स्व. गुप्त पुरस्कार साहित्यकार पाण्डेलाई
नेपालगन्ज: बाँकेका पहिलो पत्रकार स्व. महावीरप्रसाद गुप्तको नाममा स्थापना गरिएको हिन्दी साहित्यिक पुरस्कार कवयित्री कृष्णादेवी पाण्डेलाई प्रदान गरिएको छ।
महावीरप्रसाद गुप्त हिन्दी साहित्य पुरस्कार समिति नेपालगन्जले स्व. गुप्तको ९५औं जन्म जयन्तीको अवसरमा शनिबार नेपालगन्जमा आयोजित कार्यक्रममा दुई हजार पाँच सय नगदसहित पाण्डेलाई पुरस्कृत गरिएको हो ।
स्व. गुप्तले २००८ सालमा ‘नइ सन्देश’नामक हस्तलिखित पत्रिका प्रकाशित गरेर जिल्लामा पत्रकारिताको जग हालेका थिए । २०११ सालमा उनले हिन्दी भाषाको ‘नयाँ सन्देश’पाक्षिक पत्रिका प्रकाशित गरेका थिए । त्यसपछि मात्र जिल्लामा अन्य पत्रिका प्रकाशित भएका थिए ।
पुरस्कार वितरण समारोहमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव सनत रेग्मी, अवधि साहित्यकारद्वय सच्चिदानन्द चोबे र विष्णुलाल कुम्हालले स्व.गुप्तले जिल्लामा पत्रकारिता, साहित्य र समाजसेवाका क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै स्मरण गरेका थिए ।