‘सी’को सन्देश र परिवेश
चीनका राष्ट्रपति सी चिनफिङले हालै विश्वका राजनीतिक दललाई दुई चरणमा सन्देश दिए। १ जुलाईमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) स्थापनाको सतवार्षिकी समारोहको भव्यतासँगै उनको गौरवपूर्ण मन्तव्यबाट विश्वभर स्वतः प्रवाहित सन्देश एउटा थियो भने ६ जुलाईमा भर्चुअल कार्यक्रममार्फत १ सय ६० भन्दा बढी मुलुकका राजनीतिक दलहरूका लागि सम्प्रेषित सन्देश अर्को थियो। यी दुवै सन्देशले देशको समुन्नतिका लागि राजनीतिक दलको भूमिका कति अहं हुनेरहेछ भन्ने तथ्यलाई गजबसँग प्रष्ट्याएको छ। ‘जनताका लागि खुसी : राजनीतिक पार्टीहरूको दायित्व’ विषयक भर्चुअल कार्यक्रममा जनतामा खुसी ल्याउने दायित्व राजनीतिक दलहरूको भएकाले दलहरू जनताप्रति उत्तरदायी हुनुपर्ने र मानवजातिको हीतमा काम गर्नुपर्ने सुझाव सीले सहभागी नेताहरूलाई दिएका थिए।
१ जुलाई १९२१ मा स्थापना भएर अभूतपूर्व सफलता हासिल गर्दै जनताको प्रिय पार्टीको रूपमा अविचलित निष्ठा कायम गरिरहेको विश्वकै ठूलो पार्टी सीपीसीले अहिले सबैको ध्यान आकृष्ट गरिरहेको छ। राजनीतिक प्रणाली एकदलीय अधिनायकत्व भए पनि उसको मुख्य लक्ष्य देश र जनताको भलाइप्रति मुखरित रहन्छ भने जनताको साथभरोसा टुट्दैन भन्ने दृष्टान्त सीपीसीको गौरवशाली सय वर्षले पेश गरेको छ। स्थापनापछि अनेकौं उतारचढाव झेलेको सीपीसीको सुरुआती अवस्था सुखद् थिएन। पार्टी स्थापनाको लामो समयसम्म कमजोर आर्थिक अवस्थाका कारण अभाव र भोकमरीबाट चिनियाँ जनता पिल्सिरहे। सन् १९२७ मा पार्टीअन्तर्गत गठन गरिएको जनमुक्ति सेनाले बाह्य आक्रमणका साथै तत्कालीन शासक चियाङ् काई सेकको सेना तथा कम्युनिष्ट पार्टीविरुद्धका विद्रोहलाई परास्त गर्न ठूलो कसरत गर्नुपर्यो। सोभियत रुसभन्दा चार वर्ष पछाडि चीनमा कम्युनिष्ट पार्टी उदय भएकाले सुरुआती दशकहरूमा चीन रुसको कम्युनिष्ट आदर्शबाटै परिचालित हुनु अस्वाभाविक थिएन। तर, समयक्रममा सीसीपीले आफूलाई देशको परिवेश अनुसार सुधार गर्दै लग्यो। शास्त्रीय साम्यवादबाट माथि उठेर सुधारात्मक कदम चाल्ने तत्परता माओकै नेतृत्वकालबाट सुरु भएको थियो। मुलुकको तत्कालीन नाजुक स्थितिबाट मुलुकलाई उन्मुक्ति दिनकै लागि पुँजीवादको जननी मानिने अमेरिकासँग नयाँ आयामको सम्बन्ध अध्यक्ष माओले नै थालनी गरेका थिए।
उनी पछि १९७८ देखि नेतृत्व सम्हालेका अर्का नेता देङ सियाओ पिङले सन् १९८० देखि खुलापन र उदार अर्थतन्त्रलाई जसरी आत्मसात गरे उनीपछिका नेताले पनि त्यो शैलीलाई डगमग हुन दिएनन्। चिनियाँ जनता लोकतन्त्रका लागि विद्रोहमा उत्रिनेछन् भन्ने दाउमा बसेका पश्चिमी मुलुकहरूले चीनमा ठूलाठूला लगानी गरे। राजनीतिक सिद्धान्तलाई खुकुलो बनाउँदै लगे पनि समाजवादी व्यवस्थाबाट चीन पछि हटेन। बजारमुखी समाजवादी व्यवस्थाको नाममा अन्य विकसित मुलुकका ज्ञानसीप र प्रविधिलाई अवलम्बन गर्दै त्यसलाई आफ्नो परिवेशअनुकूल प्रयोग गरेर समृद्धिको यात्रातर्फ चीन निरन्तर लम्किरहेको छ। अबको एक डेढ दसकभित्र सम्पन्न, आधुनिक र शक्तिशाली मुलुक बनेर विश्वको नेतृत्व गर्ने एक मात्र ध्येयतर्फ चीन केन्द्रित भइरहेको छ।
