कलम छाडेर कोदालो
अर्घाखाची सन्धीखर्कका गणेश भुसालले वकिल, पत्रकार हुँदै किसान बन्दासम्मको अनुभव सुनाए। हाल भरतपुरमा २२ बिगाहा जमिनमा उनी विभिन्न खेती गरिरहेका छन्। उनको खेतीमा पुग्दा घरको पिँढीभरी बोडीका मुठा थुपारिएका थिए। एकातिर भिन्डी र काँक्रा बजार लैजान तयार पारिदै थिए। बारीमा करेला टिप्न ठिक्क थियो। लौका र मेवा पनि उत्पादन दिने तरखरमा थिए। जताततै मेहनत र पसिनाले भरिएको उनको घरवरपर हरिया तरकारीको दृष्यले गजब रमाइलो देखिन्थ्यो।
जनसेवा पदक पाउने भुसाल
केही समयअघि सरकारले प्रदान गर्ने जनसेवा श्री पाँचौं पदकबाट समेत सम्मानित भएका छन्। अभियान बहुमुखी कृषि फर्म सञ्चालन गरेका भुसाल नेपाली किसानका लागि उदाहरणीय छन्। व्यक्तिगत तवरले पनि नेपालको कृर्षि क्षेत्रमा योगदान पुराएको भन्दै उनलाई यसवर्षको जनसेवा श्री पाँचौं पदक प्रदान गरिएको हो। माटोसँगको मेहनत र सम्बन्धलाई सरकारले कदर गरेकोमा खुसी लागेको उनको भनाइ छ। भन्छन्, पदक तथा सम्मानले कृषिमा अझ बढी मेहनत गर्न हौसला मिल्ने रहेछ। कृषि ज्ञान केन्द्र भरतपुरले उनको कर्मलाई बुझेर पदकका लागि सिफारिस गरेको थियो। निरन्तर कर्म गरिरहने, सरकारी अनुदान र सहयोग आसा नगर्ने उनी नमुना किसान हुन्।
उनी कसरी किसान बने त ? भन्छन्, ‘काम गर्न साह्रै अल्छी मान्छे म। घुम्दै फिर्दै चितवन पुगेर अडिएँ। कलम छाडेर माटो समाएँ, कोदालो बोकेर भाडाको जमिनमा सपना खोतल्न थाले।’ माटोमा नै श्रम, पसिना र उमेर खन्याए। जबर्जस्त किसान बनें।’ चैत वैसाख जेठ तराईका किसानले आम्दानी गर्ने महिना हो। यही महिनामा कमाएको नाफाले अरू महिनाको खर्च धान्ने हो। गतवर्ष पनि चैतदेखि लकडाउन सुरु भयो। बजारमा पठाउन तयार भएका तरकारी बारीमै सुकाउन पर्यो। किसानले लाखौंको घाटा सहन पर्यो। अहिले पनि लकडाउनको मारमा छन् उनीहरू। पहिलेजस्तो तरकारी बिक्दैन, लकडाउनको समयमा, भाउ पनि पाउँदैन। तरकारी बेच्न कठिन हुन्छ।
यसपटक टमाटरबाट अलि धेरै आशावादी थिए उनी। चार बिगाहा जमिनमा फलेका टमाटर रुखमै थिए। पाकेर बारीभरी पहेलपुर। टिपेर थुपारिएका टमाटर बारीमा रासका रास। ५ रुपैयाँ केजीमा पनि व्यापारीले नकिनेपछि किसान बारीमै टमाटर फाल्न बाध्य भए। गणेशका अनुसार ‘एकैपटक बजारमा सबैतिरको टमाटर निस्कियो। भारतबाट आउनेसमेत रोकिए। यसैले पनि किसानहरूको बारीमा फलेको गोलभेडा बिकेन।’ ‘यो पटक बिकेन भनेर अर्कोपटक रोप्दै नरोप्न पनि त भएन’ गणेशको आत्मविश्वासले हौसला दियो। गतवर्षको लकडाउनमा पनि यसरी नै भान्टा, काँक्रा र टमाटर बारीमा कुहाउन बाध्य भए उनीहरू।
