कलेजो उपचारमा क्रान्ति
काठमाडौं :
यो मिति नेपालमा कलेजो प्रत्यारोपणका लागि गौरवमय मानिन्छ। भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा यही दिन पहिलो पटक कलेजो प्रत्यारोपण सफल भएको थियो। भक्तपुरका ३६ वर्षीय बलराम नागालाई दिदी ४१ वर्षीया सानुमायाले कलेजो दान गरेकी थिइन्।
केन्द्रमा चार वर्षदेखि कलेजो प्रत्यारोपण गर्ने कार्य जारी छ। केन्द्रका निर्देशक प्रा.डा. प्रेमराज ज्ञवाली भन्छन्, ‘अहिलेसम्म ६ जनाको कलेजो प्रत्यारोपण गर्यौं। दुई साताभित्र अर्को प्रत्यारोपण गर्न लागेका छौं। अहिले अन्तिम तयारीमा छौं।’
१८ जेठ २०७६
त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगन्जमा यही दिन पहिलो पटक कलेजो प्रत्यारोपण गरियो। अस्टे«लियाबाट फर्र्किएका कलेजो एवं प्याङ्क्रियाज सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको स्वदेशमै कलेजो प्रत्यारोपण गर्ने अठोटले पूर्णता पाएको थियो। सर्वसाधारणको पुनर्जीवन पाउने आशाले मूर्तरूप लिएको थियो।
डा. भण्डारी नेतृत्वको टोलीले झण्डै १६ घण्टा लगाएर कलेजो प्रत्यारोपण गर्यो। ५८ वर्षीय व्यक्तिको कलेजो बिग्रिएको थियो। उनका ३३ वर्षीया छोरीले आफ्नो कलेजोको केही भाग दान गरेकी थिइन्।
शिक्षण अस्पतालमा कार्यरत डा. भण्डारी भन्छन्, ‘अहिलेसम्म ५ जनाको प्रत्यारोपण गर्यौं। प्रत्यारोपण सेवा नियमित गर्न जुर्मुराउँदै छौं।’
२९ पुस २०७७
यो मिति ११ महिने शिशुको कलेजो प्रत्यारोपण गरेको दिन हो। त्यसका लागि शिशुका अभिभावक विदेश जान तयार थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उनीहरूले आर्थिक सहयोगको गुहार मागे। ओलीले शिशुको प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमै गर्न सुझाए।
शिक्षण अस्पतालमा यसअघि उमेर पुगेका व्यक्तिको कलेजो प्रत्यारोपण गरिएको थियो। २९ पुसमा शिशुको प्रत्यारोपणको मिति जुर्यो। यो पाँचौं प्रत्यारोपण थियो, जसमा १२ घण्टा लाग्यो। कलेजो प्रत्यारोपण अत्यन्तै जटिल र संवेदनशील मानिन्छ। नेपालमा कलेजो प्रत्यारोपणमा १० घण्टाभन्दा बढी लाग्ने गरेको छ।
०००
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानव अंग प्रत्यारोपण नियमावली २०७३ ल्याएपछि कलेजो प्रत्यारोपणको बाटो खुलेको थियो। पहिलो कलेजो प्रत्यारोपणमा दक्षिण कोरियाबाट विशेषज्ञ चिकित्सक आएका थिए। त्यसपछि चार वर्ष अवधिमा १३ जनाले स्वदेशमै कलेजोको सफल प्रत्यारोपणपछि पुनर्जीवन पाएको महसुस गरिरहेका छन्।
नेपालमा कलेजो प्रत्यारोपणसम्बन्धी अनुमति पाउने स्वास्थ्य संस्थाको संख्या चार पुगेको छ। मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्स नेपालले अनुमति पाएका हुन्।
केन्द्रले थालेको दुई वर्ष नपुग्दै त्रिवि शिक्षण अस्पताल अघि सर्यो। त्यस्तै दुई वर्षपछि नै चितवन मेडिकल कलेजले पनि प्रत्यारोपण गर्यो। नेपालमा कलेजो प्रत्यारोपणमा दक्षिण कोरिया र भारतका चिकित्सकको प्राविधिक सहयोग रहने गरेको छ।
किन भयो महँगो ?