सीपीसी गठन भएदेखि आजको चीन बन्न धेरै चिनियाँ नेताहरूको अथक योगदान मिसिएको छ। वर्तमान राष्ट्रपति सी चिनफिङले पनि अवसरले दिएको सोही खाले अविभारालाई कुशलतापूर्वक निर्वाह गरिरहेका छन्। जसका कारण सय वर्षे सीपीसीको इतिहासमा माओयुग, देङयुगसरह सीयुगको अस्तित्वसमेत चुलिइसकेको छ। नोभेम्वर २०१२ देखि पार्टी महासचिव र मार्च २०१३ देखि राष्ट्रपतिको भूमिकामा रहेका सी केन्द्रीय सैन्य आयोगका अध्यक्ष तथा सेनाका प्रधानसेनापति समेत रहेकाले उनीसँग अथाह शक्ति केन्द्रिकृत छ। १७ मार्च २०१८ मा बसेको चिनियाँ संसद्ले सीलाई दोस्रो कार्यकालको राष्ट्रपतिमा निर्वाचित गर्दा पक्षमा २ हजार ९ सय ६९ र विपक्षमा १ मत पर्नुले उनको सर्वस्वीकार्य हैसियतलाई प्रष्ट गर्दछ।
अक्टुवर २०१७ मा आयोजित पार्टीको १९औं महाधिवेशनले ‘आधुनिक युगको माटो सुहाउँदो चिनियाँ समाजवाद’लाई ‘सी विचारधारा’ का रूपमा पार्टीको विधानमै वैधानिकता दिइसकेको छ। उत्पादन निर्यातमा विश्वव्यापी वर्चस्व जमाइसकेको चीन अब ‘विचार’ निर्यातमा समेत अग्रसर भइरहेको छ। करिब ९ सय अर्ब डलरको अन्तरमहादेशीय महायोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई), सीको परिकल्पनामा चीनले अघि सारेको महत्वाकांक्षी योजना त हुँदै हो, यसमार्फत ‘सी विचारधारा’ फैलाउने उपक्रमसमेत सुरु भइसकेको छ। सबै मुद्दामा विश्वलाई नेतृत्व दिनसक्ने स्थितिको आकलनपछि विचार निर्र्यातका लागिसमेत सीको आत्मविश्वास बढेको प्रष्टै छ। यति धेरै शक्ति र क्षमता एकत्रित हुँदा पनि सीले शक्तिलाई दुरूपयोग भने गरेका छैनन् न त उनीभित्र दम्भ र अहंकारी प्रवृत्ति नै देखिन्छ। भ्रष्टाचार नियन्त्रण र गरिबी निवारणका लागि सीको आक्रामक नीति र प्राप्त उपलब्धिले जनतामाझ उनी उत्तिकै लोकप्रिय छन्। पार्टीका नेता र कार्यकर्तालाई जनतासँग नजिकको सम्बन्ध राख्न हरबखत उत्प्रेरित गरिरहने र आफैंसमेत विभिन्न गाउँ पुगेर दुःखी गरिब स्थानीयसँग एकाकार हुने गरेका खबरहरू सञ्चारमा आइरहेका हुन्छन्। करिब ९५ प्रतिशत जनता चिनियाँ सरकारसँग सन्तुष्ट रहेको अध्ययन प्रतिवेदन चीनको प्रगतिमा बेचैन महसुस गर्ने अमेरिकाकै युनिभर्सिटीले सार्वजनिक गरिरहेको छ।
छिमेकी देशले मुलुक र जनताको स्तरोन्नतिमा यति ठूलो छलाङ मारिसक्दा नेपालका दलहरू भने यी सबैबाट अनभिज्ञझैं देखिन्छन्। जस जति आफू र अपजस अरूको टाउकोतर्फ पन्छाउने प्रवृत्तिले समस्या निम्त्याएको देखिन्छ। समाजवादी सिद्धान्त जबरजस्ती बोकिरहनु परेको सकस अधिकांश नेताहरूको भड्किलो जीवनशैली र ढोगी चरित्रबाट स्वतः प्रष्टिन्छ। पछिल्लो समयमा नेताहरूभित्र मौलाएको चारित्रिक विचलन र एकअर्कालाई दुत्कार्ने निम्नस्तरीय प्रवृत्ति र गालीगलौज अझ बढी क्षोभको विषय बनिरहेको छ। चीनले गरेको विकास र प्रगतिको लयलाई सत्ताको नेतृत्वमा रहने कसैले पनि पछ्याउन सकेनन्।