बढ्दै रेमिट्यान्स
काठमाडौं : कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेमिट्यान्स(विप्रेषण) मा भने कुनै प्रभाव परेको छैन। ०७६ चैतपछि वैदेशिक रोजगारीको क्षेत्र प्रभावित बनेको छ। छिटफुट संख्यामा केही युवा वैदेशिक रोजगारीमा जान सफल भए पनि अधिकांश गन्तव्य मुलुकले रोजगारीका लागि श्रमिकलाई बोलाएको छैन।
कोभिड अघिसम्म बर्सेनि ५ लाख युवा वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुक पुग्ने गरेका थिए। कोभिडपछि वैदेशिक रोजगारमा जानेको संख्या घटेर १ लाखमा झरेको छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले औपचारिक क्षेत्रबाट आउन थालेकाले रेमिट्यान्सको परिमाण बढेको बताए। ‘पहिला हुन्डीबाट आउँथ्यो, अहिले बैंकिङ तथा रेमिट कम्पनीबाट आउन थालेको छ,’ उनले भने,‘यसले गर्दा परिमाण बढेको हो।’
गन्तव्य देशमा अझै धेरै नेपाली कार्यरत छन्। उनीहरूले थप परिश्रम गरी घरमा पैसा पठाएकाले रेमिट्यान्सको परिमाण बढ्दो देखिएको प्रवक्ता ढकालले बताए।
वैदेशिक रोजगार विभागका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोभिड भाइरसबाट वैदेशिक रोजगार प्रभावित हुँदा वैदेशिक रोजगारीमा जानेको संख्या औसतमा ७० प्रतिशतले कमी आएको छ। तर, घट्दो कामदारको संख्याको अनुपातमा रेमिट्यान्स नघट्नुको खास कारण भने खुलेको छैन।
केही वर्षअघि रेमिट्यान्सले ३० प्रतिशतसम्म हिस्सा ओगटेको थियो। अहिले पनि रेमिट्यान्सले कुल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशतभन्दा बढी नै हिस्सा ओगटेको छ। विश्व बैंकले समेत रेमिट्यान्स घट्ने अनुमान गरेको थियो। तर नेपालमा कोभिडपछि रेमिट्यान्स घट्नुको साटो बढ्दो छ। विभागका अनुसार ५५ लाखभन्दा बढीले श्रम स्वीकृति लिएर नेपाली कामदार वैदेशिक रोजगारीमा विभिन्न मुलुक पुगेका छन्। तीमध्ये फर्किनेको संख्या यकिन नभए पनि ठूलो हिस्सा अझै वैदेशिक रोजगारी मै रहेको बिभागको भनाइ छ।
अर्थविद् ज्ञानेन्द्र अधिकारीले कोभिडका कारण अनौपचारिक क्षेत्र सल्बलाउन मौका नपाएकाले रेमिट्यान्स बढेको हुन सक्ने जानकारी दिए। हुण्डीको कारोबार अझै नघटेको उनको भनाइ छ।
नेपालजस्तो विकासोन्मुख मुलुकमा विप्रेषणबाट प्राप्त आम्दानीले वैदेशिक मुद्रा आर्जनको स्रोत वृद्धि गर्छ। विप्रेषण आम्दानी वृद्धि हुँदा राज्यको चालु खातामा वैदेशिक मुद्राको सञ्चिति बढ्छ। यसले गरिबी घटाउन सहयोग गर्छ।
जानकारहरूका अनुसार कोभिडको अवधिमा हुन्डीको कारोबार रोकिनु, आफन्तलाई आर्थिक समस्या नहोस् भनेर विदेशमा रहेका युवाले थप मेहनत गर्नु, घुमफिरमा अवरोध तथा विभिन्न सामानको खरिदमा कमी, अमेरिकी डलरको मूल्य वृद्धिलगायतका कारण रेमिट्यान्सको परिमाण क्रमिक रुपमा बढ्दै गएको हो।
केन्द्रीय तथ्यांक विभागका अनुसार वैदेशिक रोजगारीबाट प्राप्त रकम ५६ प्रतिशत घरधुरीमा पुग्ने गर्छ। रेमिट्यान्सले उपभोग्य वस्तुका साथै बैंक, विद्यालयलगायतका क्षेत्रलाई सञ्चालनमा सहज बनाएर अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्दै आएको छ। रेमिट्यान्सको ठूलो रकम दैनिक उपभोग्य क्षेत्रमै खर्च भइरहेको छ।
सीसीएमसीका अनुसार कोभिड महामारीपछि करिब ५ लाख श्रमिक वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्केका छन्। हालसम्म ४ लाख ९३ हजार ३ सय ४९ जना श्रमिक स्वदेश फर्केका छन्। सीसीएमसीको रेकर्डमा नरहेका श्रमिक पनि स्वदेश फर्किएका छन्। कोभिडको दोस्रो लहरको क्रममा फर्किनेको संख्या निकै कम छ। विश्व बैंकले सार्वजनिक गरेको माइग्रेसन एन्ड डेभलपमेन्ट ब्रिफ प्रतिवेदनका अनुसार न्यून र मध्यम आय भएका मुलुकमा सन् २०२० मा भित्रिएको विप्रेषण अघिल्लो वर्षको तुलनामा १.६ प्रतिशत मात्रै कम हो। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रिएको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रेमिट्यान्स भित्रिएको थियो।
राष्ट्र बैंकले गत आर्थिक वर्षको असार महिनाको तथ्यांक सार्वजनिक गर्न बाँकी रहेकाले अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स बढ्ने निश्चित देखिएको छ।
नेपाली कामदारका प्रमुख गन्तव्य खाडी र मलेसियाबाट प्रतिव्यक्ति औसत मासिक २२ हजार रुपैयाँ रेमिट्यान्स आउने गर्छ। उनीहरूलाई सीप सिकाएर औसतमा ६० हजार आम्दानी गर्न सक्ने वातावरण बनाउन सरकारले ध्यान दिनुपर्ने विज्ञको सुझाव छ।