'कोरोना महामारी नियन्त्रणमा अमेरिका गलत दिशामा' : एन्थोनी फाउची
अमेरिकाका एक प्रमुख स्वास्थ्य विज्ञ डा.एन्थोनी फाउचीले कोरोना भाइरसका मामिलामा अमेरिका गलत दिशामा हिँडिरहेको बताएका छन्। उनले कोरोनाको खोप लगाइने दर कम भएका क्षेत्रमा डेल्टा भेरियन्ट बढिरहेको बताएका हुन्।
फाउचीले स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिनका निम्ति खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्ने कुराबारे विचार गरिरहेको बताएका छन्। खोप नलगाएकाहरूका बीचमा अमेरिकामा कोरोना भाइरस एउटा महामारी बनेको उनको भनाइ छ । यसका साथै कमजोर व्यक्तिहरूलाई प्रतिरक्षा बढाउने खोप दिने कुरा पनि समीक्षाका क्रममा रहेको बताएका छन्।
अमेरिकामा हालसम्म त्यहाँको जनसंख्याको ४९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेको आधिकारिक विवरण छ । अमेरिकामा एप्रिलदेखि खोप लगाउने दरमा कमी देखिएको छ।
त्यसबेलासम्म कोरोनाविरुद्ध खोप लगाउनेमा अमेरिका सबैभन्दा अगाडि थियो। विशेषगरी अमेरिकाका दक्षिणी राज्यहरूमा खोप लगाउने दर कम देखिएको छ।