तस्करीको केराउ समात्न प्रहरीलाई सकस

तस्करीको केराउ समात्न प्रहरीलाई सकस

परासी : पश्चिम नवलपरासीका सीमावर्ती नाकाबाट भारततर्फ हरियो केराउ (मटर) तस्करी हुने गरेको छ । केराउ तस्करीका लागि यो जिल्लाका सीमा नाका ट्रान्जिट प्वाइण्ट जस्तै बनेका छन् । प्रहरीले पटक पटक केराउ बरामद गरेपनि तस्करी भने रोकिएको छैन । कानुनी झण्झटका कारण तस्करीको केराउ पक्राउ गर्न सकस भएको प्रहरीको भनाइ छ ।  

तेस्रो मुलकबाट आउने केराउ भारतमा पुर्‍याउँदा प्रतिकेजी २० देखि ३० रुपैयाँ नेपाली नाफा हुने भएकाले तस्करी कार्य बढेको हो । केराउ तस्करी बढेपछि केही  महिनाअघि निषेधाज्ञाको कारण देखाउँदै मटर ओसारपसारमा प्रतिबन्धसमेत लगाइएको थियो । अहिले फेरि केराउ तस्करी हुन थालेको छ । 

वीरगञ्जहुँदै भन्सार तिरेर ल्याइने अधिकांश केराउ राख्ने फर्मको नाम दसगजा नजिक रहेको स्थानमा तोकिएको हुन्छ । भूजहवा, झोलनीपुर, महेशपुरलगायतका दसगजा क्षेत्रमा फर्मका गोदामहरु रहेका छन् । केही गोदाम परासी, गोपिगञ्जमा रहेपनि सिमा क्षेत्रका गोदाममा लैजाने भन्दै बिल काटेर टेक्टर, जीप र ट्रकहरुबाट ति क्षेत्रहरुमा पुर्‍याइने गरिएको छ । त्यहीँबाट सिमा पार गर्ने गरिएको छ । बिलमा समेत दसगजा नजिकको गोदाम उल्लेख भएका कारण बीच बाटोबाट पक्राउ गर्न सकस भएको प्रहरीको भनाइ छ ।

विगतमा तस्करीलाई नियन्त्रण गर्न प्रहरीले आवश्यक अनुसन्धानका लागि भन्दै बीच बाटोबाट समेत केराउ पक्राउ गर्ने गरेको थियो । तस्करीलाई हतोत्तसाहित गर्न त्यसरी पक्राउ गरिएका केराउ ८/१० दिन राखेर छाड्ने गरिएको थियो । अनलाईन बिलसहित सम्पूर्ण कागजपत्र भएकाले प्रहरीले कानुनी रुपमा राख्न नमिल्ने भएकाले छाड्ने गरिएको एक अधिकृतले बताए । दसगजा क्षेत्रमा शसस्त्र प्रहरी र नेपाल प्रहरीका पोष्टहरु रहेका छन् । चौबिसैं घण्टा दसगजा क्षेत्रमा रहने शसस्त्र प्रहरीले समेत तस्करी नियन्त्रणमा वास्ता नगरेको स्थानीयको भनाई छ ।

केही ठूलो मात्राका केराउ प्रहरीले दसगजा वरपरका क्षेत्रबाट समेत पक्राउ गर्ने गरेको छ ।  हप्ता दिनअघि मात्र २२ लाख बराबरको केराउ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो । केराउ तस्करी बढ्न थालेपछि ३ साताअघि सरुवा भएर आएका प्रहरी उपरीक्षक मनोज कुमार यादवले निगरानी बढाउँदै हप्तादिन अघि उक्त मूल्य बराबरको १ सय ८० सय क्विण्टल केराउ पक्राउ गरेका हुन् । 

बेवारिसे अवस्थामा रहेको भन्दै उक्त केराउ आवश्यक कारबाहीका लागि महेशपुर भन्सार पठाइएको छ । ‘जिल्लाको जनसंख्याको आधार हेर्दा यहाँ आउने केराउ अधिक छ । त्यो सबै केराउ भारत तस्करी गर्न हो, 'यादवले भने ।

आफ्नो पहिलो प्राथमिकता अपराध नियन्त्रण र तस्करी कार्यलाई निरुत्साहित पार्ने रहेको उनले बताए । गलत नियत राखेर तस्करी कार्यमा सहयोग गर्ने कोही मातहतका इन्चार्ज संलग्न भएको पाइए तत्काल कारबाही गरिने र सोही अनुसार नियन्त्रणका लागि निर्देशन दिइएको प्रहरी उपरीक्षक यादवले बताए ।

‘जिल्लाका नाकाहरुबाट केराउ, मरिच, सुपारीजस्ता सामाग्रीहरु भारततर्फ तस्करी हुने गरेको जानकारी पाएका छौं । तर गोदाम नै दसगजामा लगेर राख्नाले समस्या भएको छ, 'उनले भने । यस्ता वस्तुहरुको गोदाम सदरमुकाम वा राजमार्ग क्षेत्रमा मात्र राख्न पाइने प्रावधान हुन सके प्रहरीलाई तस्करी नियन्त्रणमा सघाउ पुग्ने प्रहरी उपरीक्षक यादवको सुझाव छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.