जीर्ण संरचनाले विद्युत् अनियमित

जीर्ण संरचनाले विद्युत् अनियमित

सुर्खेत : कर्णालीका जिल्लामा विद्युत् अनियमित हुँदा उपभोक्ता हैरान बनेका छन्। सुर्खेत, दैलेख, कालीकोट, सल्यान र रुकुमपश्चिम पछिल्लो समय विद्युत् सेवा अनियमित बनेको छ। छिनछिनमा गइरहने विद्युत्ले उपभोक्ताको दैनिकी नै असहज बनेको हो।

विद्युत् आए पनि भोल्टेज कम हुने, चिमहरू फ्युज हुने, पंखाका क्वाइलहरू जाने, टेलिभिजनका स्क्रिनको डिस्प्ले जाने र आइसी उड्ने जस्ता समस्या बढेका छन्। थोत्रा ट्रान्सर्फमर र पुराना संरचनाका कारण लो–भोल्टेज र ओभर–भोल्टेजको समस्या देखिएको हो। कोहलपुर–सुर्खेत प्रसारण लाइनमा पुराना र जीर्ण संरचनाहरू छन्। कमजोर संरचनाका कारण हावाहुरी नचलेको अवस्थामा पनि छिनछिनमा बत्ती जाने गरेको छ।

यस्तै, अधिकांश स्थानमा थोत्रा ट्रान्सफर्मर छन्। ट्रान्सफर्मरको क्षमताभन्दा उपभोक्ताको माग बढी हुँदा पनि यो समस्या बल्झिएको हो। यसरी हुने अनियमति लोडसेडिङले हिजोआज उपभोक्ता मारमा परेका छन्। ‘सब–स्टेसनको ब्रुफिङमा खराबी आउँदा विद्युत् आपूर्तिमा समस्या आएको हो, हामी मर्मत गरिसकेका छौं,’ नेपाल विद्युत् प्राधिकरणको सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले भने, ‘तत्काल मर्मत गरेर सेवा सुधार गर्छौ, छिट्टै नयाँ मेसिन जडान गरेर समस्या हल गर्छौँ।’

सब–स्टेसनमा देखिएको समस्यालाई हल गर्न दैलेखमा रहेको मेसिन झिकाइएको छ। उक्त मेसिन जडान गरेपछि केही समस्या हल हुने कार्यालयले जनाएको छ। यसबोहक जीर्ण संरचना र ओभरलोडका कारण विद्युत् आपूर्तिमा समस्या आउने गरेको वितरण केन्द्रले जनाएको छ। कोहलपुर–सुर्खेत प्रसारण ३३ केभिए लाइनको अधिकांश क्षेत्रमा जंगल पर्दछ। हावाहुरीका कारण रूखहरू ढल्दा सुर्खेतसहित सल्यानको पश्चिम क्षेत्र, दैलेख र जाजरकोटमा विद्युत् अबरुद्ध हुने गरेको छ। एक सय ३३ केभीए प्रसारण लाइन विस्तार नहुँदासम्म कर्णालीमा विद्युत् आपूर्ति सहज नहुने गिरीको भनाइ छ।

वीरेन्द्रनगरमा हाल एक सय २० भन्दा बढी ट्रान्सफर्मर छन्। तर, अधिकांश ट्रान्सफर्मर थोत्रा छन्। पुराना ट्रान्सफर्मरले उपभोक्ताको मागअनुसारको लोडलाई धान्न सकेका छैनन्। अर्कोतर्फ उपभोक्ताको माग दोब्बर छ। अहिले ग्राहकको संख्या दिनदिनै वृद्धि हुँदा पनि ट्रान्सफर्मर अपग्रेट गरिएका छैनन्। उपभोक्ताको संख्याअनुसार अधिकांश क्षेत्रमा नयाँ र ठूला क्षमताका ट्रान्समर्फर राख्नुपर्ने हुन्छ। तर, हालसम्म राखिएका छैनन्। यही कारण यहाँ विद्युत् नियमित हुन सकेको छैन।

अब विद्युत् आपूर्तिलाई सहज बनाउन सुर्खेतका दुई स्थानमा सब–स्टेसन सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। पश्चिम क्षेत्रको बाबिया चौर र उत्तरको मटेलामा सब–स्टेसन सञ्चालन गर्ने तयारी भइरहेको विद्युत् प्राधिकरणको सुर्खेत वितरण केन्द्रले जनाएको छ। ती ठाउँमा सब–स्टेसन तयार भइसकेका छन्। प्राविधिक काम सकिएपछि सञ्चालनमा ल्याइनेछ। सब–स्टेसन थपिएपछि सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या आउँदा वीरेन्द्रनगरमा पनि पूरै लाइन काट्नुपर्ने बाध्यता हट्नेछ। कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालीकोट, सल्यान र जाजरकोटमा नेपाल विद्युत् प्राधिकरण कोहलपुरबाट विद्युत् आपूर्ति हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.