प्रविधि प्रेम र पूर्वीय दर्शन
हिप्पीहरूको विद्रोहले कम्प्युटर र सूचना–प्रविधिको क्रान्तिमा पुर्याएको योगदानका साथै विज्ञान र अध्यात्मको सम्बन्ध रोचक छ
सन् १९६० को दसक विश्व इतिहासमै सबैभन्दा अशांत र उतारचढावपूर्ण दसकमध्ये एक थियो। साठी अर्थात् विश्वव्यापी क्रान्ति र समाज परिवर्तनको दसक, शान्ति र युद्धको दसक, भियतनाम युद्ध र युद्धविरोधी शान्तिकामीहरूको दसक, नागरिक अधिकार र समानताको आन्दोलनको दसक, महिला अधिकार र पर्यावरण बचाउ आन्दोलनको सुरुआतको दसक, संगीतमा नयाँ आयाम र लोकप्रियताको संस्कृति अर्थात् ‘पप कल्चर’ को औपचारिक प्रवेशको दसक थियो। नेपालको इतिहासमा पनि सत्र साल भनेर चिनिने तत्कालिन राजा महेन्द्रको राजनीतिक दलहरू माथि प्रतिबन्ध र पञ्चायती व्यवस्थाको सुरुआत सन् १९६० कै घटना थियो।
विज्ञान र प्रविधिको क्षेत्रमा पनि अभुतपूर्व फड्को मारेको दसक थियो, साठीको दसक। शक्ति राष्ट्रहरू अन्तरिक्ष युगमा प्रवेशको दसक र कम्प्युटरको दसक थियो। हो कम्प्युटरको दसक र मानव सभ्यताको यात्रामा यो प्रविधिको परिकल्पना, निर्माण र विकासमा महत्त्वपूर्ण भूमिका खेलेका साठीको दसकका ऐतिहासिक पात्रहरू ‘हिप्पी’हरूको एकछिन चर्चा गरौं। सामान्य अर्थमा हिप्पी भन्नाले मूलधारका सामाजिक मान्यताभन्दा बाहिर बाँच्न रुचाउने व्यक्ति वा जमात भनेर बुझिन्छ। १९६० को दसकमा अमेरिकामा सुरु भएको युवाहरूको सामाजिक विद्रोहको परिणाम थियो ‘हिप्पी’। अंग्रेजीमा ‘हिप्स्टर’ भन्ने शब्दबाट आएको हिप्पीको पहिलो प्रयोग पश्चिमी सञ्चारमाध्यमहरूले १९६० ताका गरिएको मानिन्छ। नयाँ मूल्य र मान्यताहरू सहितको सांस्कृतिक रूपान्तरणमा विश्वास राख्ने हिप्पीहरूलाई विकसित पश्चिमी मुलुकहरूमा आफ्नो परम्परा विरोधी उग्र क्रान्तिकारी र अराजकहरूको झुण्डका रूपमा पनि चिनिन्छ।
प्रविधिको प्रयोगले समाजलाई कसरी आत्म–निर्भर बनाउन सकिन्छ ? कम्प्युटर प्रविधिलाई कसरी सर्वसुलभ र सहजै पहुँचयोग्य बनाउन सकिन्छ भन्ने विषयमा घोत्लिएका हिप्पीमध्ये एक थिए, एप्पल कम्पनीका स्टिभ जब्स।
सभ्य र सुंसस्कत समाजमा जीवन व्यतित गरिरहेका भएता पनि व्यक्तिगत सरसफाइलाई खासै ध्यान नदिने, लामो कपाल पालेका, हिप्पी विशिष्टताको पहिचान झल्कने पहिरनमा आफ्नै मौलिक र ‘प्रगतिशील संगीत सुन्न रुचाउने र गाँजालगायत लागूपदार्थको सेवनलाई सामान्य ठान्ने साठीको ‘हिप्पी पुस्ता’को अमेरिका र यूरोप हुँदै नेपालसम्म पुगेका रोचक किस्साहरूले साठी यताका दसकहरूमा विश्वस्तरकै साहित्य, संगीत, कला, सिनेमाहरूमा गहिरो प्रभाव छ। केही वर्ष अगाडि लोकप्रिय ब्राजिलियन लेखक पाउलो कोहेलोद्वारा लिखित ‘हिप्पी’ पुस्तकले हिप्पी युगको काठमाडौं साइनोलाई विश्वव्यापी रूपमा पुनः उजागर गरेको थियो।
