सिद्धान्तविहीन राजनीति !
के मानिस वादबिना बाँच्न सक्दैन ? स्वतन्त्र रूपमा बाँच्न न कुनै शास्त्र चाहिन्छ, न कुनै सिद्धान्त नै
भनिन्छ, सिद्धान्तबिनाको राजनीति र नैतिकताबिनाको व्यापार काम लाग्दैन। तर मानव जातिको पाँच हजार वर्षको इतिहासमा मानिसलाई जुन चिजले सबैभन्दा बढी पीडित बनाएको छ, त्यो हो वाद वा सिद्धान्त। समाजवाद, साम्यवाद, पुँजीवाद, फाँसीवाद, गान्धीवाद। मानिसलाई वादहरूले सबैभन्दा बढी पीडित र अशान्त बनाएका छन्। मानव इतिहासमा जति पनि युद्ध भएका छन्, जति पनि हिंसा भएका छन्, ती सबै वादहरूकै वरिपरि घटित छन्। वादहरू फेरिँदै गएका छन् तर नयाँवादले पुरानो रोगको ठाउँ लिइरहेका छन्। मानिस पनि त्यसैलाई सत्य ठानी मुर्दा बोक्नेले कुम फेरेजस्तै वाद फेरिरहेको छ, सिद्धान्त फेरिरहेको छ। मानौं सिद्धान्तबाहिर जीवन नै छैन।
सन् १९१७ देखि रुसमा पुरानावादहरू सबै समाप्त भए। पुराना देवीदेवताहरू विदावारी भए। तर नयाँ देवीदेवताहरू जन्मिए। नयाँ धर्म जन्मियोे। अहिले त्यहाँको क्रेम्लिन मक्का मदिनाभन्दा के कम छ र ? त्यो नयाँ तीर्थ हो, जहाँ पूजाका फूल चढाउन संसारका साम्यवादीहरू भेला हुन्छन्। मूर्तिहरू हटे, जिजसका गिर्जाघरहरू हराए। तर लेनिनका मूर्तिहरूक्रेम्लिनको चौबाटोमा राखिएको छ। त्यसको पनि पूजा हुने गर्छ, समाजवादी तरिकाले। हामी जति जति वाद थोपर्छौं, उति नै मानिसको चेतना मर्दछ। वादको जति ठूलो रूपरेखा हुन्छ, त्यति नै मानिसभित्रको स्वतन्त्रता समाप्त हुन्छ। वादले मानिसलाई चेतनाशून्य बनाइदिन्छ। हरेक कुराको व्याख्या हामीभित्र थोपरिएको विचारको साँघुरो घेराभित्र हुन्छ।नयाँ चिन्तनका लागि खाली दिमाग हुनुपर्छ। भरिएको दिमागले नयाँ सोच्नै सक्दैन। हामीले त्यसै दिन हाम्रो स्वतन्त्रता र व्यक्तित्व गुमाइसकेका हुन्छौं, जुन दिन कुनै विचारका रूपरेखाले हामीलाई चारैतिरबाट अठ्याउँछन्। फलामका कारागार त देखिन्छन् तर विचारका कारागार देखिँदैनन्। अनि जुन कारागार त्यति देखिँदैनन् ती त्यति नै खतरनाक हुन्छन्। हामीयी नदेखिने कारागारका कैदी हौं।
सिद्धान्त झुट हो
वाद एउटा पागलपन हो, जसले जमिन र जनताको भागवण्डा गर्छ। मानिसलाई कित्ताकित्तामा बाँड्ने सबैभन्दा सुविधायुक्त जुक्ति वाद नै हो। तर बाँडिन हुन्न र विशुद्ध मानिस भएर बाँच्नुपर्छ भन्ने चेतना हामीमा कहिले आउला ? विशुद्ध मानिस भएर बाँच्न दिइनुपर्छ। मानिसजस्तो छ त्यस्तै बाँच्न दिइनु पर्छ। हरेक वादभित्र एउटा ठूलो नर्क लुकेको हुन्छ। भित्र एक थोक छ, बाहिर अर्कै। हरेक वाद जिउँदो झुट हो। किनकि अर्को वादका लागि हरेक वाद झुटा हुन्छन्। समाजवादीले जहिले पनि पुँजीवादलाई असत्य देख्छ भने पुँजीवादीले समाजवादलाई पनि त्यस्तै।
