मुंग्रो प्रहार गरेर पतिको हत्या गरेको आरोप
दैलेख : दैलेखमा एक महिलामाथि पतिको हत्या गरेको आरोप लागेको छ।
नारायण नगरपालिका-११ टाटामाखु डाँडाटोलकी ३३ वर्षीया सुशीला मल्लले पतिको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। सुशीलाले पति ३५ वर्षीय खगेन्द्र मल्लको हत्या गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले बताए।
सुशीलाले शुक्रवार बिहान साढे ९ बजे पति खगेन्द्रलाई मुङग्रोले टाउकोमा प्रहार गरेको डीएसपी श्रेष्ठले बताए। घरमा भएको किला ठोक्ने काठको मुङग्रोले पति खगेन्द्रको टाउकोमा हानी हत्या गरेको जाहेरी दरखास्तका आधारमा प्रहरीले सुशीलालाई नियन्त्रणमा लिएको छ।
खगेन्द्रले मदिरा सेवन गरी निरन्तर पीडा दिने गरेको, घरेलु हिंसा गरेको र श्रीमानले दिएको पीडा सहन नसकी पतिको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
मृतक खगेन्द्रको शुक्रवार नै दैलेख अस्पतालमा पोस्टमार्टम गरिएको छ। सुशीला र खगेन्द्रका क्रमशः १२, ८ र ४ वर्षीया छोरी रहेको प्रहरीले जनाएको छ।