रुझेको विकास

रुझेको विकास

असारे विकासको नमिठो सन्दर्भ सुनिरहने तर सुधारको प्रयत्न नगर्ने हो भने विकासको गुणात्मक पक्ष सधैं ओझेल परिरहन्छ


विकासकर्मीको वर्षाप्रेम ! रुझेको विकासको तस्विर खिच्ने काम यस लेखमा गरिएको छ। मानिस (पिपुल) र ठाउँ (प्लेस) दुवै राम्रोबाट अझ राम्रो अवस्थामा बदलियो भने विकास भएको ठहर्छ। मानिसको विकास हुन ऊ तीन चरणबाट गुज्रनु पर्छ। पहिलो चरण, जागरण (अवेरनेस) को चरण हो। विकासका लागि मानिसमा विकासप्रतिको जागरण वा सचेतना प्रस्फुटन हुनैपर्छ। दोस्रो चरण, तयारी (रेडिनेस) को चरण हो। यो चरणमा मानिस विद्या, बुद्धि, विनयशीलता अथवा ज्ञान, सीप र संस्कारले आर्थिक विकासका निमित्त योग्य हुनुपर्छ। तेस्रो चरण, पेशा व्यवसाय (विजनेस) को हो।

मानिसले आर्थिक समृद्धि हासिल गर्ने चरण यही हो। यो चरणमा मानिसलाई ठाउको पनि अनुकूलता चाहिन्छ। ठाउँको विकास हुन दुई चरणबाट गुज्रनुपर्छ। पहिलो चरण तयारी (रेडिनेस) को हो। यसलाई निर्माणको चरण पनि भन्न सकिन्छ। दोस्रो चरण भनेको व्यवसाय (विजनेस) को चरण हो। यो चरणमा निर्मित पूर्वाधारलाई मानिसले आर्थिक प्रयोजनमा उपयोग गर्ने चरण हो। विजनेस चरणमा मानिस र ठाउँको परस्पर सहयोगी सम्बन्ध बन्नुपर्छ। सोही सम्बन्धले आर्थिक व्यवसायको स्तर, गति र उपलब्धि निर्धारण गर्दछ। यसरी विकासको सूत्र अवेरनेस–रेडिनेस–विजनेस हो भन्न सकिन्छ। 

विकासमा मानव विकासलाई सधैं अघि लगाउनुपर्छ। सँगै ठाउँको विकास पनि गर्दै जानुपर्छ किनकि विकासको अगुवाई मानिसले गर्ने हो। अमेरिकाको विकासको इतिहास केलाउँदा सन् १८३६ मा स्थापित हार्वड विश्वविद्यालयले मानव विकासको प्रतिकात्मक प्रतिनिधित्व गरेको पाइन्छ भने राष्ट्रिय यातायात सञ्जाललगायत भौतिक विकासको गुरुयोजना बनाएर ठाउँको विकासमा अमेरिकी जनता र सरकार जुटेको पाइन्छ। सुरुबाटै पिपुल र प्लेसको विकासमा सन्तुलन मिलाउन सकेका कारण अमेरिका विकासको सर्वोपरी स्थानमा छ। एक्काइसांै शताब्दीमा विकासमा उदाइरहेका भारत तथा चीनको विकासले पनि सोही सत्यलाई आत्मसात गरेको पाइन्छ।

