घरजग्गाले डुबे सहकारी

घरजग्गाले डुबे सहकारी

काठमाडौं। घरजग्गा कारोबारमा संलग्न अधिकांश सहकारी धराशायी भएका छन्। एक दशक अघिदेखि सर्वाधिक चर्चामा रहेको ओरेन्टल सहकारीदेखि पछिल्लो सिभिल सहकारी संस्थाको पृष्ठभूमि केलाउँदा धराशायी हुनुमा घरजग्गा कारोबार नै रहेको प्रष्ट हुन्छ। तर अधिकांश सहकारीको ध्यान घरजग्गा कारोबारमै छ। काठमाडौं उपत्यकाका अधिकांश सहकारीले घरजग्गा क्षेत्रमै कारोबार गर्दै आएका छन्। 

सहकारी विभागका अनुसार ३० हजार सहकारी छन्। त्यसमध्ये आधाभन्दा बढी बचत तथा ऋण सहकारीका छन्। बचतसँगै बहुउद्देश्यीय तथा कृषि नाम जोडिएर गठन भएका सहकारीले अन्धाधुन्ध घरजग्गा क्षेत्रमै कारोबार गरिरहेका छन्। सतहमा नआएका अधिकांश सहकारीमा पनि समस्या देखिएको छ। 
खासगरी काठमाडौं उपत्यकालगायतका प्रमुख सहरका सहकारी घरजग्गा कारोबारमा संलग्न भएको पाइएको छ। अवैधानिक र अप्रत्यक्षरूपमा घरजग्गा क्षेत्रमा कारोबार गर्दै आएका सहकारी पछिल्लो समयमा खुलेआम घरजग्गामै केन्द्रित भएका छन्। 

ललितपुरको पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड जथाभावी घरजग्गामा लगानी गर्दा धराशायी भएको हो। सञ्चालकले कानुनविपरीत घरजग्गामा लगानी गर्दा संस्था संकटमा परेको सदस्यहरू बताउँछन्। लाखौं सदस्यले निक्षेप फिर्ता पाउन सकेका छैनन्।

लामो समयदेखि संकटमा परेको सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभले समेत निक्षेप फिर्ता गर्न सकेको छैन। केही सदस्यलाई हाउजिङ दिने घोषणा गरेपनि अझै पाउन सकेका छैनन्। यो संस्था जोखिममा पुग्नुको मुख्य कारण आफैं साहु र आफैं ऋणी भएर हो। सिभिल समूहकै संस्थापकका परियोजनामा कर्जाको ९० प्रतिशतभन्दा बढी लगानी गरेका कारण सहकारी जोखिममा छ।

८ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा सिभिल ग्रुपका संस्थापक इच्छाराज तामाङका तीनवटा व्यवसायमा ७ खर्बभन्दा बढी लगानी छ। ग्रुपले ब्याजसमेत नतिरी पुँजीकरण गर्दै लगेको छ। अधिकांश रकम रियल स्टेट व्यवसाय, त्यो पनि आफ्नै कम्पनीमा लगानी गर्दा सिभिल धराशायी बनेको हो। सिभिलले सर्वसाधारणको निक्षेप बटुलेर आफ्नो व्यापारमा अर्बौं प्रयोग गर्दा सहकारी धराशायी भएको हो। 

ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठले संस्थाबाट ६० करोड रकम ऋण लिएर घरजग्गामै लगाएका कारण संस्था डुबेको छ। ७० करोड ऋण प्रवाह भएकोमा अध्यक्ष श्रेष्ठले ६० करोड रकम हिनामिना गरेपछि सर्वसाधारणको ८० करोड निक्षेप जोखिममा परेको छ। श्रेष्ठ टेक्सटायल उद्योगी पनि हुन्। उनले सहकारीको पैसा घरजग्गामा लगाएका कारण संस्थाले निक्षेपकर्ताको पैसा तिर्न सकेको छैन। 

२०६५ सालदेखि सञ्चालनमा आएको आनन्दनगर बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष शम्भुराज आचार्य, सचिव प्रदीप पौडेल, सञ्चालक केशवराज घिमिरेलगायतले घरजग्गामा लगानी गरेका कारण संस्था धराशायी बनेको छ। घरजग्गाकै लागि धितो नराखी ३ करोडसम्म ऋण प्रवाह देखिन्छ। ऋण लगानी गर्दा सानोदेखि ठूलो रकम बिनाधितोका साथै पदाधिकारीले नै मनोमानी ढंगले जग्गा, जमिनमा लगानी गरेका कारण संस्था डुबेको छ। संस्थाका सञ्चालक तथा सदस्यले चितवन, तनहुँ, काभ्रेमा समेत घरजग्गा कारोबार गरेको पाइएको छ। आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर ऋण प्रवाह गरेको भेटिएको छ। 

