दोबाटोमा नेपाल
पार्टी जोगाउने कि देउवा !
ज्योदि तोर डाक सुने क्यु, ना से...
यदि तिम्रो पुकार कसैले सुन्दैन भने एक्लै अघि बढ, एक्लै अघि बढ।
प्रसिद्ध भारतीय लेखक रविन्द्रनाथ टैगोरले बंगाली भाषामा लेखेको कविता हो यो। भारतीय लेजेन्ड्री अभिनेता अमिताभ बच्चनले स्वर दिएको यो क्रान्तिकारी गीत कुनै बेला नेपालको कम्युनिष्ट आन्दोलनको उर्जाको स्रोत थियो। त्यतिबेला खाईभोको जनताको झुपडीमा पुग्दा कम्युनिष्ट नेताहरूलाई सुन्ने जनता कमै थिए। यही गीतबाट उर्जा भर्दै कम्युनिष्ट नेताहरू संगठन निर्माणमा जुट्थे।
एमालेनेता प्रदीप नेपालको विश्लेषण छ, ‘मदन भण्डारीको नेकपा पहिलो जनता, दोस्रो सिद्धान्त, तेस्रो म। आजको नेकपा पहिलो म, दोस्रो मेरा मान्छे, तेस्रो जनता।’
पाँच दशकभन्दा बढी कम्युनिष्ट आन्दोलनमा समर्पित एमाले वरिष्ठ नेता माधवकुमार नेपाल यतिबेला त्यही पुरानै गीत सम्झन्छन्। एमाले के होला ? पार्टी कता जाला ? पार्टी एकता होला कि नहोला ? भनेर चिन्ता व्यक्त गर्ने नेता उनी अहिले भने कार्यकर्तालाई मोबाइलमार्फत यही गीत सुनाउने गर्छन्। गीतमा अगाडि भनिएको छ, ‘यदि कसैले तिमीसँग कुरा पनि गर्दैन, टाढा टाढा भाग्छ। तिमीले भनेको कुरासँग डराउँछ भने मनसँग कुरा गर। एक्लै अघि बढ, अघि बढ।’ नेपाल सम्झन्छन्, ‘रामेश, रायन, र जेबी टुहुरेका गीतभन्दा अघि हामी यही गीत सुन्थ्यौं, गाउँथ्यौं र ऊर्जा भथ्र्यौं।’
पन्ध्र वर्ष एमालेको मूलनेतृत्व हाँकिसकेका नेपालको राजनीतिक जीवन यतिबेला भने निकै अप्ठ्यारोमा छ। आफैंले रगत पसिना बगाएर निर्माण गरेको पार्टी संकटको डिलमा छ। आफ्नै राजनीतिक जीवन पनि अन्योलमा छ। अध्यक्ष ओलीविरुद्धको संघर्षमा नेपाललाई साथ दिएका ४०–४५ जना सांसदको संख्या घट्दै २३ जनामा झरेको छ। अझै के कतिले साथ दिन्छन् भन्ने टुंगो छैन। तर पनि उनी भन्छन्, ‘मसँग को आउँछन्, को टाढिन्छन्, थाहा छैन। तर म सत्यको पक्षमा अडिग छु। एक्लै भए पनि अघि बढछु।’ उनले लिने निर्णयले राजनीति कता मोडिन्छ भन्ने कुराको टुंगो लाग्ने अवस्था छ। नेता नेपाल पार्टीअध्यक्ष केपी शर्मा ओलीसँग मिलेर अघि बढे भने राजनीतिले अर्कै मोड लिनेछ। सत्ता गठबन्धनलाई साथ दिए अर्कै।
सम्बन्ध बिग्रिएपछि नेपालले ओलीलाई जसरी पनि सत्ताबाट झार्ने अठोट गरे। आफ्नै नेतृत्वको सरकारविरुद्धको अभियानको नेतृत्व लिए र सफल भए। त्यही कारण उनी भने यतिबेला दोबाटोमा छन्। सहयात्रीहरूका पैताला गलेका छन्, चर्का स्वर मलिन बन्दैछन्। हिजो उचाल्नेहरू खुट्टा कपाउन थालेका छन्। नेपालमाथि पार्टी एकताका लागि दबाब बढाउन थालेका छन्। नेपाल भने टसमस छैनन्।
देउवा जोगाउने कि पार्टी ?
