गाउँको केरा डाक्टर
प्रत्येक बिहान उठ्नु
घरबाट उकालो निस्कनु
टुप्पोमा रहेको गवारो निकालिदिनु
उसको पहिलो गुन
काम पर्दा ठुलो खुकुरी भिर्नु
सुरिलो रुखमा चढ्नु
टुप्पोसम्म पुगेर हाँगा छाँस्नु
बाँस काटेर मान्द्रो बुन्नु
अन्न राख्ने भकारी बनाउनु
वर्षा लागेपछि घुम बुन्नु
र बुनेको सीप सुटुक्क
मन परेको मान्छेलाई दिनु
उसको काम हो
आमा बितेपछि खैनी खानु
रक्सी–जाँडको लत बस्नु
बाँसको चोइटा टक्टर टक्टर बजाउनु
त्यसमै मनको बह पोखाउनु
डोको र सरङ बुनेर
सात–आठ पोका खैनीमा साट्नु
उसको व्यापार हो
पुछारदेखि सिरान घरसम्म
नियमित उक्लनु र ओर्लनु
कसैको आँगनसम्म, कसैको सिकुवासम्म
कसैको घरभित्रै पसेर अलि अलि हाँस्नु
उसको दोस्रो काम हो
खुकुरी र कर्द उसको सम्पत्ति
बाँसको टक्टरे उसको बाजा
केही समय अगाडि
कर्द हराएर खोज्दै जाँदा
एक वर्ष आफैँ हराउनु
ऊ फर्किएपछि उसकी आमा बित्नु
उसको भोगाइ हो
ऊ कान पटक्कै सुन्दैन
आँखा देख्छ, मुख पटक्कै लाग्दैन
तर उसलाई जति गाउँमा
कसैलाई थाहा छैन
कहाँ के हुँदैछ भनेर
कसैको घरमा कार्जे भए
पहिलो जानकारी उसलाई हुन्छ
कसैको घरमा बिहेवारी भए
सबैभन्दा पहिले ऊ नाँच्छ
कसैले गीत गाए
सबैभन्दा पहिलो ताली उसैले बजाउँछ
ताल–सुरको के मतलव
ऊ शुक्रे लाटा हो
ऊ खोला जाँदैन, ऊ खेतमा पस्दैन
टाढा भन्नू माथिल्लो गाउँ
हाङ्गे निस्कनु पारि गाउँ
चोखुम तर्नु उसको परदेश
ऊ बारीको झार जान्दैन
ऊ मागेर पनि खाँदैन
उकाली चढ्छ, ओराली झर्छ
खै के गर्छ ? के गर्छ ?
न भोकले मर्छ, न तिर्खाउँछ
केटाकेटीलाई तर्साउँछ
आफ्ना सीप त्यहीँ बर्साउँछ
र त धानेको छ जीवन
गाउँको मणि हो शुक्रे लाटा
अर्थात् गाउँको केरा डाक्टर।