चहलपहल बढेसँगै बढ्यो कोरोना

चहलपहल बढेसँगै बढ्यो कोरोना

धनगढी : वैज्ञानिकहरूले कोरोनाको तेस्रो भेरियन्ट आउने प्रक्षेपण गरिरहेका बेला, सुदूरपश्चिमको समुदायमा भने स्वास्थ्य मापदण्डहरू पालना भइरहेका छैनन्। असारको १० दिन र साउनको पाँच दिनको तुलना गर्ने हो भने तराईका जिल्लामा कोरोना बढ्दो क्रममा छन्। 

कैलालीको सेती प्रादेशिक अस्पतालमा असार २१ गतेदेखि ३१ गतेसम्म गरिएको कोरोना परीक्षणको तथ्यांक हेर्ने हो भने २२ प्रतिशतमा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले असार २१ देखि ३१ गतेसम्म १ हजार २९ जनाको कोरोना परीक्षण गरिएकोमा २ सय २६ जनामा कोरोना पुष्टि भएको बताए।

‘यो झण्डै २२ प्रतिशत हो’, उनले भने। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा हरेक दिन कम्तीमा पनि ६० देखि १३५ जनासम्मको परीक्षण हुने गरेको छ। उनले केही बिरामी पहाडी जिल्ला र अन्य प्रदेशका भए पनि अधिकांश बिरामी तराईका जिल्ला कैलाली र कञ्चनपुरका रहेका बताए।

‘रेफरल अस्पताल भएकाले पहाडी ९ जिल्लाका पनि विरामी आउछन्, कञ्चनपुरका बिरामीको पनि परीक्षण हुन्छ, नाकाको नजिकै भएकाले भारतबाट फर्केर आएकाहरूको पनि परीक्षण गरिन्छ, तर त्यसमा पनि अधिकांश कैलाली कञ्चनपुरका बासिन्दामा कोरोना देखिएको छ’, उनले भने।

साउनको चार दिनमा भने संक्रमितको संख्या अझ बढेको छ। नयाँ आर्थिक वर्षका पाँच दिनमा मात्रै सेती प्रादेशिक अस्पतालमा ३६ प्रतिशतमा कोरोना पुष्टि भएको छ। साउनको १ गतेदेखि ५ गतेसम्मको ३ सय ३९ जनाको परीक्षणमा १२२ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले बताए। 

सेती प्रादेशिक अस्पतालमा साउन १ गते ९४ जनाको परीक्षणमा १४ जना, २ गते ५५ जनाको परीक्षणमा ३३ जना, ३ गते शनिबार परीक्षण भएन, ४ गतेको ९३ जनाको परीक्षणमा ३० जना, र ५ गतेको ९७ जनाको परीक्षणमा ४५ जना गरी १ सय २२ जनामा कोरोना पुष्टि भएको छ। 

असारभन्दा साउनको सुरुवातमा कोरोनाका बिरामी बढ्न थालेपछि चिकित्सकहरूले पनि चिन्ता व्यक्त गरेका छन्। सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमर भन्छन्, ‘जोखिम अझै हटेको छैन, तर मानिसले स्वास्थ्यका आधारभूत मापदण्ड पनि अपनाउन छोडिसकेका छन्।’ उनले यस्तै अवस्था रहेमा कोरोनाको अर्को लहर फैलिन सक्ने बताए।

‘कोरोनाको दोस्रो लहर उत्कर्षमा रहेका बेला मानिस बाहिर निस्कँदा पनि दुईवटा मास्क लगाउने गर्थे। सार्वजनिक सवारीको यात्रा लगभग छोडिसकेका थिए। हरेको खल्तीमा स्यानिटाइजर हुन्थ्यो। तर, अहिले आधाभन्दा बढीले मास्क नै लगाउन छोडिसके, स्यानिटाइजर त अधिकांशले बोक्नै छोडिसके’, वरिष्ठ फिजिसियन डाक्टर शुभेषराज कायस्थले भने।

धनगढी उपमहानगरपालिकाले नगरलाई मास्क अनिवार्य नगर घोषणा गरेको छ। मास्क लगाउन रकम नहुनेलाई वडा कार्यालयहरूबाट पनि मास्क लैजान आह्वान गरेको छ। तर, पनि मानिसले मास्क लगाउन छोडिसकेका छन्। 

‘मास्क नहुनेलाई वडा कार्यालय, उपमहानगरपालिकाको कार्यालयबाट मास्क वितरण पनि गरिरहेका छौं, तर त्यसरी लैजानेको संख्या न्यून छ’, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले भने। 

जिल्ला प्रशासन कार्यालय कैलालीले, अहिले पनि जिल्ला बाहिरका लागि सार्वजनिक यातायात खोलेको छैन। नगर क्षेत्रमा चल्ने अटो रिक्सामा पनि चालकसहित तीन जना (२ जना मात्र यात्रु) बोक्न पाउने नियम लगाएको छ। तर अटो रिक्सामा पाँच÷पाँच जनासम्म यात्रु बोकेका भेटिन्छन्। कोरोनाको जाँच अहिले सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, डोटी, डडेल्धुरा, अछाम तराईका जिल्लाहरू कैलाली र कञ्चनपुरमा पनि हुने गरेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा पनि प्रदेशभरि परीक्षण गराएका ५ प्रतिशतभन्दा बढीमा कोरोना पुष्टि भइरहेको जनाएको छ। 

प्रदेश स्वास्थ्य दिर्नेशनालय सुदूरपश्चिमले जारी गरेको बुलेटिनअनुसार असारको २० गतेदेखि ३१ गतेसम्म १० हजार ५ सय ७५ जनाको कोरोना परीक्षण गरिएको छ। यसमा पीसीआर र एन्टिजेन परीक्षण सामेल छ। १० हजार ५ सय ७५ मध्ये ५ सय ३७ जनामा कोरोना पुष्टि भएको छ। असारको १० दिनको तथ्यांक हेर्दा यो ५ प्रतिशत हो।

साउनमा भने प्रदेशभरिको तथ्यांकमा पनि वृद्धि भएको छ। साउनको १ गतेदेखि ४ गतेसम्मको कुल २ हजार ५ सय ४७ जनाको परीक्षणमा प्रदेशभरि १ सय ६० जनामा कोरोना देखिएको छ। ‘यो तथ्यांक परीक्षण गराएको संख्याको ६ प्रतिशतभन्दा बढी हो’, स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका निर्देशक डाक्टर गुणराज अवस्थीले भने। उनले, अहिले पनि जोखिम कायमै रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.