गाउँपालिकाद्वारा सबैको निःशुल्क स्वास्थ्य बिमा
स्याङ्जा : कालीगण्डकी गाउँपालिकाले सबै स्थानीयवासीको स्वास्थ्य बिमा गरिदिने भएको छ। ‘निरोगी कालीगण्डकी कार्यक्रम’अन्तर्गत यहाँका नागरिकले निःशुल्क स्वास्थ्य बिमाको सुविधा उपभोग गर्न पाउने भएका हुन्। आर्थिक वर्ष २०८७/८९ को नीति तथा कार्यक्रममा समावेश यो कार्यक्रमलाई गाउँसभाले पारित गरेको छ। सोहीबमोजिम ३२ वर्षीया बुद्धिकला दमाईको स्वास्थ्य बिमा गरिएको छ।
स्वास्थ्य बिमाबापतको वार्षिक प्रतिपरिवारको १ लाख रुपैयाँ गाउँपालिकाले तिर्ने भएपछि स्थानीयवासी बिमितले पाउने सेवासुबिधा निःशुल्क पाउनेछन्। दलित र एकल महिलाबाट सुरु गरिएको स्वास्थ्य बिमाको सुविधा असोजसम्म सबै परिवारमा पुर्याउने गरी काम अघि बढेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए।
‘गाउँपालिकाका झन्डै ४ हजार ७ सय घरधुरी रहेको र उनीहरूका लागि २ करोड वार्षिक खर्च आउँछ’, अध्यक्ष थापाले भने, ‘यो सबै आन्तरिक स्रोतबाट व्यवस्थापन गर्छौं।’ २०६८ को जनसंख्या विवरणअनुसार यो गाउँपालिकामा २२ हजार ७ सय २५ जना छन्। तर, अहिले झन्डै २८ हजार पुगेको गाउँपालिकाले जनाएकोे छ।
स्वास्थ्य बिमाले ५ जनाको परिवारलाई एउटा एकाइ मानेको छ। पाँच जनाभन्दा बढी सदस्य रहेको हकमा प्रतिव्यक्ति थप ७ सय रुपैयाँ थप गर्नुपर्छ। कार्यक्रमअन्तर्गत प्रत्येक नागरिकले सूचीकृत अस्पतालबाट १ लाखसम्मको उपचारका लागि खर्च गर्नुपर्दैन।