साठीको दसकका युवा पुस्ताले त्यो समयको स्थापित राजनीतिक–सामाजिक व्यवस्था र बढ्दो उपभोक्तावाद र आर्थिक असमानताविरुद्ध विद्रोह गरेर हिप्पी जीवनशैलीमार्फत दिन खोजेको सन्देशलाई उपन्यासमा उतारेका पाउलो कोल्होको ‘हिप्पी’ उनको आत्मकथा पनि भएको धेरै समीक्षकको ठम्याइ छ। त्यो समयको मूलाधारका सञ्चारमाध्यमहरूले उत्ताउलो र अभद्र जत्थाको चित्रण गरेर प्रचार गर्ने गरेको हिप्पीहरूको उपस्थिति अमेरिकामा भियतनाम युद्ध विरोधी प्रदर्शनहरू र समान अधिकारका आन्दोलनहरूमा ऐक्यवद्धतासँगै परिवर्तनका पक्षधर हिप्पीहरूको प्रभाव क्रमशः धेरै ठाउँंहरूमा देखिन थाल्यो।
अमेरिकाको क्यालिफोर्निया राज्यको सुन्दर तटीय सहर सान फ्रान्सिस्कोबाट सुरु हिप्पी अभियानले बिस्तारै पूरै अमेरिका र यूरोप हुँदै विश्वभर प्रभाव पार्न थाल्यो। साठीको दसकमा समाजको मूलप्रवाहमा प्रवेश गरेको पर्यावरण संरक्षण अभियान, रंगभेद विरोधी आन्दोलन, दोस्रो विश्वयुद्धको अन्त्यपछि देखिएको अप्रत्याशित चरम भौतिकवादी र उपभोक्तावादी प्रवृत्तिको नियन्त्रण हुँदै भियत(नाम युद्धको अन्त्य गर्नसम्म हिप्पीहरूको महत्त्वपूर्ण प्रभाव र योगदान रह्यो। पाउलो कोल्होको हिप्पी उपन्यासको पात्रजस्तै पूर्वीय अध्यात्म र दर्शनले पारेको प्रभावका कारण जीवनको अर्थ खोज्न हिँडेका हिप्पीहरू ‘म्याजिक बस’ चढेर काठमाडौं मात्र आएनन् (भलै त्यो काल्पनिक नै किन नहोस्) सान फ्रान्सिस्को वरपर रहेर कम्प्युटरको नौलो प्रविधिभित्र ‘म्याजिक’ खोजिरहे। आजका दिनमा कम्प्युटर र सूचना–प्रविधिको विकासले हामी सबैको जीवनमा ल्याएको परिवर्तनमा महत्त्वपूर्ण योगदान दिएकामध्ये हिप्पीहरू पनि अग्रपंक्तिमा थिए भन्दा अत्युक्ति हुँदैन होला।
व्यक्तिगत स्वतन्त्रता, प्रेम, विश्व शान्ति र भातृत्वको सिद्धान्त पछ्याउनेहरूले एकाएक अमेरिकी समाजमा साठीको दसकमा उदाउँदै गरेको कम्प्युटर प्रविधिको क्षेत्रमा नयाँ नयाँ आविष्कार र खोजहरूमार्फत पारेका प्रभावले व्यक्तिगत कम्प्युटरको अवधारणालाई सर्वस्वीकार्य बनायो। बाँचिरहेको कम्प्युटर युगको जग पनि बसाल्यो। स्थापित मूल्य र मान्यताहरूको अन्धभक्त मात्र भएर मानव सभ्यतालाई