भानु सम्झेर सिर्जना

भानु सम्झेर सिर्जना

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा रेडियो अन्नपूर्ण नेपालले आयोजना गरेको भानु कविता महोत्सवमा उत्कृष्ट भएका तीन कविता।


यो समयको अन्त्य हुनेछ 

  • प्रज्वल अधिकारी

(प्रथम कविता)

निष्ठुरी समयको चक्रवातले चुडाएको छ– कोपिलाहरू 
ढलाएको छ– बोटहरू 
तर पनि,
उजाड भइसकेको छैन बगैंचा
हराइसकेको छैन माटोमा उर्वरता 
बीजभित्र उम्रने सामथ्र्य जीवितै छ
यो सबै हेर्दा लाग्छ
यो समय अवश्य सकिने छ !

यतिबेला, कैदी बनेको छ– मानव जीवन
बच्चासँग रम्न पाएका छैनन्– स्कुल र पार्कहरू 
तर जब, कष्टकर जीवन बाँचिरहेकाहरू
समयको कठघरामा उभिएर 
आफ्नो निर्दोषीको बयान दिनेछन् 
यो समयको अन्त्य हुनेछ !

यो बेला, मृत्यु उत्सव मनाइरहेछ– मसानघाट
वियोगको गीत गाइरहेछ– धरा
तर जब,
समयको कठोर परीक्षामा उतीर्ण हुनेछ– विज्ञान
यो समयको अन्त्य हुनेछ 
र नवीन योजनाका साथ अघि बढ्नेछ– 
मानव सभ्यता

महामारीको अविरल झरीले दुःखको 
पहाड भत्काएर
सुुखको नदी थुनेपछि आएको बाढी न हो– 
यो प्रकोप
र यो कुरा पक्का हो– बाढीको आयु छोटो हुन्छ 
जब निख्रिँदै जान्छ दुःखको बहाव 
सङ्लिनेछ सुखको नदी
यत्ति हो– मान्छेबाट आशा हराउनु भएन 

ओभाउँदै गएपछि भिजेका परेलाहरू
कलेटी परेका ओठहरूमा फुल्नेछ– मुस्कान
बस्तीहरूमा घन्किनेछ जीवन गीत
मान्छेहरूले साट्नेछन् अँगालोमा भावनात्मक सह–अस्तित्व

यो समय झुसिल्कीराको समय हो 
र एकदिन अवश्य उड्नेछन्– उमंगका पुतलीहरू
यत्ति हो– धैर्यको बाँध टुट्नु भएन

महामारीले जति नाचे पनि नांगो नाच
जति लगाए पनि भोकमरीले कोर्रा 
जसरी सकिए–
मान्छेको अस्तित्व नै सकाउँछु भनेर आएका 
प्लेग, स्पेनिस फ्लू र ब्ल्याक डेथहरू 
त्यसरी नै, यो समय पनि अवश्य सकिनेछ।
-लमजुङ   

---

कोभीड–उन्नाइस

  • पुरुषोत्तम सिग्देल

(द्धितीय कविता)

धर्ती निर्मल कान्त शान्त दहमा आँधी घुस्यो छाल भो 
मौरी घार बिथोलिएसरि ‘महामारी’ अरिंगाल भो
व्याधिक्षुद्र नदेखिने नजरले यो मृत्युको झ्याल भो 
‘कोरेन्टाइन’ कुर्नु, गुम्सिरहने सन्त्रास बेहाल भो।।१।।

ए ! मान्छे ! किन डर्नु ? रोगसित यो– अक्कील छन् ज्ञान छन्
पुग्ने साहस चन्द्र–मंगल छुने सत्बुद्धि–संयन्त्र’– छन्
जान्ने डाक्टर, वैद्य, नर्स जुट लौ— भो प्राणको भक्षक
भागोस्, भाग्छ भरोसिला भर पर्‍यौं ठानेर संरक्षक।।२।।