हरेक सिद्धान्तले एउटा संगठन निर्माण गर्छ। त्यहाँ कुनै विचार संगठन बन्दछ। संगठन हुँदा कोही पदमा पुग्छ। कोही मालिक बन्छ, कोही अधिनायक। कसैले आज्ञा दिन्छ। त्यही संगठनको भरमा मुठ्ठीभर मानिस शक्तिशाली हुन्छन्। भीड जम्मा हुन्छ। धन बटुलिन्छ। भीड सधैं परम्परागत नै हुन्छ। भीड सधैं ज्यूहजुरकै हुन्छ। हामीले क्रान्ति गर्नु छ भन्यौं भीड जम्मा गर्यौ क्रान्तिको नाटक पनि गर्यौं। क्रान्ति सम्पन्न नहँुदासम्म केही हुदै छ जस्तो लाग्यो तर क्रान्ति सम्पन्न भएपछि सबै व्यर्थ। क्रान्तिका नायकहरू हामी सबै फेर्छौं भन्छन्। तर केही फेरिँदैन। एउटा साम्यवादी पनि अरबपति हुनसक्छ। उसले के भन्छ भने जब समाज फेरिन्छ, सबैका सम्पत्ति बाँडिएलान् अनि मेरो पनि बाँडिन्छ। मैले मात्र किन फिक्री गर्नुपर्छ र ?
नाइँ भन्नु विद्रोह हो।व्यक्तित्वको जन्म त नाइँ भन्न सक्दा मात्र हुन्छ। नाइँ भन्नु साहसिक काम हो। नाइँ भन्न त अलिकति बुद्धि, अलिकति सुझबुझ र अलिकति विचार पनि पनि चाहिन्छ। हुन्छ भन्न यी कुरा आवश्यक छैनन्। नाइँबाट कुराको सुरुवात हुन्छ।
रुसमा सन् १९१७को क्रान्ति असफल भयो किनभने एउटा जारलाई मारेर त्यहाँ अर्को जारलाई उभ्याइयो। नाम मात्र फेरियो, त्यहाँ स्टालिन आयो। ऊ दोस्रो जार हो। स्टालिनले जीवन कालमा एक करोड मानिसको हत्या गर्यो। सबै जारहरू मिलेर पनि यति धेरै मानिसको हत्या गरिएको थिएन। हिटलर समाजवादी थियो। उसको पार्टीको नाम थियो, नेस्नलिस्ट सोसलिस्ट पार्टी। हिटलरले जे गर्यो उसले त्यसो गर्ला भनेर कसैले सोचेका पनि थिएनन्। त्यसैले क्रान्ति भएता पनि त्यसभन्दा माथि जार बस्दछ। नाम फेरिन्छ, झन्डा फेरिन्छ, सत्तामा बस्नेहरू पनि फेरिन्छन् तर उनीहरूका आधारभूत चरित्र फेरिँदैनन्। हाम्रो देशमा पनि थुप्रैपटक क्रान्ति भए। थुप्रै जनताले बलिदानी गरे। रगत र पसिना बगाए। घाइते अपांग भए। आखिर जनताले के पाए ? उही पीडा, उही व्यथा, उही निराशा र उही ताडना। त्यो क्रान्तिले एउटाका ठाउँमा अर्कोलाई उभ्याइदियो। २००७सालको क्रान्तिले राणाको ठाउँमा कांग्रेसलाई उभ्यायो। २०४६ सालको आन्दोलनले पञ्चायतको ठाउँमा दललाई उभ्यायो। त्यसपछिको क्रान्तिले राजाको ठाउँमा राष्ट्रपतिलाई। बस...।
सिद्धान्तले बुद्धु जन्माउँछ