सरकारी अनुदान लिँदैनन् गणेश
अगुवा किसान गणेशले आजसम्म सरकारी अनुदान लिएका छैनन्। भन्छन्, ‘अनुदान लिने प्रक्रिया निकै झन्झटिलो छ। एक लाखको अनुदान लिन दुई महिना सरकारी कार्यालय धाउनुपर्छ। २०/२५ हजार त कर्मचारीलाई खाजा खुवाउन पर्छ। भेटैपिच्छे अनुग्रहित हुनुपर्छ। ज्यू ज्यू गर्नुपर्छ। स्वभावले दिँदैन। जागीर खाएर जिविका चलाउने काम उनलाई सानैदेखि मन पर्दैन। बिएल सकेर अर्घाखाँचीमै केही गर्छु भनेर फर्किएका थिए। त्यहीबेला भेट भयो अर्घाखाँचीकै रामप्रसाद पौडेल जो रामपुर कृषि क्याम्पसका लेक्चर थिए। उनैको सल्लाहमा खेती गर्ने सोच बन्यो उनको। भन्छन्, ‘कृषिमा सम्भावना छ भनेर विश्वास दिलाउनुभयो।’ त्यसपछि उनी २०६० सालमा चितवन झरे।
भरतपुर चनौलीमा ४ बिगाहा जमिन भाडामा लिएर खेती सुरु गरे उनले। भन्छन्, ‘अब्दुल कलामको भनाइ छ, तिम्रो अन्तिम गल्ती नै तिम्रो सबैभन्दा असल शिक्षक हो।’ तीन वर्षसम्म दोहोरिएका गल्तीहरू नै गणेशका लागि मार्गदर्शक सिद्धान्त बने। चौथो वर्षदेखि उनी घाटामा जान परेको छैन। हरेक वर्ष कृषिबाट पचासौं लाख आम्दानी गर्ने किसानमा पर्छन् उनी। कहिले बेच्न तयार भएको तरकारीमा असिनाले सर्लक्कै निल्यो। कहिले बजार बन्द भयर बोटमै सोत्तर बन्थ्यो। तर पनि हिम्मत हारेनन् उनले। भन्छन्, ‘हरेक सफलताका पछाडि दर्दनाक कहानी हुन्छ।’ दुःख र अभावका कहानी भनिसाध्य छैन।
प्रायःजसो बाबुले समाएको पेशा छोराछोरीलाई लगाउन चाहन्नन् अभिभावक। तर गणेशका छोराछोरीले भने खेतीमै रमाउने छाँटकाँट देखाएका छन्। एमबीए पढेका छोरा घरमै बुबालाई सघाउँछन्। उनलाई जागिर खाने रहर छैन। माटोमै भविष्य खोज्ने बाटोमा छन् उनी। दुई छोरी नै कृषि पढिरहेका छन्। १० कठ्ठामा लगाएको बोडी अहिले बेच्न तयार छ। एकै दिनमा ८ देखि १० क्वीन्टल उत्पादन हुन्छ। उनीसँगै एउटै घरमै बस्ने ६/७ जना सहयोगी छन्। दैनिकजसो ३० देखि ३२ जनाले काम गर्छन्। एक छाकमा ३०/३५ सम्मलाई भात पाक्छ उनको भान्सामा।
