घडेरी मिचेर प्लटिङ

घडेरी मिचेर प्लटिङ

पोखरा : घडेरी किन्दाको बैंकको ऋण निखनिसकेपछि मान्छेको सपना के हुन्छ ? घर बनाउने । स्याङ्जा अर्जुनचौपारीकी गोमा अर्यालको सपना पनि त्योभन्दा बेसी थिएन । उनले सकिनसकी बैंकको किस्ता बुझाएकी थिइन् । 

सामान्य सरकारी जागिरको बचत, श्रीमान्ले विदेशबाट पठाएको पैसा जम्मा गर्दै बैंकलाई किस्ता बुझाउँथिन् । त्यसो गरी–गरी १२ वर्षमा ऋण निखनेर सकियो । १२ वर्षमा खोलो त फर्किन्छ भन्छन् । यही सोचेर ऋणको भारीबाट मुक्त भएकी उनी सुखका दिन फर्किएको अनुभूति गर्दै थिइन् । तर, त्यो सुखद अनुभूति धेरै टिक्न पाएन । जब उनी जग्गा बैंकबाट फुकुवा गर्न भनी मालपोत पुगिन्, झल्याँसै भइन् । जग्गा त उनको नामबाट सार्वजनिक भइसकेको रहेछ । 

गोमाले पोखरा–१४ हवेली मार्गमा १३ हात मोहोडा र ४२ हात पछाड भएको घडेरी २०६५ सालमा किनेकी थिइन् । भन्छिन्, ‘लालपुर्जा छ, नक्सा पनि छ । केही नहोला भनेर ढुक्क भएर बसेकी थिएँ ।’ घडेरीमा कम्पाउन्ड वाल पनि लगाएर बारबन्देज गरेकै थिइन् । 

श्रीमान् विदेश थिए । घरमा साना केटाकेटी छन् । उनी पोखरा आइरहन भ्याउँथिनन् । तर, छिमेकको जग्गा किनेर एकजनाले उनको घडेरीको पर्खाल मात्रै भत्काएन छन्, बाटै बनाइदिएछन् । पोखरा–१४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीका अनुसार गोमाको घडेरीलाई बाटो बनाएर अर्जुन बस्याल नामका जग्गा दलालले प्लटिङ गरेका हुन् । बस्याल १६ वटा घडेरी बेचीवरि सम्पर्कविहीन छन् । ती १६ घडेरीमध्ये एउटामा घर बनिसकेको छ । बस्यालले फसाएका ती १६ घडेरीवालालाई पनि के थाहा कि उनले बाटो भनेको जमिन गोमाको निजी घडेरी हो !
निजी घडेरी कसरी सार्वजनिक भयो त ? गोमाले मालपोत र नापी कार्यालयमा गएर पनि बुझिन् । त्यहाँका कर्मचारीले सजिलै भनिदिए, ‘हाल साविक गर्दा ।’ हुन पनि प्लटिङवालाले जमिन हालसाविकका बेला गोमाको घडेरीको कम्पाउन्ड वाल भत्काएर बाटो बनाई प्रयोग गरिदिएछन् । तर, गोमालाई त्यत्ति जवाफले चित्तबुझ्ने कुरै भएन । नापीका कर्मचारीले फोन गरेको तर सम्पर्क नभएको भन्दै टार्न खोजे । गोमालाई भने नापीबाट फोन आएको थाहै छैन । भन्छिन्, ‘फोन गरेका थियौं भन्नुहुन्छ, मलाई कहिल्यै फोन आएन । फोन गरेर लागेन भने पनि अर्काका जग्गालाई बाटो बनाइदिन त भएन नि ।’ 

गोमाले हालै वडाध्यक्ष र स्थानीयको भेला पनि डाकिन् । सबैले भने, ‘घडेरी त गोमाकै हो ।’ उनीहरूले कित्ता नम्बर ५५८८ को घडेरी गोमा अर्यालको भएको भन्दै उनकै नाममा गरिदिन नापी र मालपोतलाई चिठी पनि लेखेका छन् । वडाध्यक्ष कार्कीले पनि त्यही सिफारिस गरेका छन् । उनले गत साल फागुनमै हाल साविकका लागि उक्त कित्ता नम्बरको जमिन अर्यालको भएको भन्दै सिफारिस गरेका थिए । गोमाले बैंक किस्ता मात्रै नभई घडेरीको तिरो बर्सेनि तिर्दै आएकी पनि थिइन् । 

वडाध्यक्ष कार्की प्लटिङ गर्ने व्यवसायी अर्जुन बस्याल बदमास भएको बताउँछन् । स्वयं कार्की आफू पनि उनीबाट ठगिएको सुनाउँछन् । भएछ के भने, कार्कीको जग्गा प्लटिङ गर्दा पनि बस्यालले अर्कैको जमिनलाई बाटो बनाइदिएछन् । ‘मेरो जग्गा अगाडिको घडेरी किनेर प्लटिङ गर्छु भनेका थिए, त्यो जग्गा किने होलान् भनेको त १ लाखमा बैनापट्टा मात्रै गरेको रहेछ,’ उनले भने, ‘त्यत्तिका भरमा बाटो बनाएर पछाडिको जग्गा प्लटिङ गर्न लागेछ ।’ आफूलाई पनि उसले २० लाख रुपैयाँ ठगेको कार्कीले सुनाए । भन्छन्, ‘कहिले म्याग्दी छु भन्छ, कहिले दमौली छु भन्छ, भेट्नै सकिन्न ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.