रुसको क्रान्तिले अर्को जार जन्माउन खोजेको हो, पुटिन ? जुन जीवनभर सत्तामा रमाइरहन चाहन्छन् ? यसो किन भइरहेको छ ? सिद्धान्तले क्रान्तिको खोजी गर्छ।क्रान्तिले भीड जम्मा गर्छ। भीडले ज्यूहजुरवाला जन्माउँछ। त्यही ज्यूहजुरवालाले एउटालाई सर्वसत्तावादी बनाइरहेको हुन्छ। अर्कोलाई अधिनायकवादी। जबसम्म समाजका प्रत्येक कुरामा ज्यूहजुर चलिरहन्छ, तबसम्म नयाँ राजा या नयाँ जार जन्मिरहन्छन्।व्यक्तित्वको जन्म त नाइँ भन्न सक्दा मात्र हुन्छ। नाइँ भन्नु विद्रोह हो। नाइँ भन्नु साहसिक काम हो। नाइँ भन्न त अलिकति बुद्धि, अलिकति सुझबुझ र अलिकति विचार पनि पनि चाहिन्छ। हुन्छ भन्न यी कुरा आवश्यक छैनन्। नाइँबाट कुराको सुरुवात हुन्छ। कुरा टुंगिँदैन। तर हसबाट कुराको अन्त्य हुन्छ। त्यसैले यी वाद र सिद्धान्तले हामीलाई आज्ञाकारी बनाएसँगै हामी बुद्धु सावित भएका छौं।
सिद्धान्तवादीको मानसिक घर असाध्य साँघुरो हुन्छ। यिनीहरूले सन्तानलाई भौतिक रूपमा विकसित भएको देख्न चाहन्छन् तर मानसिक रूपमा विकसित भएको देख्न चाहँदैनन्। आफ्नो एक तले घरमा सन्तानले अर्को तला थप्यो भने स्यावास भन्छन् तर कृष्णको विषयमा, जिससको विषयमा, माक्र्सको विषयमा सन्तानले एक कुरा थपेको देख्नै चाहँदैनन्। त्यसैले सिद्धान्तवादीहरू आज्ञाकारी र बुद्धु भीड चाहन्छन्, विवेकी र जागृत व्यक्तित्व होइन। किनकि बुद्धिमान् कार्यकर्ताले आफ्नो नेतालाई मूर्ख सावित गरिदिन सक्छ। बुद्धिमान् चेलाले आफ्नो गुरुलाई बुद्धु सावित गरिदिन सक्छ। बुद्धिमान्ले उनीहरूको अहंकारमा चोट पुर्याउन सक्छ। त्यसैले हजारौं वर्षदेखि वादको नाममा सिद्धान्तको नाममा अघिल्लो पुस्ताले आज्ञाकारी पुस्ता नै निर्माण गर्न खोजिरहेको छ। त्यसलाई उसले अनुशासन भनोस् या आज्ञाकारितता, प्रयोजन एउटै हो। त्यो के हो भने, विद्रोह हुनु हँुदैन। उनीहरू आफ्नोविरुद्ध विद्रोह चाहँदैनन्, बरु अन्धभक्तता चाहन्छन्। सर्वस्वीकार्य जमात चाहन्छन्। त्यसैले सबै सत्ताधारीहरूलाई चाहे पुँजीवादी होस्, चाहे समाजवादी होस्,ज्यूहजुरको समूह चाहिन्छ। ज्यूहजुरको समूह आफ्नो इच्छामा कहिल्यै बाँच्दैन। ऊ त अरूकै इच्छा र अरूकै विचारमा बाँच्दछ। अरूकै हितका लागि बाँच्दछ।
सिद्धान्त होइन विद्रोह
के मानिस वादबिना बाँच्न सक्दैन ?यो निष्कर्ष निकाल्न सकिन्छ कि मानिस वादबिना पनि बाँच्न सक्छ। स्वतन्त्र रूपमा बाँच्नन कुनै शास्त्र चाहिन्छ, न कुनै सिद्धान्त। न कुनै विचार वा सम्प्रदाय नै। वास्तवमा विचारको पकड जति बलियो हुन्छ, मानिस त्यति नै कमजोर हुन्छ। त्यसैले आजको सय वर्षपछि त मानिस चाहेर पनि वादमा बाँच्नेवाला छैन। किनकि वादकै कारणले आफू कमजोर भएको थाहा पायो भने कुन मूर्खले वादलाई समाइरहला र ? आशा गरौं, वादको जञ्जीरबाट मानिस पक्कै निस्केको हुनेछ।