खट्ने यी दिनरात गाँस न मिल्यो, निद्रा न आराम भो 
घण्टौं तत्पर उभिँदा झपझपी सोफा मिले लत्रियो 
द्यौता यी प्रति–मूर्ति, मन्दिर घुमी पुज्छौं शिला–पत्थर
पुज्नू जीवित, पूज्य कर्म यिनको सत्कार होस् आदर।।३।।

बाएको मुख कालले मरणको निम्ता छ एकातिर
छाडेका शिशु, बामुमा र रमणी सन्ताप अर्कातिर 
खेला हो– शव साथमा सब कुरा बिर्सी चिता धाउनु 
कात्रोझैं पीपीई धरी मुटु छुने चीत्कार सुन्दै रुनु।।४।।

गाऔं गीत रचाउँ रम्य कविता सत्पात्र हुन् नायक 
कीर्ति ज्योति दिगन्त फैलिन पुगोस् सत्प्रेरणा दायक 
सेवा कर्म छ धर्म पूजित हुने– सन्देशका मूल हुन् 
आफैं घोटिन, चढ्न यज्ञ–बलिमा श्रीखण्ड हुन्, फूल हुन्।।५।।

यौटा ज्ञान विशेषता छ– यसले पूर्वी भलो संस्कृति
खाँदा बस्र सफा धुने कर, हिँडे– ‘मास्क’ लाउने सन्मति
जोडी हात विनम्रले नति परै, आचार वैज्ञानिक 
शिक्षा सार्थक–पक्ष उन्नत दियो ‘कोभीड–उन्नाइस’।।६।।
-झापा

अन्धकारको गर्भगृह

  • भावकेशर बराल

(तृतीय कविता)

विश्वास त थियो घाम लागेको दिन
धर्तीको उज्यालोमा सृजनाको मूल खुल्छ
विश्वास त थियो जून लागेको रात 
आकाशको उज्यालोमा सृष्टिको फूल फुल्छ 
आज झलमल्ल घाम लागेकै दिन
अन्धकार छाएको छ धर्तीमा
आज चहचह जून लागेकै रात
अन्धकार आएको छ आकाशमा
तर, यही अन्धकारको गर्भगृहबाट 
भोलि जन्मने छ एउटा सुकुमार सपना।

आज घामसित खेल्ने घामकिरीहरू
र, उनीहरूकै हुलमा मिसिन खोज्ने नानीहरू
चुपचाप टोलाइरहेका छन् एकान्तवासमा
आज जुनसित बल्ने जुनकिरीहरू
र, उनीहरूकै ज्योतिमा चम्कने अनेकौं मोतीहरू 
चुपचाप लोलाएका होलान् एकान्तवासमा
किनकि मध्याह्नमा जो अन्धकार व्याप्त छ धर्तीमा
उसैगरी निष्पट्टताले छोपेको छ पूर्णिमाको जून 
तर, अन्धकारको गर्भगृहबाट झुल्किने छ सुन्दर बिहानी।

फुल्न त बगैंचामा फुलेका छन् ढकमक्क फूल
र, छरेका छन् वरिपरि सञ्जीवनी सुवास
तैपनि नजिक पर्न डराइरहेछन् पुतलीहरू
हुन त मनभरि साँचेर प्रीतिका आँचल
निर्धक्क सुसेल्दै छन् यौवनाहरू 
तैपनि पर भाग्दै छन् प्रेमी युवाहरू 
जसरी चुम्बकका विपरीत ध्रुवहरू विकर्षण हुन्छन् 
ठीक उसैगरी आफैंसित छुट्टिँदै छ समय 
तर, भोलि यही अन्धकारको गर्भगृहबाट
रच्न थाल्नेछन् झनै सुन्दर जीवनका धुन।

अहिले रोकिएका छन् कार्यशालाहरू 
चकमन्न छन् यज्ञशाला र धर्मशालाहरू
रित्ता भएका छन् पाठशाला र छात्रशालाहरू
तर, भोलि बिहानै जब बज्ने छन् मन्दिरमा घण्ट
तब फेरि जाग्नेछन् मुर्झाएका सपना 
आज अन्धकारको गर्भगृहभित्र बसेर
म त्यही सपना कुरिरहेको छु।
-सिन्धुली 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.