नेपालको राजनीतिक जीवनमा एउटा गम्भीर प्रश्न खडा भएको छ। पार्टी जोगाउन त्याग गर्ने कि देउवा जोेगाएर अघि बढ्ने ? देउवा सरकार जोगाउन लागौं, पार्टी संकटमा पर्ने। पार्टी जोगाउन लागौं, राजनीतिक लाइन जोखिममा पर्ने। इतिहासकै गम्भीर मोडमा सुझबुझपूर्ण निर्णय लिने बेला आएको छ। हिजोसम्म नेपालको अभियानमा साथ दिएका नेताहरू आज पार्टी जोगाउन लागिपरेका छन्। कार्यदलमा आफूले राखेका नेताहरू पार्टी एकताका पक्षमा उभिन उनलाई दबाब बढाइरहेका छन्। तर अध्यक्ष ओलीसँग नेता नेपालको दुरी घट्नुको साटो बढ्दो छ।
दोस्रो तहका नेताहरू मिलाउँंदै गए पनि दुई शीर्ष नेताहरू दोहोरी खेल्दैछन्। एकले अर्कोमाथि आरोप लगाउने र तुच्छ व्यवहार गर्ने बानीमा कमी आएको छैन। ओलीमा कुनै परिवर्तन नआएको र फेरि पनि आफूहरूलाई दबाएर राख्ने भन्दै नेपाल सशंकित छन्। पार्टी जोगाउन लागौं, आफूमाथि नैतिक प्रश्न उठ्ने। देउवा जोगाउन लागौं, पार्टी धरापमा पर्ने। नेपाल अब कुन बाटो समात्छन् भन्ने चर्चा र चासो छ। देउवालाई साथ नदिने हो भने उनले अँगालेको बाटोले सार्थकता पाउने छैन। पार्टी जोगाउन देउवालाई विश्वासको मत नदिने हो भने फेरि पनि संसद् विघटनमा जानेछ। मुलुक ‘अर्लि इलेक्सन’ मा जानेछ। ओलीले लिएकै बाटो ठिक थियो भन्ने दिशामा मुलुक जानेछ। जुन कुरा सम्भवतः उनलाई पीडादायी हुनेछ।
यतिबेला देउवालाई साथ नदिने हो भने हिजो सर्वोच्च अदालतमा बुझाइएको २३ सांसदको हस्ताक्षरमाथि नै प्रश्न उठ्नेछ। नेपालले राजनीतिक बेइमानी गरेको ठहरिनेछ। उनकै समर्थनमा संसद् पुनस्र्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा निवेदन परेको थियो। माग अनुसारकै सर्वोच्चले फैसला सुनाए पनि संसद्मा विश्वासको मत नलिँदासम्म देउवा सरकार ढुक्क हुने स्थिति छैन। नेपाल पक्षको समर्थनबिना देउवा सरकारका पक्षमा बहुमत पुग्ने अवस्था छैन। कि त राष्ट्रिय जनता पार्टीले देउवालाई मत दिनुपर्छ। तर राजपाभित्रको द्वन्द्वले पार्टी एक ढिक्का भएर देउवाको पक्षमा उभिने अवस्था न्यून छ।
एमाले वरिष्ठ नेता नेपाल देउवा जोगाउन लाग्ने हो भने पार्टी जीवन संकटमा पर्नेछ। हावाहुण्डरी, असिनापानी, भोकैनांगै लाखौं नेता, कार्यकर्ताको रगत पसिनाबाट सिर्जित पार्टी क्षणभरमै चकनाचुर भएको दृश्य पक्कै पनि पीडादायी हुनेछ। पार्टी जीवन संकटमा पारेर कथंकदाचित पार्टी विभाजनमा पुगे भने उनको राजनीतिक जीवनमा सबैभन्दा ठूलो दाग लाग्नेछ। ५१ वर्षको पार्टीको योगदानलाई कार्यकर्ताले बिर्सने अवस्था आउनेछ। देउवा सरकार जोगाउन नेपाल पक्ष उभिए चुप लागेर नबस्ने संकेत पार्टी अध्यक्ष ओलीले गरिसकेका छन्। नेपाललगायत ११ नेतामाथि गरेको कारबाही फिर्ता लिए पनि विपक्षी पार्टीको सरकार जोगाउनेमाथि ओली कडा रूपमा प्रस्तुत हुने संकेत उनले पछिल्ला दिनमा गरिसकेका छन्। आफ्नै पार्टीनेतृत्वको