बुढेसकालमा बेसहारा
दैलेख : भगिराम कामी ६१ वर्षका भए। उनकी पत्नी कलौरी ५८ वर्षकी भइन्। भैरवी गाउँपालिका–४ मा बस्दै आएका यी दम्पती बुढेसकालमा बेसहारा बनेका छन्। चुहिने घरमा बास छ। मुस्किलले तीन महिना खान पुग्ने बारी छ। त्यही बारीमा खेतीपाती गरेर जीवन धानिरहेका छन्।
१९ वर्षअघि भगिरामका जेठा छोरा भुवनले विवाह गरे। विवाह भएको ७ महिनापछि भारत हानिएका उनी हालसम्म फर्किएका छैनन्। भुवन घर नफर्किएपछि उनकी पत्नीले अन्यत्रै विवाह गरिन्। भुवनका छोरा पदम अहिले १८ वर्षका भए। उनी कसैको सम्पर्कमा छैनन्। उता भुवन अर्को विवाह गरी कालापहाडतिरै दिन बिताइरहेका छन्।
माइलो छोरा चन्द्र दुई वर्षअघि विवाह गरी नेपालगन्जमै बसेका छन्।
२० वर्षीय कान्छो छोरा डम्बर घरमा कहिल्यै बसेनन्। भगिरामका अनुसार तीनै जना छोराहरूले नागरिकतासमेत बनाएका छैनन्। कान्छी सन्तान छोरी छत्तकुमारीको दुई वर्षअघि चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ तिलुकानामा विवाह भइसकेको छ। ‘छोरीको सपरिवार भारतको हिमाञ्चलतिरै बस्छन्,’ भगिराम भन्छन्, ‘विवाहपछि छोरीसँग भेट हुन पाएको छैन।’ भगिरामका जीवित चार छोराछोरी बाहेक दुई छोरा ५ र ७ वर्षको उमेरमै बितेका थिए। ‘दुई छोराहरूको सानैमा मृत्यु भयो, बाँचेकाहरू आफूसित छैनन्,’ भगिरामकी पत्नी कलौरी भन्छिन्। ‘उमेर ढल्किएपछि सहारा दिनुपर्ने छोराहरू सबै लाखापाखा लागे,’ भगिराम भन्छन् ‘बुढेसकालको सहारा कोही भएनन्।’
भगिराम दम्पतीले चारवटा गाई पालेका छन्। ‘छोराहरू साथमा नभए पनि छाक टार्न खेतीपाती गर्नै प¥यो,’ भगिराम भन्छन्, ‘दुई सुर्का जग्गामा खेती गर्छांै।’ आफ्ना बुबाका चार भाइमध्ये माइलोको एक्लो
छोरा भगिरामले बाजेबाट पाउनुपर्ने खेतको भाग नपाएको सुनाए। छोराछोरीको हेलाँ हुँदा दाजुभाइले पनि हेपेँको सुनाउँदै उनी भन्छन्, ‘जिउलाको फाँट खेत नापी हुँदै थियो, त्यति नै बेला मेरा नाबालक दुई छोरा र आमाको मृत्यु भएका कारण काजकिरियामै थिएँ, दाइले एकलौटी रूपमा खेत आफ्नो नाममा बनाए, मलाइ एक टुक्रा खेत दिएनन्।’
यो दम्पती सरकारी सुविधाबाटसमेत बञ्चित छ। गत मंसिरदेखि पाउनुपर्ने ज्येष्ठ नागरिक भत्ता पनि भगिरामले पाएका छैनन्। ‘२०१७ मंसिर १० गते’ जन्म मिति र नाम ‘भगी कामी’ लेखिएको नेपाली नागरिकताको प्रमाणपत्र र फोटोसमेत अघिल्लो वर्ष नै पेश गरेका हुँ,’ भगिराम भन्छन्, ‘वडाका कर्मचारीले अर्को वर्ष पाउँछौं भनेर भनेका छन्।’ सरकारले दलित नागरिकलाई ६० वर्ष पुगेपछि ज्येष्ठ नागरिक भत्ता दिँदै आएको छ। हालै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत भैरवी गाउँपालिका–४ ले भगिरामकी पत्नी कलौरीको नाम राखेको थियो।
उनी घरमा गाईलाई घाँसपात गर्नबाट फुर्सद नपाएकाले रोजगार कार्यक्रममा जान पाइनन्। ‘रोगजार कार्यक्रममा गएकाहरूले झण्डै ७० हजारसम्म पाए, म भने छुँटे,’ कलौरीले भनिन्। ‘छोराहरूबाट बुढेसकालमा सहारा पाउन सकेनौं, जेठा बुबाका छोराले अंश दिएनन्, गाईगोठालाको कामले प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि छुट्यो। आठ महिनाअघिबाट पाउनुपर्ने ज्येष्ठ नागरिक भत्ता पाएको छैन,’ भगिराम भन्छन्, ‘हामीलाई त भाग्यले नै ठगेको रहेछ।’