कालिगडको हातै काटिएको ऐतिहासिक बल्कोट पौवा

कालिगडको हातै काटिएको ऐतिहासिक बल्कोट पौवा

सन्धिखर्क : जंगबहादुर राणाको न्वारान भएको स्थान भनेर चिनिने विचित्रको बल्कोट पौवा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। प्रधानमन्त्री जंगबहादुर राणाको पालामा तत्कालीन कर्नेल सनदसिंह टण्डनको नेतृत्वमा कालिगडले अत्यन्तै आकर्षक शैलीमा बनाएको पौवा र त्यसभित्र शिवालय मठ, तथा अन्य मन्दिरहरू अवस्थित छन्। १९०४ सालमा पौवा निर्माण सुरु गरिएको थियो। १० वर्ष लगाएर पौवा तथा मन्दिरहरू निर्माण गरिएको छत्रदेव गाउँपालिका— २ का वडाध्यक्ष राजेश पन्थीले बताए। काठका आकृतिमा यौन अंग तथा यौन क्रियाकलापका चित्र इंकित विचित्रको पौवा निर्माण गरेका कालिगडको हात पछि गएर राणाकै पालामा काटिएको किंवदन्ती छ। 

जंगबहादुरको बुवा बालनरसिंह राणा आर्मी अफिसर थिए। उनी बारुदखाना प्युठानको प्रमुख थिए। १८६० को दशकमा जुम्लाको सिन्जा प्रान्तमा गुठीको जग्गाले विवाद बढायो। गुठीको विवाद समाधान गर्न बालनरसिंहलाई १८६९ सालमा जुम्ला खटाइएको थियो। जुम्लामा उनी श्रीमतीलाई लिएर गएका थिए। 

जुम्लामै रहँदा श्रीमती गर्भवती भइन्। त्यो समयमा गर्भवती हँुदा माइती जाने प्रचलन थियो। उनी तत्कालीन प्रधानमन्त्री भीमसेन थापाकी बहिनी थिइन्। जुम्लाबाट माइती गोर्खा जानेक्रममा अर्घाखाँचीको बांगलामा रहेका लामपाटी अर्थात् मथुरामा १८७४ सालमा उनले ७ महिनामा बच्चा जन्माइन्। अर्थात् जंगबहादुर ७ महिनामा जन्मिएका थिए। 

त्यसबेला लामपाटीमा घनाघोर जंगल रहेको थियो। नजिकैका कृषकहरू पाण्डे थरकाले उनको स्याहारसुसार गरेको र पछि बल्कोटको पौवा रहेको स्थानमा लागि सुत्केरी र बच्चालाई राखेका थिए। त्यही स्थानीय खनाल थरका ब्राह्मणहरूले न्वारान गराएर त्यो बालकको नाम वीरनरसिंह राखेकोे स्थानीय नारायण भट्टराईले बताए। सुत्केरी दरिली भएपछि उनी माइती गोर्खा गएकी थिइन्। ‘पछि वीरनरसिंह जंगे स्वभावको भएको हुनाले उनको नाम जंगबहादुर रहेको थियो’, उनको भनाइ छ। 

जंगबहादुरको जन्म कतिले गोर्खामा र कतिले काठमाडौंको थापाथलीमा भएको भन्ने गरिएको छ। उनी लाम्पाटीमा जन्मिएका थिए। त्यसैले जन्मको बारेमा एउटै ठाउँ कसैले भन्न नसकेको इतिहासकारहरूको भनाइ रहेको छ।  

इतिहासकारहरू प्रोफेसर दिनेशराज पन्त र युवराजशमशेर जबराले जंगबहादुर लाम्पाटीमा जन्मिएको र बल्कोटको पौवामा आएर न्वारान भएको र पछि त्यसै स्थानमा कर्नेल सनदसिंह टण्डनको नेतृत्वमा विचित्रको पौवा निर्माण भएको उल्लेख गरेको नारायण भट्टराईको भनाइ छ। पौवाको विषयमा तत्कालीन राजा श्री ५ सुरेन्द्र शाहको पालामा चारवटा लालमोहर लागेका थिए। ती लालमोहर तथा इतिहासकारहरू प्रोफेसर पन्त र जबराको विश्लेषणलाई अर्घाखाँची सम्पर्क सदनको चिनारी २०७२ मा समावेश गरिएको उनले बताए। 

कर्नेल सनदसिंहको पालामा बल्कोटको पौवा, मथुराको पौवा, पाल्पा र गुल्मीको सिमानामा रहेको मनवाक पौवा, ऋणिको बगैंचा, पाल्पा अर्गलीको बगैंचा, जोर्तको पौवा र बाटोमा रहेका गौमुखी धाराहरू निर्माण भएका थिए।  

विचित्रको बल्कोटको पौवा, मन्दिर र गुठीलाई संरक्षण गरी प्रचारप्रसार गर्ने उद्देश्यले २०६६ सालमा डाक्टर गोविन्द टण्डनको नेतृत्वमा पण्डित दिनबन्धु पोखरेलको प्रवचनमा महायज्ञ लगाइएको थियो। लामो इतिहास बोकेको क्षेत्र भए पनि प्रचारप्रसारमा कसैले चासो नदिएको उनको भनाइ छ। 

सन्धिखर्क बल्कोट तम्घास सडकको छेउमा पर्ने राणाकालीन इतिहास बोकेको पौवाको प्रचारप्रसार गर्न सकेमा पर्यटकीयस्थल बनाउन सकिन्छ। पौवाको संरक्षणका लागि गाउँपालिकाले काम गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.