नेपालको विकासको ढाँचामा भने अलि फरक दृष्य देखा पर्छ। कर्णाली प्रदेशलाई उदाहरणको रूपमा लिँदा पञ्चायतकालमा कर्णालीका मेधावी छात्रछात्रालाई पनि काठमाडौं लगेर चिकित्सा, र्इिन्जनियरिङ लगायतका विषयमा समेत अध्ययन गराएर मानव विकासलाई राम्रोबाट अझ राम्रो अवस्थामा पुर्‍याउने प्रयत्न भएको देखिन्छ। तर त्यसबखत कर्णालीका गाउँबस्तीलाई सडक, विद्युत्, सञ्चार, सिँचाइजस्ता सुविधाले जोड्ने काम हुन सकेन। यसरी मानिस र ठाउँको बीचमा विकासको सन्तुलन मिल्न नसक्दा कर्णालीका मानवपुँजी काठमाडौंबाट कर्णाली फर्कनुको साटो क्यानडा ताक्ने अवस्था पैदा भयो। मानिस र ठाउँको रेडिनेस परस्पर सहयोगी नहुँदा विजनेस फस्टाउन सक्दैन। २०४६/४७ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएउप्रान्त नेपालको विकास प्रकृयालाई केलाउँदा भने ठाउँको विकास हावी हुँदै आएको अवस्था छ। वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा पनि सो क्रम जारी छ। दूरदराजमा समेत सडक, विद्युत्, सिँचाइ, भवनलगायत भौतिक पूर्वाधार निर्माणका कामले सर्वोपरी प्राथमिकता पाइरहेका छन्। तर मानव विकासको पक्ष खुला छाडिएको छ।

यसरी पञ्चायत कालमा मानव विकासले स्थान पाउने तर ठाउँको विकास ओझेल पर्ने अवस्था रह्यो भने लोकतन्त्र हुँदै गणतन्त्रसम्म आउँदा सहरी क्षेत्रलाई अपवाद छाडेर ठाउँको विकास हावी हुने तर मानव विकास ओझेलमा पर्ने अवस्था कायम छ। मानिस र ठाउँ दुवैको रेडिनेस सन्तुलित भएमा मात्र विजनेस अर्थात् आर्थिक विकासको ढोका खुल्दछ। ठाउँ समुन्नत हुने तर मानिस ज्ञान, सीप र सोचले नबदलिने अथवा मानिस बदलिने तर ठाउँ दुर्गम वा विकट भइरहने अनमेलको अवस्थामा आर्थिक विकासले फड्को मार्न सक्दैन भन्ने सत्यप्रति ध्यान पुर्‍याउन नसकेको नेपालको विकास दर्पणमा छर्लंग देख्न सकिन्छ।

अहिले त विकास भनेकै भौतिक पूर्वाधार विकास हो भन्ने आमधारणा बनेको अवस्था छ। वास्तवमा भौतिक पूर्वाधारमा मानव पुँजी एकीकृत नहुँदासम्म समृद्धिको यात्रा सहज रूपमा अघि बढ्न सक्दैन। त्यसैले मानव विकासलाई पनि प्राथमिकता र योजनामा समेटिनु पर्छ। अव लागौं, रुझेको विकासको चर्चातर्फ। विकासलाई असारे विकास भन्ने गरेको पाइन्छ। असारे शब्दले प्रशंसाभन्दा व्यंग्यभाव बढी वोकेको पाइन्छ।  त्यसैले असारे विकास शब्दावलीले नेपालको विकासलाई अशोभनीय बनाइरहेको छ। विकासको सन्दर्भमा कुनै महिना विशेषले चर्चा पाउन नपर्ने हो। तर हाम्रो देशको विकासले असारे विकासको पगरी गुथ्न बाध्य भएको छ। यसो हुनुमा हाम्रो प्रवृत्ति दोषी छ। किनभने घुमिफिरी वर्षा सुरु हुन थालेपछि काम गर्न रमाउने प्रवृत्ति मौलाउँदै गएको छ। उपभोक्ता समितिलाई पनि यही समय मनपर्छ। निर्माण व्यवसायीले पनि यही समयलाई सजिलो मान्छन्। सरकारी रवैया पनि वर्षामैत्री छ।

सबैले अनुभव गरेकै कुरा हो, मनसुनको समयमा भौतिक पूर्वाधार निर्माणको काम गुणस्तरीय हुन सक्दैन। निर्माणका कामका लागि निर्माण सामग्रीको गुणस्तर, कामदारको सीप र तापक्रमको अनुकूलता बिच सन्तुलन मिल्न सक्दैन। वर्षातको समयमा गरिने काममा एक त वर्षात्ले काम गर्न असहज बनाउँछ। दौस्रो तापक्रम घटबढ भइरहने भएकाले सिमेन्ट लगायतका रसायन प्रयोग हुने निर्माणको काममा उक्त रसायन राम्रोसँग सेट हुन पाउँदैन। वर्षाले माटो बगाउने, ग्य्राभल बगाउने वा कालोपत्रे जम्न नपाउनेजस्ता समस्याले असार महिनाको काम गुणस्तरीय हुन सक्दैन। अपजस मात्र कमाउँछ। यति कुरा सर्वसाधारणले राम्रोसँग बुझेका छन्।

