सांसदको लोभलाग्दो कृषिकर्म

सांसदको लोभलाग्दो कृषिकर्म

विराटनगर : चुमनारायण तबदार प्रदेश १ का प्रदेशसभा सदस्य हुन्। राजनीतिसँगै प्रदेश सांसद तबदारले गरिरहेको कृषकर्म निकै लोभलाग्दो छ। 

उनले मोरङको बूढीगंगा गाउँपालिका–६ मा गरिरहेको भुरा उत्पादनले माछाका भुरामा भारतीय परनिर्भरता हटाउन मद्दत पुगिरहेको छ। ‘व्यावसायिक रूपमा माछा पालन गर्न थालिए पनि भुरामा भारतको भर पर्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘त्यो अवस्था हटाएर पूर्वका किसानलाई आत्मनिर्भर बनाउन भुरा उत्पादन थालिएको हो।’ 

तबदारले २०७१ सालबाट विराट कमर्सियल एग्रीकलचर एण्ड इन्भारमेन्ट प्रालिमार्फत विभिन्न प्राजातिका भुरा उत्पादन गरिरहेको जानकारी दिए। उनका अनुसार भारतीय भुराले उत्पादन सन्तोषजनक नभइरहेको र माछाको विकास पनि सोचेजस्तो नभएपछि कृषकले घाटा बेहोर्नु परिरहेको थियो। 

तबदारले माछा हेचरी केन्द्रका लागि मात्रै सरकारको १५ लाखसहित ३५ लाख रूपैयाँ लगानी गरेका छन्। उनले आफ्नो फार्ममार्फत व्यवसायिक रूपमा सुरु गरेको माछा, बंगुर, बाख्रा र कुखुरापालन तथा कागती खेती निकै लोभलाग्दो छ। माछा विज्ञ नै राखेर फार्म सञ्चालन गरिरहेका उनले त्यहाँबाट सबै प्रजातिका माछाका भुरा किसानलाई सहज रूपमा उपलब्ध भइरहेको बताए। 

‘कोरोना महामारीमा कृषकको माग धान्न सकिएन,’ तबदार भन्छन्, ‘पोखरीको क्षेत्रफल बढाएर भुरा उत्पादनका लागि लगानी थप्ने योजनामा छु।’ उनले यसवर्ष मात्रै ३० लाख भुरा उत्पादन गरिएको जानकारी दिए। फार्मनजिक जग्गा भाडामा लिएर दुई करोड रूपैयाँ लगानी थप गर्दै डेढ बिघा क्षेत्रफलमा पोखरी विस्तार गर्न लागिएको उनको भनाइ छ। 

आवश्यकताअनुसार सरकारले अनुदान नदिँदा भने कृषि फार्म विस्तारमा समस्या भइरहेको तबदारले बताए। जसका कारण कृषिमा नेपाल आत्मनिर्भर बन्न नसकेको उनको तर्क छ। ‘फार्म खोलेको ठाउँमा बिजुली पाउन नै ४ वर्ष लाग्यो,’ उनले भने, ‘गतवर्ष मात्रै हेचरी केन्द्रका लागि सरकारबाट १५ लाख अनुदान पाएँ।’ एक वर्ष पाउँदा अर्को वर्ष नदिने सरकारी नीतिका कारण अब आफै लगानी थप गर्ने सोचमा रहेको जानकारी उनले दिए। तबदारले ‘डीप बोरिङ’मार्फत पानीको समस्या समाधान गर्ने प्रयास भइरहेको सुनाए। 

तबदारले अहिले १७ वटा पोखरीमा माछा पालन गरिरहेका छन्। झिँगे, लोकल लगायतका माछाको संरक्षण पनि थालिएको उनको भनाइ छ। तबदारका अनुसार रहु, नैनी, भाकुर, सिल्भरकार्प, विगहेडकार्प, ग्रासकार्प, कमनकार्प, पुन्टियस, टिलापिया, पंगासीयस, रेन्बोट्राउटसमेतका स्वदेशी तथा विदेशी माछाका भुरा उत्पादन भइरहेको छ।  

करिब दुई करोड रूपैयाँमा सुरु गरेको फार्ममा बाख्रा, खुकुरा, टर्की लगायतका विभिन्न प्रजातिका पशुपंक्षीहरू पालिएका छन्। फार्मलाई विस्तार गर्दै अरु कृषकलाई पनि कृषिकर्ममा जोड्ने योजना बनाएको उनले सुनाए। ‘राजनीति, समाजसेवा र कृषिकर्मलाई एकैसाथअघि बढाउँदै छु,’ उनी भन्छन्, ‘कृषिकर्मका लागि स्थानीय स्तरमा भारतीय परनिर्भरता हटाउने मेरो योजना हो।’

केही वर्षअघिसम्म पूर्वका बजारमा भारत तथा तेस्रो मुलुकबाट आयात हुने माछाको खपत धेरै थियो। अहिले नेपालमै व्यवसायिक उत्पादन बढेपछि अरु मुलुकको भर पर्नुपर्ने अवस्था नरहेको तबदारले बताए। यसवर्ष मात्रै पाँच टन माछा र एक करोड अण्डा उत्पादन भएको जानकारी उनले दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.