नाइजेरियामा २८ अपहरित बालबालिका रिहा
नाइजर: नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट जुलाइको सुरुमा अपहरणमा परेका स्कुले बालबालिकामध्ये २८ जना मुक्त भएका छन् ।
हतियारधारी समूहले अपहरण गरेका १२१ मध्ये २८ जनालाई आइतबार रिहा गरिदिएको हो । कदुना राज्यस्थित बेथेल बेप्टिस्ट हाइ स्कुलका १२१ बालबालिकालाई हतियारधारी समूहले जुलाइ ५ मा बन्धक बनाइराखेको थियो ।
नाइजेरियामा पछिल्लो समय भएका अपहरणमध्ये यस अपहरण ठूलो मानिएको छ । नाइजेरियाको उत्तरी क्षेत्रमा पछिल्लो समय लुटपाट, अपहरण, हत्या जस्ता हिंसात्मक गतिविधि तिब्र हुँदैगरेका छन् ।
स्थानीय अधिकारी जोसेफ हायाबका अनुसार रिहा भएका २८ बालबालिकाले आइतबार आफ्ना अभिभावकसँग भेट गरी खुसी साटेका थिए ।
अधिकारीका अनुसार ती बन्दी बनाइएका बालबालिकालाई अघिल्लो दिन शनिबार नै रिहा गरिएको थियो । तर ती स्कुले बालिकामध्ये हालसम्म ३४ बालबालिका रिहा भइसकेका छन् भने थप ८७ जना अझै हतियारधारी समूहकै कब्जामा छन् । पाँच जना बालबालिका भने जुलाइ २१ मा अपहरणकारीको कब्जाबाट भाग्न सफल भएका थिए ।