बागमती प्रदेशको बजेट बहुमतले पारित
हेटौंडा : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट बहुमतले पारित भएको छ । बिपक्षी दलहरुको बहिष्कारका बीच बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको लागि ५७ अर्ब ७२ करोड नौं लाख २७ हजार रुपैयाँ बजेट पारित भएको हो । पारित बजेटमा चालुतर्फ २६ अर्ब एक करोड ६६ लाख २३ हजार रुपैयाँ र पुँजिगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख चार हजार रुपैयाँ रहेको छ ।
आइतबार राति ८ बजे मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा बजेटबारे उठेका प्रश्नहरुको जवाफ दिँदै गर्दा अकस्मात विद्युत् अवरुद्ध भएपछि प्रदेशसभामा अन्धकार छाएको थियो । लगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले बैठक बहिष्कार गरेर बाहिरिएका थिए । प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरुले सोमबार मात्रै बजेट पारितबारेको निर्णयार्थ छलफल अघि बढाउन सभामुख समक्ष माग गरेका थिए ।
बिपक्षी दलहरुले बहिस्कार गरेपछि सत्तारुढ दल नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीका प्रदेशसभा सदस्यहरुको उपस्थितीमा बहुमतले बजेट पारित गरेको हो । नयाँ आर्थिक वर्ष २०७८/७९ बिनियोजन बिधेयक र अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ पारित भएपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबार बिहान ८ बजे बस्नेगरी बैठक स्थगित गरेका छन् ।
प्रदेशसभामा रहेका एकसय नौं जना प्रदेशसभा सदस्यमध्ये नेकपा एमालेको मात्र ५५ जना रहेका छन् । तीमध्ये २१ जना माधव नेपाल पक्षका रहेका छन् । नेपाल पक्षसँगै नेपाल मजदुर किसान पार्टीका दुई जना प्रदेशसभा सदस्यले समर्थन गरेपछि बजेट पारित भएको हो । बजेटको बिपक्षमा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, साझा विवेकशील पार्टी, राप्रपा र एक स्वतन्त्र प्रदेशसभा सदस्य उभिएका थिए ।
सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले बिरोधका बीच बजेट पारित भएको बताए । ‘माओवादी,कांग्रेसका माननीयहरु अन्तिम अवस्थामा बहिस्कार गरेर हिँड्नुभयो, त्यो हाम्रो समस्या हैन’, उनले भने, ‘उहाँहरुको आन्तरिक समस्याले बैठक बहिस्कार गरेर हिँडनुभयो । हामीले प्रक्रियागत ढंगले बहुमतबाट बजेट पारित गराएका छौं ।’
प्रमुख बिपक्षी दल नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बजेटबारे अर्को दिन छलफल गरी निर्णयमा जान प्रस्ताव गरेपनि सुनुवाई नभएकाले बहिस्कार गरिएको बताए ।
‘हाम्रो यो बजेटप्रति समर्थन छैन, तर पनि उहाँहरुले बहुमतको आडमा पारित गर्नुभएको छ’, उनले भने, ‘हामी यसको कार्यान्वयको पाटो कसरी हुन्छ नजिकबाट हेर्नेछौं ।’ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द बानियाँले बजेटमा नेपाली काँग्रसेको समर्थन नरहेको बताए । विपक्षी दलहरु नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले बजेटबारे असहमति राखेपनि सदन अबरुद्ध भने गरेन ।