सरकार भत्काउन प्रमुख भूमिका खेलेको भन्दै ओलीले वरिष्ठ नेता नेपाललाई एमालेमा अब ठाउँ नभएको घोषणा गरिसकेका छन्। नेपाल पक्षको सहभागिताबिना नै ओलीले स्थायी समिति र संसदीय दलको बैठक गरेर महŒवपूर्ण निर्णय भ्याइसकेका छन्। ओली र नेपाल पक्षधर ५–५ नेता सम्मिलित कार्यदलको प्रतिवेदनलाई अनुमोदन गरे पनि वरिष्ठ नेता नेपाललाई पार्टी बैठकमा आउने वातावरण बनाउने पक्षमा भने ओली पिटिक्कै छैनन्।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पराजयपछि समकालीन नेताहरूमा नेपाल खोजिए। संविधान बनाएर मुलुकलाई अग्रगामी निकास दिन उनलाई भूमिकाविहीन बनाएर अघि बढ्न सकिँदैन भनेर संविधानसभामा ल्याइयो। संविधान निर्माणको महŒवपूर्ण जिम्मेवारी रहेको संवैधानिक समितिको सभापति बनाइयो। तत्कालीन माओवादीमा देखिएको उग्रवामपन्थी चरित्रका कारण प्रचण्डको सरकार ढल्यो। नेपाललाई २०६६ जेठ ११ गते कांग्रेस सहितको समर्थनमा प्रधानमन्त्री बनाइयो। पुराना कम्युनिष्ट नेताहरू अहिले पनि नेपालमा समन्वयकारी भूमिकाको खोजी गरिरहेका छन्। पुराना नेता प्रदीप नेपालले ‘पार्टीभित्रको द्वन्द्वले झगडिया दुवै नेताको ग्राफ घटिरहेको’ भन्दै ठण्डा दिमागले सोच्न आग्रह गरेका छन्। ‘यतिबेला ओली र नेपालको ग्राफ निकै तल झरेको छ है’, उनी भन्छन्, ‘दुवैले आलोचना सुन्न सिक्नुहोस्।’
पार्टीका नेताहरूमा देखिएको विचलन र द्वन्द्वबारे प्रदीपको विश्लेषण छ, ‘मदन भण्डारीको नेकपा पहिलो जनता, दोस्रो सिद्धान्त, तेस्रो म। आजको नेकपा पहिलो म, दोस्रो मेरा मान्छे, तेस्रो जनता।’
पार्टी फुटाउलान् त ?
सर्वोच्चको फैसला आउने केही दिनअघि पार्टी विवाद मिलाउन भन्दै अध्यक्ष ओली र नेपाल पक्षबाट ५–५ जनाको कार्यदल बनाइयो। असार २८ गते सर्वाेच्चको फैसला आउनु अघिल्लो मध्यराति कार्यदलले १० बुँदे सहमति ग¥यो। सर्वोच्चको फैसला नआएसम्म सहमति नहोस् भन्ने पक्षमा नेपाल थिए भने पार्टीमा सहमति भयो भन्ने सन्देश दिन चाहन्थे, अध्यक्ष ओली। तर सर्वोच्चले नेता नेपालले लिएकै लाइनमा फैसला गरिदियो।
सर्वोच्चको फैसलापछि ओली र नेपालबीच द्वन्द्व चर्केको छ। पार्टी एकता नहुने हो भने नेपाललाई अर्को पार्टी निर्माण गर्नुको विकल्प छैन। तर अर्को पार्टी बनाउने कुरामा उनकै सहयात्री सहमत छैनन्। नेपालका तर्फबाट कार्यदलमा रहेका भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायत नेताहरू नै पार्टी एकता गर्न नेपालमाथि दबाब दिइरहेका छन्। शुक्रबारको स्थायी समिति बैठक स्थगन गरेर पार्टी एकता जोगाउन बैठकस्थलमै पुगेका नेपाल पक्षधर कार्यदलका सदस्यको आग्रहलाई ओलीले ठाडै अस्वीकार गरे। त्यसपछिको स्थिति भने भिन्न बनेको नेताहरू बताउँछन्। २०५४ मा विभाजित एमाले पुनः २३ वर्षमै विभाजित हुन्छ कि हुँदैन हेर्न बाँकी छ। पार्टी जोगाउने कि देउवा ? अन्ततः नेपालकै हातमा छ।