पुलमा भूल

पुलमा भूल

नदीमा पानीको वहाव बढ्नासाथ पुल भत्कने क्रम पनि सुरु भएको छ। कतै बन्दा–बन्दैका पुल भत्किए भने कतै निर्माण सम्पन्न भएका पनि। राजमार्ग क्षेत्रमा बनेका पुल भत्किँदा त यातायात नै अवरुद्ध भए। कति स्थान त केही दिन सम्पर्क–बिच्छेद अवस्थामा रहे। सडक विभागको तथ्यांक अनुसार यो वर्ष मात्रै दुई दर्जन पुल भत्किएका छन्। राजमार्ग क्षेत्रका ११ र स्थानीय सडकका १२ वटा पुल भत्किए। त्यसमध्ये सातवटा बन्दै गरेका पुल नै भत्किएका हुन्। वर्षात् नसकिएकाले यो तथ्यांक बढ्ने क्रममा छ। यो वर्ष मात्रै पुल भत्किँदा ७५ करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको छ। अझै क्षतिको संख्या थपिँदै छ।

वर्षेनी पुल भत्किँदा राज्यकोषमा करोडौंको घाटा लाग्दैछ। एकै स्थानमा बारम्बार पुल निर्माणका लागि बजेट हाल्नुपर्दा विकासको गति रोकिएको छ। त्यसमा पनि पुल निर्माणको काम एकै वर्षमा सकिएका उदाहरण नेपालमा कमै भेटिन्छ। नदी माथि एउटा पुल निर्माण गर्न पनि वर्षौं लगाउने र त्यो पनि बाढीसँगै बग्ने हुँदा नागरिकको यात्रा जोखिमपूर्ण त छ नै, उनीहरूले विकासको महसुस पनि गर्न पाउँदैनन्। बनेका पुल पनि टिकाउ नहुँदा वर्षात्मा पुल माथिबाट यात्रा गर्नसमेत जोखिमपूर्ण छ। कुन समय, कुन पुल बग्ला ? टुंगो छैन। यसले धन मात्र होइन, जनकै क्षति हुने पक्का छ।

निर्माणमा अनियमितता र ढिलाइ नै पुल भत्किनुको मुख्य कारण हो। पर्याप्त अध्ययन नगरी निर्माण सुरु गर्नु, जुनसुकै निर्माण कम्पनीलाई ठेक्का दिनु, निर्माण कम्पनीले निर्माणमा कमसल सामानको प्रयोग गर्नु र समयमा काम नगर्दा पुल टिकेका छैनन्। कमिसनका कारण राम्रो काम नगर्ने कम्पनीले पनि ठेक्का पाउँदा पुलको बेहाल छ। निर्माण सुरु भएर दस वर्षमा पनि सम्पन्न नभएका पुल धेरै छन्। कति पुल त निर्माण कम्पनीले विभिन्न बहानामा बीचमै छाडेको पनि भेटिन्छन्। पुल निर्माणभित्रको कथा खोज्दै जाँदा अनियमितता र भ्रष्टाचारको ठूलो जरो यहाँ भेटिन्छ। कमसल निर्माण गर्ने र भत्किएपछि पुनः बनाउँदा कमिसन बाँडफाँट भइरहने लोभले पनि पुल निर्माणका काम गुणस्तरीय नभएका पर्याप्त उदाहरण नेपालमै छन्।

निर्माण नसकिने र सकिएका बग्ने समस्या त छँदैछ। आयु सकिएका पुलले पनि जोखिम बढाएको छ। अहिले मुलुकभर सात सय हाराहारी पुल जोखिमपूर्ण अवस्थामा छन्। पूर्व–पश्चिम राजमार्गको कर्णालीपूर्व, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ, महाकाली राजमार्गमा ५० वर्षभन्दा पुराना पुल छन्। जसको प्राविधिक रूपमा आयु सकिएको छ। सामान्यतः कंक्रिटको आयु ५० वर्ष हुने गरेको प्राविधिक बताउँछन्। अधिकतम सय वर्ष आयु हुने भए पनि नेपालमा हुने निर्माण पद्धतिमा ५० वर्षभन्दा बढी थाम्न गाह्रो हुने जनाइएको छ। यी पुलको तत्काल मर्मत वा पुनर्निर्माण गर्न नसके ठूलो क्षति बेहोर्नुपर्ने अवस्था छ। यी सबै घटना क्रमले पुलमा धेरै भुल भेटिन्छ।

आयु सकिएका भन्दा निर्माणाधीन र प्रयोगमा नआएका पुल भत्किनु चिन्ताको विषय हो। पछिल्लो समय भत्किएका धेरै प्रिस्ट्रेस्ड कंक्रिट डेक भएका पुलहरूको ढलान, केवल तान्ने समय र बाढी आउने समयको तालमेल नमिल्नु एउटा मुख्य कारण रहेको पुलको विषयमा अध्ययन गरिरहेका विज्ञ बताउँछन्। निर्माणमा ढलान गर्ने वा स्टिल स्ट्रक्चर ठड्याउने कार्यको टेका र फर्माको कामको डिजाइन नगरिने वा गरिए पनि उपयुक्त डिजाइन नगरिने वा खोलाको बहाव छेकेर माटो भरेर टेका ठड्याउने आदि कारणले निर्माणका क्रममा भत्किएका छन्। यो नियमविपरीत कार्य हो। सुपरीवेक्षण अभावमा मिस्त्रीकै भरमा काम चलाउने परिपाटीले पुलमा ठूला दुर्घटना भइरहेको पाइन्छ।

निर्माणव्यवसायीले नाफा कमाउन प्राविधिक कम राख्ने र मिस्त्रीका भरमा पूरै काम चलाएको पाइन्छ। मिस्त्रीमा प्राविधिक ज्ञान हुँदैन। मिस्त्रीको भरमा उठाएका पुल कुनै पनि दिगो नभेटिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै दाबी छ। डिजाइनअनुसार काम नहुँदा पनि धेरै पुल भत्किएका छन्। पुल राख्ने ठाउँ वरिपरिको भू–बनोटको सर्भेक्षण कार्य त्रुटिपूर्ण हुनु र त्यसका आधारमा डिजाइन भएर निर्माण हुनुले पुल दिगो छैनन्। पुलको डिजाइन गर्ने प्राविधिकले पनि पूर्ण अध्ययन नगरी पास गर्दा नयाँ पुलको आयु बढेको छैन। निर्माणव्यवसायी छनोट, कामको अनुगमन र नियमन साथै ठेक्कामा कमिसनको चक्कर नरोकिएसम्म पुल पक्का बन्दैन। अब यी बेथिति रोक्ने मुख्य दायित्व सरकारको हो। नत्र पुलमा हुने भुल सधैं दोहोरिरहनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.