सबै नाका निर्वाध चलून्
नेपाल आर्थिक र सामाजिक विकाससँगै समृद्धिको यात्रा पूरा गर्ने दौडमा छ। विश्व व्यापार र विश्व अर्थतन्त्रका लाभहरू उपयोग गर्दै समुन्नत नेपाल निर्माण गर्ने अभिलाषा नेपालले पनि बोकेको छ। यसका लागि छिमेकी मुलुकको साथ र साझेदारी भने अनिवार्य हुन्छ। चीन र भारत विश्व परिवेशका उदाउँदा शक्ति हुन् र नेपालका छिमेकी पनि। दुवै मुलुक समृद्ध र सक्षम बन्ने होडमा विश्वका शक्तिशाली मुलुकसँग प्रतिस्पर्धा गरिरहेका छन्। हरेक हिसाबले चीन र भारत विश्वको अग्रस्थानमा आउने भएकाले शक्तिसम्पन्न मुलुकको छिमेकी भएर रहनु नेपालका लागि गर्वको कुरा पनि हो। आर्थिक र सामाजिक विकासमा सँगै राजनीतिमा पनि सकारात्मक साथले छिमेकीको महŒव बढाएको छ।
भूपरिवेष्टित मुलुक भएकाले नेपाललाई दुवै छिमेकीको साथ आवश्यक पर्छ। क्षेत्रफलका हिसाबले सानो मुलुक भए पनि यसभित्र अटाएका नागरिकलाई सुखी राख्नु चुनौति नै हुन्छ। हिमाल, पहाड र तराई तीनै तहको भौगोलिक संरचना भएको नेपालका सबै क्षेत्रमा नागरिकको बसोबास छ। हिउँले छोप्ने हिमालदेखि गर्मीले तताउने तराईसम्म छरिएका नागरिकको समस्या समाधान गर्नु र उनीहरूको दैनिक आवश्यकता पूरा गर्नु राज्यको दायित्व हो। यसै दायित्व पूरा गर्न छिमेकी मुलुकसँग सोझो व्यापार सम्बन्ध र सम्पर्क कायम गर्न नेपालले ध्यान दिँदै आएको छ। नेपालमा उत्पादन भएका वस्तु निर्यात गर्ने र छिमेकी मुलुकमा उत्पादन तथा निर्माण भएका सामग्री आयात गरेर उपभोग गर्दै लामो समयदेखि व्यापारिक सहकार्य पनि हुँदै आएको छ।
नेपाल उत्तरतिर चीन र दक्षिण, पूर्व र पश्चिममा भारतसँग जोडिएको छ। सिमाना जोडिएका क्षेत्रमा खुल्ला र बन्द नाकाहरू पनि छन्। नाकानजिक रहेका नेपालका जिल्ला र केही बस्तीको सोझो सम्पर्क स्वदेशी मुख्य बजारमा भन्दा छिमेकी मुलुकका बजारमा हुन्छ। दुरीका हिसाबले मुलुकभित्रकै बजारभन्दा नजिक पर्ने भएकाले भारत र चीनका बजारमा निर्भर रहनु ती क्षेत्रका नागरिकको बाध्यता पनि छ। यो बाध्यतामा बढी तराई र पहाडका भन्दा पनि हिमाली क्षेत्रका नागरिक छन्। खाद्यान्न, लत्ताकपडासहित दैनिक उपभोग्य वस्तुमा चीनकै भर पर्नुपर्ने बाध्यता उत्तरी क्षेत्रका नागरिकमा छ। पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मको हिमाली क्षेत्रका नागरिक चीनकै व्यापारिक क्षेत्रमा पुगेर सामान गरिद गर्छन्। हिउँ परेको समयमा उत्तरी नाका बन्द भए पनि अन्य समयमा खुल्ने हुँदा यसअघि तिनलाई सहज थियो। तर, कोरोना महामारी सुरु भएसँगै उत्तरी नाका ठप्प हुँदा हिमाली जिल्लाका नागरिकको जनजीवन असहज भएको छ। चीनले नेपालका सबै साना नाकाहरू साउन तथा भदौको पहिलो सातामा गरी वर्षमा दुई पटक खोल्ने गथ्र्यो। दुई वर्षअघि साउन, भदौमा एक साताका लागि खोलेर बन्द गरेका नाका अहिलेसम्म खुलेका छैनन्। जसका कारण सीमा क्षेत्रका बासिन्दा विविध समस्या झेलिरहेका छन्। मुख्य नाकाहरू पनि निर्वाध सहज नहुँदा व्यापार–व्यवसाय चौपट छ।
वुहानमा कोभिड–१९ का बिरामी भेटिएपछि चीनले औपचारिक रूपमा नाका बन्द गरेको थियो। अहिले बाढी–पहिरोका कारण नेपालकै सदरमुकाम जाने पदमार्ग पनि हिँड्नै नसक्ने गरी भत्किएका छन्। सीमा पनि नखुल्ने, आफ्नै सदरमुकाम जाने पदमार्ग पनि बन्द हुँदा उत्तरी सीमा क्षेत्रका बासिन्दामा भोकमरीको चिन्ता सुरु भएको छ। खाद्यान्न संकट आउन थालेपछि केही गाउँमा हेलिकोप्टरबाट धेरथोर चामल ढुवानी गरी भरथेग गर्ने प्रयास त गरिएको छ। तर, यो प्रयास सबै जिल्लाका गाउँहरूमा सम्भव छैन। उत्तरी नाका बन्दको मुख्य समस्या हिमाली क्षेत्रमा भोकमरी हो भने अर्को समस्या नेपालमा उत्पादन भएका सामान निकासी नहुनु हो। उत्तरी क्षेत्रमा खाद्यान्न अभावसँगै चीन निर्यात हुने सामान पनि नेपाली गोदाममै थन्किएका छन्। जसको कारण नेपालको व्यापार घाटा बढ्दैछ।
प्राकृतिक प्रकोपका कारणले नाका बन्द हुनु स्वाभाविक हो। भूकम्पको असर पहिल्यै सहिइसक्यो। कोरोना महामारी पनि क्रमशः घट्दै गएको छ। स्वास्थ्य सावधानी सहितका विकल्प आएका छन्। यसको प्रयोग गर्दै नाकाहरू सुचारु गर्न सकिन्छ। अन्य कारण नाका खोल्न समस्या भए सरकारले कुटनीतिक हिसाबमा निकास खोज्नुपर्छ। नाका बन्द हुँदा दीर्घकालमा कुनै देशलाई पनि फाइदा पुग्दैन। अतः कूटनीतिक पहल र अग्रसरताबाट यसको शीघ्र समाधान खोजिनुपर्छ। नाका निर्वाध चल्न पाउनुपर्छ।