ओरेन्टल सहकारीले ७ हजारभन्दा बढी निक्षेपकर्तालाई अझै रुवाइरहेको छ। समस्याग्रस्त सहकारी घोषित भएपनि सर्वोच्च अदालतको अनौठो फैसलाका कारण ओरेन्टलका सहकारीले निक्षेप फिर्ता पाएका छैनन्। केहीले घरजग्गा लिन मञ्जुर गरे पनि अनावश्यक भ्यालुएसन गरेर आधा रकम थप्न लगाएर लुटिरहेको सदस्यहरू बताउँछन्। अध्यक्ष सुधीर बस्नेतले सहकारीको रकम घरजग्गामा लगाएका कारण सहकारी धराशायी भएर अझै पनि तंग्रिन सकेको छैन। 
ओरेन्टल, गुडविल, आनन्दनगर, पशुपति र सिभिल उदाहरण मात्र हुन्। सहकारी विभागका उपरजिष्ट्रार सुरेन्द्रराज पौडेलले सदस्यका बचतको पैसा सहकारीले अन्धाधुन्ध प्रयोग गर्न नपाउने बताउँछन्। तर अधिकांश सहकारी आफैं मात्र नभई सदस्यलाई घरजग्गाकै लागि जथाभावी लगानी गरेका कारण चरम संकटमा छन्। कमजोर नियमनका कारण सहकारीले घरजग्गामा कारोबार गर्न छोडेका छैनन्। अझ झन् पछिल्लो समयमा वैधानिकरूपमा घरघग्गा कारोबारमा हौसिएका छन्। 

सहकारी ऐन २०७४ ले विशिष्टीकृत सहकारी संघ गठन गरेर सहकारीलाई लगानी गर्ने अवसर दिएको छ। उत्पादनशील क्षेत्रमा सहकारीको लगानी आकर्षित गर्न विशिष्टिकृत सहकारी संघको प्रावधान ल्याएपनि अधिकांश सहकारी जरघग्गा कारोबारमा उत्साहित भएका छन्। कृषि उत्पादन तथा बजारीकरणमा सहकारी जानुपर्ने भएपनि त्यसमा खासै चासो छैन। तर आवास क्षेत्रमा काम गर्न सहकारी उत्साहित भएर लागेका छन्। 

केही दिनअघि मात्रै राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष दीपकप्रकाश बाँस्कोटाको अध्यक्षतामा महामञ्जुश्री आवास सहकारी संघ दर्ता भएको छ। यसअघि काभ्रेको बिन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रदीप थापाको अध्यक्षतामा राष्ट्रिय समृद्ध आवास विशिष्टिकृत सहकारी संघ गठन भएको छ। यस्तै आवास क्षेत्रमै काम गर्नका लागि काठमाडौंकै अन्य सहकारीले विशिष्टिकृत सहकारी संघको तयारी गरेको बुझिएको छ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्यालले विशिष्टिकृत सहकारी संघको नाममा गैरवित्तीय क्षेत्रमा वित्तीय सहकारीले कामै गर्न नहुने बताउँछन्। ‘नीतिगतरूपमा राम्रो होइन’उनले भने, ‘यो वित्तीय अनुशासन विपरीत हो।’

सहकारीले १० खर्बको कारोबार गर्दै आएका छन्। नेपाल कृषि प्रधान देश भएपनि संस्थागतरूपमा कृषि तथा पशुपालन क्षेत्रमा सहकारीले लगानी गरेको छैन। संस्थाबाट ऋण लिएर सदस्यले पनि कृषिमा भन्दा घरजग्गालगायत अन्य क्षेत्रमा लगानी गरिरहेका छन्। सहकारीलाई कृषिलगायत उत्पादनमूलक क्षेत्रमा कर्जा अनिवार्य लगानीको व्यवस्था गरिएको छैन। 
ऐन तथा नियमावलीमा विशिष्टिकृत संघको अवाधारणा राखिएपछि उक्त प्रावधानको फाइदा उठाउँदै धमाधम आवास विशिष्टिकृत संघ स्थापना हुन थालेका छन्।

सहकारी ऐन २०७४ को दफा १२५ मा भएको व्यवस्था अनुसार सहकारी संस्थाले कार्यक्षेत्र बाहिर गई कारोबार गरेमा वा गैरसदस्य कारोबार गरेमा तथा सहकारी संस्थाले ऐनविपरीत कृत्रिम व्यक्तिलाई सदस्यता दिएमा पाँच लाखसम्म जरिवाना हुने व्यवस्था छ। नेफ्स्कुनले विशिष्टिकृत संघमा लगानी गर्दा उक्त प्रावधानअनुसार जरिवाना नहुने कानुनी वातावरण तयार भएपछि लगानी गर्नुपर्ने जनाएको थियो। 

बचत सहकारीले विशिष्टिकृत संघमा लगानी गर्नुअघि साधारणसभाबाट स्वीकृति योजनाअनुसार मात्र गर्नुपर्ने भएपनि अधिकांश सहकारीले त्यसो गरेको पाइँदैन। सञ्चालक समितिले मात्रै छलफल गरी निक्षेपकर्ताको पैसा जथाभावी घरजग्गामा हाल्दा सहकारीमा झन् विकराल समस्या आउने देखिएको छ। नेफ्स्कुनले बचत तथा ऋण सहकारीलाई घरजग्गाजस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्न बन्देज लगाएपनि सयौं बचत सहकारी घरजग्गा कारोबारमा जोडिएका छन्। 

संस्थाको प्राथमिक पुँजी कोष र बचत अनुपात कम्तीमा एक बराबर १५ कायम गरी जगेडा कोष सेयरबाट मात्र लगानी गर्नुपर्ने प्रावधान भएपनि सहकारीले मनलाग्दी घरजग्गामा कारोबार गरिरहेका छन्। विशिष्टिकृत संघमा लगानी गर्दा जगेडा कोषको ०.५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाइने व्यवस्था भएपनि त्यसो नगरेको पाइएको छ। 
गौरीबहादुर कार्की आयोग २०७१ का अनुसार १ सय ५२ वटा सहकारी समस्यामा थिए। तीमध्ये समस्या केलाउँदै जाँदा घरजग्गा कारोबारकै कारण धराशायी भएको पाइएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.