अत्यन्तै जटिल र संवेदनशील प्रत्यारोपणध्ये कलेजो प्रत्यारोपण मुख्य मानिन्छ। आईसीयू, एनेस्थेसिया, ल्याबलगायत सबै सेवा चुस्त राख्नुपर्छ। कलेजो दाता र ग्रहण गर्ने दुवैको स्वास्थ्य परीक्षण गर्नुपर्छ। शिक्षण अस्पतालका डा. भण्डारीका अनुसार, कलेजो दाता र बिरामीको कलेजोको अवस्था जाँच गरिन्छ।
‘कलेजोको अप्रेसन गर्न मिल्छ÷मिल्दैन त्यो पनि जाँच गर्नुपर्ने हुन्छ। होल बडी चेकजस्तै विभिन्न परीक्षण गरिन्छ’, उनी भन्छन्, ‘कलेजो, छाती, मुटुको पनि जाँच गर्नुपर्ने हुन्छ।’
कलेजो दातामा कुनै रोग छ÷छैन जाँच गरिन्छ। ब्लड, कलेजो, मिर्गौलाको जाँच गरिन्छ। सिटिस्क्यान, एमआरआई गर्नुपर्ने हुन्छ। यी सबै परीक्षण गरेर प्रत्यारोपण गरी डिस्चार्ज हुँदासम्म २५ देखि ३० लाखसम्म लाग्न सक्ने चिकित्सकहरू बताउँछन्।
त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण गर्ने हो भने २५ देखि ३० लाख रुपैयाँसम्म लाग्छ। डा. भण्डारी भन्छन्, ‘विभिन्न अंगको परीक्षण गर्नुपर्ने र औषधि पनि चाहिने हुँदा महँगो हुन पुगेको हो।’
डा. ज्ञवालीका अनुसार मिर्गौलाझैं कलेजो प्रत्यारोपणमा पनि नेपाली चिकित्सक ‘इन्डिपेन्डेन्ट’ हुनुपर्ने खाँचो छ। ‘समयक्रमअनुसार विस्तारै नेपाली चिकित्सकीय टोलीबाट इन्डिपेन्डेन्ट रुपमा प्रत्यारोपण हुने हो भने महँगो पनि पर्दैन। विस्तारै त्यो दिन पनि आउला’, डा. ज्ञवाली भन्छन् ।
यसका साथै भारतबाट आउने चिकित्सकहरूको शुल्कका कारण पनि सेवा महँगो हुन पुगेको जानकारहरू बताउँछन्। डा. ज्ञवालीका अनुसार विदेशी चिकित्सकलाई बोलाउनुपर्दा प्रत्यारोपण सेवा महँगो हुन पुगेको हो। ‘उनीहरू (विदेशी चिकित्सक)को शुल्कले गर्दा बिरामीको खर्च बढी भएको हो। तापनि भारतभन्दा नेपालमा सस्तो हो। नेपालमा २५–३० लाखमै प्रत्यारोपण हुन्छ’, उनी भन्छन्।
नेपालकै चिकित्सक मात्र संलग्न रहेर प्रत्यारोपण गर्ने हो भने १५ लाखसम्म खर्च हुने डा. ज्ञवालीको ठम्याइ छ। भारतमा कलेजो प्रत्यारोपणमा ५० लाखभन्दा बढी लाग्ने चिकित्सकहरू बताउँछन्।
डा. ज्ञवालीका अनुसार केन्द्रमा आबद्ध चिकित्सकीय टिम ‘सेल्फ इन्डिपिन्डेन्ट’ भइसकेको छ। नेपाली चिकित्सकले नै अब अप्रेसन गर्नेछन्। ‘आगामी प्रत्यारोपणमा केही इमरजेन्सि परिहाल्छ कि भनेर भारतीय डाक्टरहरूलाई स्ट्याण्ड बाई राख्छौं। व्याक सपोर्ट हो। अप्रेशन कक्षमा हुँदैनन। हाम्रै टिमले अप्रेसन गर्छ’, उनी भन्छन्। यस प्रत्यारोपणपछि भारतबाट चिकित्सक बोलाउन नपर्ने उनको भनाइ छ। कलेजो प्रत्यारोपणमा चार जना चिकित्सक सहितको टिम छ। नेपालमा हालसम्म कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकहरूले सघाएका छन्।