कति सक्छस् अझै दुःख दे !
दैवको लीला या प्रकृतिको लीला
न टेक्ने टेको न समाउने हाँगो
गरिबीमा पिल्सिएर
सेउलाको छानो सेउलाको ओछ्यान
पहिरो र बाढीको चपेटामा परेको
जीवनको के बयान ?
कोरोनाले कब्जा गरेको जीवन
मृत्युसँग पौंठेजोरी खेलिरहेछ
सेता वस्त्रधारी धर्तीका भगवान्सँग !
जीवनको याचना गर्दै
मृत्यु र जीवनको दोसाँधमा
मुर्छिंदै बौरिँदै बाँचिरहेछ
अभावै अभावमा गुज्रिरहेको जीवन
भ्याक्सिन आउँछ रे !
आउँछ रे ! ल्याउँछ रे !
प्रत्येक जीवनमा खुसीका दिन,
आसैआसमा अल्झिरहेको जीवनमा !
दबाइपानी अक्सिजनको के कुरा ?
आफन्तका मृत्युमा बगेका आँसुका के कुरा
मलामीबाट समेत वञ्चित भएको बेला।
हो यही बेला !
हो यही बेला मौका छोप्दैछ !
बाढी र पहिरोले पनि छक्का मार्दैछ
धेरैका खुसी र जीवनलाई गर्भमा लतार्दैछ।
भोक मेटाउने दानाको के कुरा
टाउको लुकाउने जमिनको के कुरा
दाहसंस्कार गर्न जमिनसम्म नपाएको बेला
आफ्नैलाई पराई बनाइसकें
आफन्तसँगको वियोग सहिसकें
भन्दिनँ दैव सुख दे।
गुनासो !
गुनासो छैन कोहीसित
पौरखी साहस त कहाँ घटेको छ र !
आँखाबाट झर्ने आँसु सकिइसक्यो तर
सुकेका आँसुका टाटा कहाँ हटेको छ र !
तर, गर्व छ !
गर्व छ मलाई मेरो माटोमा
पौरखी हातले कोरिएका मेरो बाटोमा
फाटेका छैनन् जीवनका लक्ष्य
केही रेशाहरू उध्रिएका मात्र हुन्।
रहरहरूमा ग्रहण लागेको होइन
केही क्षण कालो बादलले ढाकेको मात्र हो।
आरोह–अवरोहमा भेटिने जहरहरूमा
संघर्षमय जीवनका कहरहरूमा
सहयोगी मनहरूको अभाव छैन यहाँ
हातेमालो गर्ने साथहरूको कमी छैन जहाँ
कालो बादलले कहाँ ढाकी रहन सक्छ र !
सूर्यको किरणसँगै रमाउने हरेक रहरहरूमा।
धर्म अझै मरेको छैन
धर्म अझै मरेको छैन मेरो माटोमा
विचलित हुँदैनन् पाइला कर्मको बाटोमा
त्यसैले हिम्मत कहाँ हारेको छ र !
भन्दिनँ दैव केही गरी दे
जीवनका खाली भकारी भरी दे
आकासको छानो बालुवाको मानो
सहन्छु अझै दुःख दे
मागेर खान्न अन्नको दानो
दैव कति सक्छस् अझै दुःख दे।