बजेट प्रणाली हेर्दा आगामी आर्थिक वर्षको वजेट अघिल्लो वर्षमै स्वीकृत भइसक्नु पर्ने कानुनी व्यवस्था छ। तीनै तहका सरकारबाट आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको असार महिनाभित्रै स्वीकृत भइसक्छन्। यस किसिमको व्यवस्थाले नयाँ आर्थिक वर्षको बजेटलाई उक्त आर्थिक वर्षको साउनदेखि नै कार्यान्वयन गर्न सक्ने अनुकूलता छ। यसरी हेर्दा वार्षिक विकास कार्यक्रम कार्यान्वयन गर्दै जाँदा एक वर्षभित्र सम्पन्न हुने गरी निर्धारित आयोजना÷परियोजनाका क्रियाकलाप ढिलोमा जेठ महिनाभित्रै सहजै सम्पन्न गर्न सकिन्छ। बहुवर्षीय योजनाको हकमा मात्र असारमा केही क्रियाकलाप गर्नुपर्ने बाध्यता रहन्छ। समयका हिसाबले मनसुनको चढ्दो समयमा भौतिक पूर्वाधारका काम गर्न अनुकूल समय पक्कै होइन। तर पनि तीनै तहका सरकारका वार्षिक विकास कार्यक्रम अन्तर्गतका आयोजना÷परियोजनाको चाप सोही समयमै गरेको छ। सालसालै विकासले रुझ्नैपर्ने नियति बनेको छ।

अघिल्लो आर्थिक वर्षको असार महिनामा स्वीकृत भएको बजेटलाई आगामी आर्थिक वर्षको साउनदेखि कार्यान्वयन गर्नुपर्छ। कार्यतालिका बनाएर त्यसमा अडिग रहँदै विकासका काम गर्दै जाने हो भने वर्षात्मा विकासको स्वाभाविक चाप मात्र पर्न जान्छ।

सबैलाई थाहा भएकै कुरा हो, थोरै समयमा कामको धेरै चाप पर्दा सामग्रीको गुणस्तर, श्रममा दक्षता र समयको अनुकूलता कायम रहन सक्दैन। प्राविधिकले निरीक्षण गर्ने काम पनि भ्याउन सम्भव हँुदैन। मनसुनको समय आर्थिक वर्ष सकिने समय हो। यो समयमा कामको चाप बढ्दा विकास निर्माणका कामको गुणस्तर कायम हुन सक्दैन। यस्तो अवस्था जान्दा जान्दै पनि वर्षा सुरु भएसँगै भौतिक निर्माणको कामलाई तीव्रता दिनुलाई विकासको बिडम्बनापूर्ण नियति भन्न पर्ने अवस्था छ। वर्षात्मा गरिने विकास गुणस्तरीय हँुदैन भन्ने तथ्य अध्ययन, अनुसन्धान वा अवलोकनबाट छर्लंग हुन्छ। तथापि वर्षात्मै निर्माणका काम गर्न रुचाउनुलाई अनेक आशंकाले हेर्नुपर्ने हुन्छ। यसपालि पनि जेठ मसान्तसम्म कामको प्रगति र खर्चको प्रतिशत आधाभन्दा कम रहेकोमा असारमा आएर खर्चको ग्राफ स्वाठ्ठै माथि गएको देखियो।