अब यो समाजमाक्रान्ति हँुदैन, विद्रोह गर्नुपर्छ। विद्रोहको अर्थ जसलाई जुन कुरा गलत लाग्छ, ऊ तुरुन्त त्यसबाट अलग हुनु हो। विद्रोह व्यक्तिगत हुन्छ। यो अवधारणा त्यत्तिकै बलियो पनि छ। किनभने कुनै पनि कुरा गलत छ भने म किन त्यसबाट बाहिर नआउने ? समाजवादीको भाषामा सम्पत्ति थुपार्नु गलत हो भने म किन थुपारेर बस्ने ? म यसबाट बाहिर निस्किन्छु समाजले जेसुकै गरोस्। जतिखेर समाज फेरिएला फेरिएला। विद्रोहको अर्थ आफैं फेरिनु हो।हरेक विकृतिबाट बाहिर निस्किनु हो। यो नितान्त व्यक्तिगत कुरा हो। विद्रोहका लागि संगठन पनि आवश्यक पर्दैन, सिद्धान्त पनि। यदि मानिसमा विद्रोही चेतना आइदिने हो भने यसले सयौंक्रान्तिले पूरा गर्न नसकेका अथाह कार्यभार एकैचोटी सम्पन्न गर्न सक्छ।
आज हाम्रो पहिलो विद्रोह केमा हुनुपर्छ भने हामी मानिसझैं बाँच्न चाहन्छौं। हामी न हिन्दू हुनेछौं न मुस्लिम। त्यस्तै न समाजवादी हुनेछौं न पुँजीवादी। हामी सोझै विशुद्ध मानिसझंै बाँच्न कोसिस गर्नुपर्छ। तर समाजलाई मानिस मानिस मात्र हुन्छ कि भन्नेमा आपत्ति छ। किनकि यो समाज एउटा बालकलाई जन्मजात पुँजीवादी, समाजवादी, हिन्दू, बौद्धिष्ट, मुस्लिम या यस्तै केही बनाउन चाहन्छ। एउटा बालकलाई जन्मजात हिन्दू, मुस्लिम, समाजवादी या पूँजीवादी बनाउनु जस्तो ठूलो हिंसा अरू के होला ?आजको आवश्यकत्ता सिद्धान्तवादिता होइन, सहज जीवन हो। तर सहज हुन साह्रै गाह्रो छ। किनकि हामी कति असहज भएका छौं र अभिनयको कति लामो यात्रा गरेका छौं भने हाम्रो सत्यता प्रकट हुने ठाउँमा फर्किन गाह्रो छ।
पुँजीजादी र समाजवादीले हामीलाई हिँडाएको बाटो त्यही नै हो, जहाँ वास्तविक पुँजीवाद र समाजवादसम्म यिनीहरू स्वयम् कहिल्यै फर्कने छैनन्। तर हामी जन्मजात रूपमा यो या त्यो वादमा बाँधेर बन्धक बनाइएका छौं। त्यसैलाई सच्चा जीवन ठानेर हामी बाँचिरहेका छौं। हामीले नबुझेको एउटा तथ्य के हो भने गलत सिद्धान्तलाई सयौं वर्षसम्म दोहोर्याइरहने हो भने सिद्धान्त नै गलत छ भन्ने कुरा हामी बिर्सिन्छौँ। पछि यो लाग्छ कि मानिस नै गलत छ। किनकि उसले ती सिद्धान्तलाई पुरा गर्न सकेको छैन।सिद्धान्तवादी र सिद्धान्तप्रेमी समाजमा एउटा प्रश्न उठाउनु पर्छ। त्यस प्रश्नको उत्तरमा भविष्यका लागि ठूलो संकेत पाउन सकियोस्। मानव समाजलाई स्वतन्त्र बनाउन सकियोस्। प्रत्येक मस्तिष्क खाली र खुला बनाउन सकियोस्। जुन मस्तिष्कले खण्डीकृत र ध्रुवीकृत भएको समाजलाई एकतावद्ध गरी समानता, भातृत्व र समाजिक न्यायको वकालत गर्न सकोस्।