अघि बढाउन आवश्यक पर्ने नवीन सोच र विद्यमान समस्याहरूको उचित समाधान हुन नसक्ने हिप्पीहरूले राम्ररी बुझेका थिए। कतिपय विश्लेषकहरू हिप्पीहरूको योगदान दोस्रो विश्व युद्धपछिको सबैभन्दा नरसंहारकारीमध्येको भियतनाम युद्धलाई अन्त्य गराउन खेलेको भूमिकाभन्दा कम्प्युटर क्रान्तिमा ल्याएको परिवर्तनलाई अझ बढी महत्त्व दिन्छन्। यथास्थितिलाई चुनौती दिँदै वैचारिक स्वतन्त्रता र उदारताको प्रतिनिधित्व गरिरहेका हिप्पी समुदायले कला र संगीतमा गरेको नयाँ प्रयोगहरू बिस्तारै कम्प्युटर प्रविधिहरूमा देखिन थाल्यो।
साठी र सत्तरीको दसकहरूमा लागूपदार्थको सेवन, रक एन्ड रोलको चर्को संगीत अनि अति उदार र उन्मत्त जीवनशैलीका लागि धेरैको आलोचना खेपेका हिप्पीहरूको आन्दोलनको पछाडि मूल प्रेरणा पूर्वीय दर्शन र आध्यात्मिक कम्युन जीवनशैली थियो। जीवनको अर्थको खोजमा हिँडेका हिप्पीहरू पश्चिमी भौतिकवादी जीवन शैलीलाई आफ्नो यात्राको सबैभन्दा ठूलो अवरोध ठान्दथे। प्रेम र करुणामा आधारित विश्वका सबै जातजातिका मानिसको समानता र भ्रातृत्वको आदर्शमा विश्वास राख्ने हिप्पीहरूले त्यस्तै गीतहरू गाउँदै, फूलहरू बाँड्दै, आफ्ना सन्देशहरू सुनाउँदै फिरन्ते जीवन बाँच्दथे। आर्थिक र सामाजिक समानतामा आस्था राख्ने हिप्पीहरू विपन्न र असहायहरूलाई मद्दत गर्दै हिँड्थे। हिप्पीहरू अमेरिकी लेखक तथा दार्शनिक हेनरी डेभिड थोरो, जर्मन दार्शनिक तथा रचनाकार फ्रेडरिक नित्से र जर्मन–स्विस उपन्यास्कार कवि तथा साहित्यमा नोबेल पुरस्कार विजेता हर्मन हेसेहरूको विचार र सिर्जनाहरूबाट प्रेरित थिए।
हेसेले लेखेको उपन्यास ‘सिद्धार्थ’ हिप्पी आन्दोलनको आध्यात्मिक मार्गदर्शन थियो भनेर कतिपय इतिहासकारले लेखेका छन्। भियतनाम युद्ध होस् या राज्यको रंगभेदी नीति, सामाजिक मूलप्रवाहविरुद्ध आवाज उठाउन पछि नपर्ने र जोखिम मोल्ने हिप्पी मान्यताहरूले कम्प्युटर प्रविधिमा गरेका नयाँ अन्वेषण र आविष्कारहरूले निजी कम्प्युटरको विकेन्द्रीकृत मान्यतालाई अधिकारिकता प्रदान गर्यो। आजको सूचना–प्रविधिको बलियो जग बसाल्यो। विकसित मुलुकहरूमा हिप्पीहरूको उदय सामाजिक विद्रोह मात्र थिएन, विगतका केही शताब्दीहरूमा प्रभुत्व जमाएको औद्योगिक पुँजीवादले नराम्रोसित गाँजेको चिन्तन प्रणालीमा नयाँ विकल्पहरूको खोजी पनि थियो। सतहमा हेर्दा हिप्पी आन्दोलन अराजक र व्यक्तिवादी जस्तो देखिएता पनि मूलतः यो पुँजीवादी प्रणालीमा निर्भर सामाजिक संरचनालाई आत्मनिर्भर बनाउन नयाँ उपकरणहरू र जीवन प्रणालीहरूको खोज थियो।
