स्वास्थ्यमा खेलबाड
चिकित्सकको काम भनेकै बिरामीको उपचार गरेर ज्यान जोगाउने/निको पार्ने हो। उपचारका क्रममा बिरामीको ज्यानै गयो भने पनि सामान्य परिवेशमा चिकित्सकलाई कारबाही हुँदैन। तर, यसो भन्दैमा चिकित्सकले लापरबाही गर्न मिल्दैन। चिकित्सकलाई पनि कसैको जीवन समाप्त पारौं भन्ने हुँदैन पनि। प्राविधिक कारण कुनै समय त्यस्ता घटना हुन सक्छन्। त्यसैले चिकित्सकलाई ‘भगवान्’ उपनामले पनि पुकार्ने गरिन्छ। कुनै पनि बिरामी चिकित्सकको अघि पुग्दा बाँच्ने आश बटुल्छ। चिकित्सकले बिरामीलाई गर्ने सकारात्मक व्यवहारले नै पनि बिरामीको आधा पीडा कम हुन्छ भन्ने गरिन्छ। त्यसैले उपचार सेवामा खटाइने चिकित्सकको विशेष अध्ययन र तालिम हुन्छ।
चिकित्सक बन्न र बिरामीको उपचार गर्ने अनुमति पत्र पाउन सहज छैन। अध्ययन र अनुभव बोकेका हाम्रै मुलुकमा चिकित्सक धेरै छन्। उनीहरूकै योगदानले आज नेपालीले मुलुकभित्रै विभिन्न जटिल किसिमका उपचार पनि पाउन सम्भव छ। अझै कोरोना महामारी नियन्त्रणमा स्वास्थ्यकर्मीले खेलेको भूमिकालाई त सम्मान गर्नै पर्छ। पछिल्लो समय यो पेशाप्रति आकर्षण पनि बढेको छ। मानव सेवामा खटिन पाउँदा आनन्द महसुस गर्नेहरू यो पेशाप्रति आकर्षित छन्। विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार हरेक हजार व्यक्तिको लागि एक चिकित्सकको आवश्यकता पर्छ। नेपालमा जनसंख्याको हिसाबले ३० हजार चिकित्सकको आवश्कता छ। हाल नेपालमा २५ हजारभन्दा बढी चिकित्सक स्वास्थ्य सेवामा कार्यरत छन्।
सरकारी स्वास्थ्य संस्थाहरूमा चिकित्सकको अभाव छ। यो समस्या तराईका जिल्लामा भन्दा पहाड र हिमाली क्षेत्रमा बढी छ। चिकित्सक नभएकै कारण सरकारी स्वास्थ्य चौकीहरू सुनसान भेटिन्छन्। खुल्ला भए पनि पियनको भरमा सञ्चालन भएका छन्। यसको फाइदा छ्यापछ्याप्ति खुलेका मेडिकलले उठाएका छन्। मेडिकलमा पनि अधिकार प्राप्त व्यक्ति नहुँदा जोसुकैले औषधि बेच्ने र बिरामीको परीक्षण गर्ने गरेको भेटिन्छ। यसले नागरिकको स्वास्थ्यमा जोखिम बढाएको छ। यो समस्या मुलुकका प्रायः सबै जिल्लामा छ। स्वास्थ्य चौकी र औषधि पसलमा भेटिने जो कोहीलाई नागरिकले ‘चिकित्सक’ नै मान्छन्। जे औषधि दिए वा उपचार गरे पनि सर्वसाधारणले मान्नै पर्ने बाध्यता छ।
कमिसन बढी आउने क्षेत्रका रूपमा स्वास्थ्य क्षेत्र परिचित छ। औषधि बिक्रीदेखि औषधि सिफारिससम्ममा चलखेल धेरै हुन्छ। त्यसैले चोक–चोक र गाउँ–गाउँमा मेडिकल खाल्नेको लहर नै छ। अझै अस्पताल अघिका बाटोको दायाँबायाँमा औषधि पसलको बजार नै हुन्छ। त्यहाँ हुने व्यक्ति औषधि बेच्न मात्रै होइन, बिरामी आए आफैं चिकित्सक बनेर परीक्षण गर्नेमा पनि पछि पर्दैनन्। यसको नियमन अझै हुन सकेको छैन। सामान्य औषधिको नाम चिन्नेले पनि औषधि पसल खोल्ने, सरकारी स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीले घरमा वा चोकमा औषधि पसल खोल्ने र परिवारको कोही सदस्यलाई पसलमा राखेर औषधि बेच्न र जाँच्न लगाउने बेथिति पनि बढ्दो छ।
जोसुकै चिकित्सक बनेर उपचार गर्ने समस्या मात्रै होइन, चिकित्सक उत्पादन गर्नेमा पनि बेथिति कायमै छ। पैसा बढी तिर्दैमा मेडिकल कलेजमा भर्ना पाउने र त्यहाँबाट उत्पादन भएको जनशक्तिले स्वास्थ्य क्षेत्रमा राम्रो सेवा दिन नसकेका उदाहरण छन्। सरकारले अहिले चिकित्सक पढ्न प्रवेश परीक्षामा न्यूनतम ५० प्रतिशत हासिल गर्नुपर्ने मापदण्ड तोकेको छ। तर, त्यो मापदण्डअनुसार लायक भएर एमबीबीएस पढेका विद्यार्थीको गुणस्तर जाँच गर्दा गुणस्तरहीन धेरै भेटिन्छन्। विदेशबाट पढेर आउने ८० प्रतिशत विद्यार्थी पहिलो पटकको परीक्षा उत्तीर्ण नै गर्न नसकेका पनि छन्। यसरी उत्पादन भएकाले दिने उपचार सेवा अझै जोखिमपूर्ण छ।
एउटा बिरामी चिकित्सक र अस्पतालका लागि संख्यामा एक भए पनि बिरामी र उसको परिवारका लागि ऊ संसार हो। सो बिरामीको ज्यान बचाउन परिवारले सबै सम्पत्ति गुमाउन पनि सक्छ। त्यसैले बिरामीको स्वास्थ्यमा कसैले खेलबाड नगरौं। सरकारले प्रत्येक स्वास्थ्य चौकीमा अब ढिला नगरी तालिम प्राप्त चिकित्सकको व्यवस्था गरोस्। अवैधानिक रूपमा खुलेका मेडिकल र त्यहाँ बस्ने व्यक्तिको सम्बन्धित निकायबाट अनुगमन गरी सुधार गर्न अब ढिला गर्नुहुन्न।