वास्तवमा मुलुक संघीय ढाँचाको शासन प्रणालीमा गएपछि तीनै तहमा गरेर झन्डै चालीस हजार निर्वाचित जनप्रतिनिधि सरकारी जिम्मेवारीमा संलग्न हुँदा उहाँहरूले समयलाई केन्द्रमा राखेर हरेक क्रियाकलाप समयमै गर्ने अपेक्षा गरिएको हो। विकासले अब रुझ्न पर्दैन भन्ने ठानिएको हो। तर जनप्रतिनिधिको बाक्लो उपस्थितिमा पनि वर्षामा विकासका काम गर्ने क्रम जारी छ। यस पटक पनि असारे विकासका व्यंग्यात्मक कथाहरू सञ्चारमाध्यमबाट प्रशस्त सम्प्रेषण भए। विकासका काम यसरी वर्षात्मा हुनु लज्जाको विषय हो। यसमा सुधार हुनै पर्छ। अघिल्लो आर्थिक वर्षको असार महिनामा स्वीकृत भएको बजेटलाई आगामी आर्थिक वर्षको साउनदेखि कार्यान्वयन गर्नुपर्छ। कार्यतालिका बनाएर त्यसमा अडिग रहँदै विकासका काम गर्दै जाने हो भने वर्षात्मा विकासको स्वाभाविक चाप मात्र पर्न जान्छ। विशेष चर्चाको स्थिति बन्ने अवस्था हुँदैन। यसबाट असारे विकासको आरोपबाट मुक्त हुन सकिन्छ।

यसरी कार्यान्वयन कार्यतालिकाको तरिकाबाट विकास व्यवस्थापन गर्दा त्यस्तो कार्यतालिकामा कसले–के–कहिले गर्ने भन्ने स्पष्ट उल्लेख हुने भएकाले त्यसले पदाधिकारीलाई जिम्मेवार र जवाफदेही बनाउनुपर्छ। र मात्र विकासमा समय व्यवस्थापन सन्तुलित बन्न जान्छ। विधि वा तरिकाले बदल्न सक्ने अवस्था भएर पनि सुधार हुन नसक्नु चिन्ताको विषय हो। अनुगमन तथा मूल्यांकन विधिबाट निरुत्साहित गर्दै लग्नपर्नेमा पटक्कै ध्यान दिएको पाइँदैन। गर्दा गर्दा त सरकारी निकायका तालिम, गोष्ठी, सेमिनारजस्ता सफ्ट प्रोग्राम पनि असार महिनामा गर्ने परिपाटी बढ्दै गएको छ। सधैं असारे विकासको नमिठो सन्दर्भ पढिरहने वा सुनिरहने तर सुधारको प्रयत्न नगर्ने हो भने विकासको गुणात्मक पक्ष सधैं ओझेल परिरहन्छ। जबसम्म गुणात्मक पक्षलाई हामीले आत्मसात गर्न सक्दैनौं, तबसम्म हाम्रो समृद्धिको आकांक्षालाई फलिभूत पार्न सकिँदैन।

सैद्धान्तिक रूपमा के भनिन्छ भने जिम्मेवारीमा रहेका पदाधिकारीमध्ये एकथरी हिजो जसरी चलेको छ आज पनि त्यसरी नै चलाउने खालका हुन्छन्। अर्कोथरी योजना बनाएर अघि बढ्छन्। तेस्रोथरी भने योजना र प्राथमिकताका साथ अघि बढ्छन्। उल्लेखित तीन प्रकारमध्ये योजना र प्राथमिकताका साथ कार्यसम्पादन गर्ने नेतृत्वलाई राम्रो मानिन्छ। विकासका कामलाई असारमा पुर्‍याएर समयको चापमा कमसल कामलाई पनि दबाब र प्रभावको आडमा सम्पन्न भएको बनाउने क्रम हिजोभन्दा आज झन् चर्को हँुदै जानुलाई वर्तमान नेतृत्व हिजो जसरी चलेको थियो आज पनि त्यसरी नै चलाउने श्रेणीको छ भन्नुपर्ने हुन्छ। जुन प्रिय होइन। अतः विकासलाई रुझ्नबाट बचाउनु पर्छ। गुणस्तरीय विकास गरेर समृद्धिको उचाई हासिल गर्दै जानुपर्छ। यसनिमित्त तीनै तहका सरकार गम्भीर हुन अनिवार्य छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.