प्रविधिको प्रयोगले समाजलाई कसरी आत्म–निर्भर बनाउन सकिन्छ ? कम्प्युटर प्रविधिलाई कसरी सर्वसुलभ र सहजै पहुँचयोग्य बनाउन सकिन्छ भन्ने विषयमा घोत्लिएका हिप्पीमध्ये एक थिए, एप्पल कम्पनीका स्टिभ जब्स। विश्वमा एप्पल कम्पनीको नाम सुन्नेमध्ये धेरैले स्टिभ जब्सको नाम सुनेका छन्। आईपड, आईप्याड र आईफोनको उदय पछाडि महत्त्वपूर्ण भूमिका खेलेका स्टिभ जब्समा पूर्वीय दर्शन र मूलतः जेन बौद्ध परम्पराको गहिरो प्रभाव थियो। ध्यानको अभ्यासमार्फत आध्यात्मिक ज्ञान प्राप्त गर्नमा केन्द्रित जेन बौद्ध परम्परा महायान बौद्ध परम्परा अन्तर्गतको एक सम्प्रदाय हो। कठोर आत्मसंयम, ध्यान–अभ्यास र अन्तरदृष्टिमा जोड दिने जेन परम्पराले मान्छेको भित्री रूपान्तरणले मात्र बाहिरी परिवर्तन सम्भव छ भन्छ।
संस्कृत शब्द ध्यान चिनियाँ शब्द चान हुँदै जापानिज शब्द जेन को उत्पत्ति भएको मानिन्छ। हुन त आधुनिक प्रविधिको क्षेत्रमा निकोला टेस्ला र थोमस अल्वा एडिसनकै हाराहारीमा महान् आविष्कारकका रूपमा तुलना गरिएका स्टिभ जब्सको पूर्वीय दर्शन र आध्यात्मिक झुकाव जेनमा मात्र सीमित थिएन। सन् १९७४ मै आध्यात्मिक ज्ञानको खोजीमा हिप्पी स्टिभ जब्स भारतको उत्तराखण्डमा एकजना हिन्दूगुरु नीम करोली बाबालाई भेट्न आएका थिए। साठीको हिप्पी आन्दोलनभित्र पूर्वीय आध्यात्मिकताले बलियो प्रभाव पारिरँहदा युवा उमेरका स्टिभलाई हिन्दू र बौद्ध दर्शनहरूले प्रेरित गर्न थालिसकेको थियो। आफ्नो भारत भ्रमणका क्रममा कुनै बेला पूर्वीय दर्शनबाट स्टिभ यति प्रभावित थिए कि जोगीको भेष धारण गरेर स्थायी रूपमा भारतमै बसोबास गर्ने सोच पनि बनाएका थिए भनेर उनको जीवनीमा उल्लेख छ।
सन् २०११ मा निधन भएका जब्सले आफ्नो अन्त्येष्टि समारोहमा प्रत्येक सहभागीलाई विदाइको उपहारस्वरूप अर्का एकजना भारतीय गुरु परमहंस योगानन्दको ‘योगीको आत्मकथा’ नामक पुस्तक दिन अह्राएका थिए। १९औं शताब्दीको अन्तताका भौतिकशास्त्री निकोला टेस्लाको स्वामी विवेकानन्दसित भेटघाटमा टेस्लाले पूर्वीय दर्शनप्रति व्यक्त गरेको आफ्नो आकर्षणले आफ्ना आविष्कारहरूमा पारेको प्रभाव होस् या सिलिकन भ्यालीको पूर्वीय आध्यात्मप्रति बढ्दो प्रेम नै किन नहोस्, हिप्पीहरूको विद्रोहले कम्प्युटर र सूचना–प्रविधिको क्रान्तिमा पुर्याएको योगदान र यो समग्र परिप्रेक्षमा विज्ञान र अध्यात्मको सम्बन्ध रोचक भने पक्कै छ।