एक बिघा लहरे खेतीबाट उत्पादन लिने बेलासम्म साढे चार लाख लगानी लाग्छ। एकैपटक १० वटा खेती लगाउँछन् बारीमा। उनका अनुसार लगाएकामध्ये दुईवटा सफल हुन्न। चारवटाले भाउ पाउँछ। चारवटाले पाउँदैन। भाउ पाउने चारमध्ये दुईवटाले बढी भाउ पाउँछ। यसैको नाफाले अन्य खर्च बेहोर्ने गर्छ। गतवर्ष लकडाउनमा तरकारी निकै फाले उनले। भन्छन्, ‘नबिकेपछि फाल्ने नै हो। पिर मानेर कहाँ पुग्छ र ? धेरै तरकारी गरेपछि घाटा हुँदैन। तरकारी रोप्नुअघि बिक्दैन कि ? फाल्न पर्छ कि ? भाउ पाउन्न कि भनेर डराउन नै हुन्न भन्छन् उनी। पश्चिम चितवन नेपालकै सघन रूपमा तरकारी खेती हुने ठाउँ हो। यसको श्रेय भनेको व्यावसायिक रूपमा खेती गर्नेहरू नै हो। एकपटक टिप्ने खेती रोप्दैनन् उनी। नेपालको उत्पादनले नेपालको माग धान्न नपुग्ने तरकारीहरू मात्रै रोप्छन् उनी। कृषिमा सरकारले ध्यान दिन खोजे पनि प्रभावकारी कदम चाल्न नसकेको स्वीकार्छन् उनी। भन्छन्, किसानले फलाएका सामान नेपाली बजारमा बेच्ने वातावरण बनाइदिए पुग्छ।
मेवा खेतीमा सफल
नेपालमा मेवा खेती हुँदैन भनेर भनिन्छ र गरे पनि सफल भएको छैन। तर गत वर्षको लकडाउनमा उनले मेवा खेती सफल बनाएर छाडे। नेपालमा गर्मी सिजनमा ३० लाख र जाडोमा २० लाख दैनिक खपत हुन्छ। ९९ प्रतिशत भारतबाट आउँछ। नेपालमा मेवा खेतीका लागि सिकाइएका तरिका गलत रहेछन्। पाँच कठ्ठामा मेवा रोपेर प्रयोग गरे उनले। एउटै बोटमा एक क्विन्टलसम्म फल्यो। बारीको अनुभवले उनलाई कृषिमा पोख्त बनायो।
कृषिका बिचौलिया हटाऊ
सरकारी निकायहरू किसानमैत्री नभएको उनी बताउँछन्। भन्छन्, ‘कृषि गर्ने वातावरण नै छैन। यहाँको माटो उर्वर छ। किसान मेहनती छन्। तर बजारको ग्यारेन्टी छैन। भारत र चीनबाट आउने तरकारीको मात्रा हेरेर नेपाली कृषि उपजले बजार पाउने गर्छ। भारतीय तरकारीका गाडी सिधै कालीमाटी पुग्छन्। नेपालको उत्पादनले नधान्ने मात्रै भारतीय सामान ल्याउनुपर्छ। देशको पहिलो प्राथमिकतामा नेपाली उत्पादन पर्नुपर्छ। उनका अनुसार कुनै पनि देशले विकास गर्न किसानलाई संरक्षण गर्नुपर्छ। बजारमा बाह्य कृषि आयातीत सामान रोक्न आवश्यक छ। कृषि उपज भनेर बिनाकर नेपालमा भित्रन भएन। अनुदान पहुँचवालाको जीवनवृत्तिको साधन बनेको छ। जथाभावी दिइने अनुदान रोक्नुपर्छ। कृषि उत्पादन बढाउन वातावरण बनाउनुपर्छ। उन्नत जातको बिउ, उत्पादित सामानको सहज बजारीकरण र उचित मूल्य, सिँचाइ आधुनिक कृषि साम्रगी, प्राविधिक जनशक्तिका लागि सरकारले लगानी गर्नुपर्छ। भन्छन्, सरकारी लापरबाहीले गर्दा किसानको बारीबाट २० रुपैयाँ किलोमा उठाएको तरकारी उपभोक्ताको भान्सामा पुग्दा १५० पर्छ। प्रक्रियामै कमजोरी छ। बजार अनुगमन र निरीक्षणको अभावमा बिचौलियाले मोटो रकम नाफा लिन्छन्। यस्तो बेथिति नहटाएसम्म सुधार हुँदैन।