हुन्थ्यो। धेरै हदमा नारीले घरभित्र र पुरुषले घर बाहिरको जिम्मेवारी सम्हाल्ने पद्धतिले हाम्रो समाज अद्यापि सञ्चालित छ। नारीले असल आचरण अपनाए घरमा राम्रो हुने मान्यताले पुरुषलाई भन्दा नारीलाई शिक्षा दिनुपर्ने संस्कारबाट समाज अघि बढ्नुपथ्र्यो तर त्यसो पनि भइरहेको देखिँदैन। आमाको काखबाट बालकले सिक्ने ज्ञानका सन्दर्भ हिजो अलिखित थिए तर उपयोगी थिए। वस्तुत: ‘मानवता’ वादमा फुल्ने प्रेमभावमा कोही दलित हुँदैन न त आरक्षणको आवश्यकता नै हुन्छ। आजको सन्दर्भमा पनि अवसर र अधिकारका नामले मानवीय न्यायलाई समुचित सम्बोधन गर्न सकेको छैन !
समतामूलक समाज निर्माणार्थ जुट्नुपर्ने हामी हिजोको पुस्तालाई गाली गर्नतिरै बढी तम्सिएका छौं। अहिले त परिवर्तनका लागि भन्दै महिलाको झुण्ड, बाहुन हुँ भन्नेको अर्को झुण्ड, थारुको अर्को झुण्ड, दलितको झुण्ड, आदिवासीको झुण्ड बनिरहँदा मानवीय भावनाको बोध हुन नसकेको त होइन ! मानवीय हिसाबमा गरिबको घर बनाऔं, उसलाई जग्गा दिलाऔं, विपन्नका छोराछोरी पढाऔं या अन्य मानवीय सहयोग गरौं, विपन्नका लागि रोजगार दिलाऔं भन्ने भावना हामीभित्र जागृति देखिँदैन। तब कुरा समानताको हुने तर काम स्वार्थमा अड्किने समस्या रहिरहन्छ। किनभने, यदि भानुले आजको समाजलाई देख्ने हो भने उनले घाँसीलाई हेर्ने दर्शनभन्दा पृथक् चिन्तन जन्मिँदो हो !
भानुको युगमा अधिकार र समानताको कुरा गर्दैगर्दा त्यहाँ बुहार्तन र नारी दमन त थियो तर मानवतावादी सकारात्मक चिन्तन पनि निकै बलियो रहेको अनुमान लगाउन सकिन्छ। हामी हिजोको पुस्तालाई गाली गरेर विभेदको झुण्डवादी लडाइँमा फस्न थालेका छौं। हिजो जिउँदाको जन्ती मर्दाको मलामी बन्ने हामीले आज आफ्नो र अर्कोको सीमारेखा कोरेका छौं। फलत: असहयोगी बन्ने नीतिको अघोषित दायरामा माथिदेखि तलसम्म नै विभाजित छौं। आज त आपूmलाई प्रगतिवादी नारीवादी हुँ भन्नेले नारीको हक र हितका कुरा उठाउँदा नारीद्वारा हुने पुरुषको दमनलाई भुल्नु नहुने बाध्यता बढ्दो छ। चाहे उदार नारीवादका कुरा होऊन्, चाहे माक्र्सवादी नारीवाद, या त आमूल नारीवाददेखि समाजवादी नारीवादसम्मा कुरा आऊन् आखिर मानवतावाद पछाडि नै छ।
जबसम्म मानवतावाद हुँदैन त्यहाँ चुरो कुरै छुट्छ। जब मानवतावाद आउँछ तब त्यहाँ नारीवादका लम्बेतान चर्चा नै चाहिँदैन, साम्यवाद आइहाल्छ। अहिले उत्तरआधुनिक नारीवादका आँखाबाट हेरिरहँदा पनि तेस्रो लिंगीले उपेक्षित हुनु परेको दर्दको सन्दर्भ छुट्दोरहेछ। जसले दमित, दलित, पिछडा वर्गका आवाजलाई उठाउँछन्। तिनले गरिबीले ग्रसित ब्राह्मण वा क्षत्रीलाई पनि शोषकको संज्ञा दिने रहेछ। वास्तवमा आजको युगमा सबैलाई एकै डालामा हालेर हेर्नु अनुचित हुन्छ। यस मानेमा भानुले देखाएको पारिवारिक सद्भाव र प्रेमको कसिलो एउटा नातोलाई, देशभक्तिको समर्पण र समाजको सौहार्दतालाई त आज पनि उत्तिकै बोध गर्नुपर्छ। यसर्थ ‘वधूशिक्षा’ लेखेर ‘वरशिक्षा’ नलेखेका भानुलाई समालोचक टेनको अवधारणामा राखेर हेर्दा त्यो उनको समाजको प्रभावमा सिर्जित रचना हो भन्नुमा बढी न्यायोचित हुन्छ।