बिरालाको हातमा सुनको सिक्का

बिरालाको हातमा सुनको सिक्का

राजनीति त्यस्तो घोडादौड हो, जहाँ अरूले भन्दा कम चोट खाएर घोडाबाट खस्ने घोडचढी सफल मानिन्छ


यो एक जापानी उखान हो। जसलाई सुनको महत्व र मूल्य नै थाहा छैन, त्यसको हातमा सुन पुग्यो भने के होला ? जुनसुकै कुराको सदुपयोग हुन त्यसको जगेर्ना गर्न सक्ने प्रज्ञा र पात्रताको दरकार पर्दछ। पात्रता शब्दको अर्थ कुनै कुरा या वस्तु पाउन योग्यता पुगेको र मूल्य बुझेको व्यक्ति हो। मूल्यवान वस्तु पात्रता पुगेको व्यक्तिको जिम्मामा पुग्यो भने मात्र त्यसको फाइदा सम्बन्धित सबैलाई हुन्छ। बिरालाको हातमा सुनको सिक्का पुग्नु मात्र त्यति साह्रै खतरनाक हुँदैन। खतरा त तब उत्पन्न हुन थाल्छ, जब उसले सिक्का सदुपयोग गर्ने कुरा नभई बलिया बलिया बिरालाले आपसमा बाँडिचुडी गर्ने चिज हो भन्ने बुझ्दछ। दुर्भाग्यवश हाम्रो देशको राज्यसत्ता पनि बिरालाको हातमा सुनको सिक्का जस्तै हुनपुग्यो।

बिरालो बाठो हुन्छ। ऊ जुनसुकै काम पनि कसैले थाहा नपाउने गरी सुटुक्क गर्न खोज्दछ। किन्तु उसलाई कहाँनेर पञ्जा मार्दा खत्र्याङ आवाज आउँछ भन्ने ज्ञान हुँदैन। बिरालाले जति खान्छ, त्योभन्दा धेरै पोखिदिन्छ। उसले पोखेको कुरा केही मुसाले खान्छन् र बाँकी साङ्ला र किराले चाटचुट पार्छन्। यो सबै कुरा हुन बेइमान बिरालो नै हुनुपर्छ भन्ने छैन। इमान्दार बिरालाका साथी बिराला बेइमान हुन सक्छन्। लोभी मुसा, साङ्ला र किरा फट्यांग्र्राहरू पनि पोखिएला र चाटचुट गर्न पाइएला भनी ढुकेर बसेका हुन सक्छन्। बिरालोलाई बच्चा जोगाउन पनि गाह्रो हुन्छ। बल्लतल्ल जन्माएका बच्चा कुन बेला कसको पोल्टामा पुग्ने हुन् थाहा पत्तो हुँदैन।

रोमनहरूले सिराक्यूज कब्जा गरी मार्न भनेर आउँदा आर्कमिडिज गणितका सूत्रहरू हल गर्न यति निमग्न थिए कि उनलाई आफूलाई मार्न आउँदैछन् भन्ने पनि आभास भएन। हाम्रो राजनीतिका अत्यन्तै चलाख र वाचाल कहलिएका शीर्षस्थलाई आफ्नो उपलब्धि र लोकप्रियताको आत्ममुग्धतामा रम्दै गर्दा जहाजमा ठूलाठूला भ्वाङ परेको पत्तै भएन। एउटै अवगुणले अन्य समस्त गुणहरूलाई बेमाख पार्दछ। निन्दा गर्नै मन लागे तापनि उचित  समयमा, उचित व्यक्तिलाई, उचित उद्देश्यले र उचित तरिकाले गर्ने कला नजान्नु खतरापूर्ण हुन्छ। आफूले आफंैलाई सर्वज्ञ ठान्नु आफैंलाई छकाउनु हो भन्ने पत्तो पाउन पनि उत्तिकै मुस्किल हुँदोरहेछ।

वृद्धहरू तीन प्रकारका हुन्छन्, ज्ञानवृद्ध, चरित्रवृद्ध र वयोवृद्ध। हाम्रो लोकतान्त्रिक प्रणालीका क्याप्टेनहरू चरित्रवृद्ध हुन सकेनन् भन्ने कुरा जगजाहेर छ। खेलमैदानमा अविरल डटिरहेका वयोवृद्धहरूले मैदानमा उमेर अवस्थाले युवा या अधबैंसे रहेका कोही ज्ञानवृद्ध छ कि भनेर पहिचान गर्नेतर्फ चासो दिएनन्। परीक्षण नै हुन नपाई वयोवृद्ध हुन अभिशप्तहरू खेलाडी पदमा दरखास्त नै हाल्न पाउँदैनन्। उनीहरूको काम फगत हुटिङ गर्ने र खेलाडीलाई बोकेर मैदानसम्म ल्याउनेमा सीमित भयो। साह्रै नै मन दुख्यो भने एक वयोवृद्धको त्याग गरेर अर्कोलाई बोक्न जानेमा सीमित छन् उनीहरू। विचार गरेर ल्याउँदा युवा नेतृत्वको उपयोग आफ्ना नेताका अविवेकपूर्ण गतिविधिको बचाउ गर्नमा सीमित छ। हो भनेर स्वीकार गर्दा आफ्नै हुर्मत जाने हुँदा ती पात्रहरू पीडालाई छतीभित्र लुकाएर बसेका मात्र हुन्। अनैतिक सत्ताराजनीतिका गुरु मेकियावेलीको भनाइमा राजनीतिको नैतिकतासँग कुनै साइनो छैन।

जनताको नजरमा सत्ताको गुलियो चाखिसकेका नेपालका प्रत्येक राजनीतिक दल एकभन्दा अर्को अनैतिक छन्। राजनीतिमा प्रेम, घृणा, निन्दा, गालीगलोज र पानी बाराबार सबै अस्थायी क्रियाकलाप हुन्। अहिले त झन् राजनीतिले राजनीतिलाई राजनीतिको भरोसामा छाड्न नसक्ने अवस्था उत्पन्न भयो। भनिन्छ, राजनीति त्यस्तो घोडादौड हो, जहाँ अरूले भन्दा कम चोट खाएर घोडाबाट खस्ने घोडचढी सफल मानिन्छ। केही परिघटनाबाट अन्य घोडचढीहरू धेरै उत्साहित हुनु आवश्यक छैन। नेपालमा राजनीतिक असफलताको धुलो झार्न जति सजिलो अर्को कुनै कुरा छैन। राजनीतिक बिरालबाँटको यो क्रम अझै धेरै समयसम्म निरन्तर चल्ने लक्षण देखिन्छ।

जब डर र लाज हराउँछ र त्यसको निगरानी गर्ने हैसियत राख्ने कोही हुँदैन भने स्वाभाविक रूपमा मनोमानी हुन्छ। सत्ताबाहिर पर्दा लोकतन्त्रको चिन्ता र सत्तामा बस्दा उपहास हुने हो भने सुनको सिक्का फगत माटोको डल्लो मात्र रहन्छ।

अहिले नेपाली राजनीतिको स्वर्णपदक विजेता दलभित्र बीभत्स युद्ध चलिरहेको छ। युद्धको ऐतिहासिक कारणको रूपमा त कम्युनिस्टहरू मिलेर बस्न सक्दैनन् भन्ने प्रमाणित तथ्यको रूपमा स्थापित नै छ। तत्कालीन कारण चाहिँ मुख्य रूपमा पुराना खग्गु प्रतिद्वन्द्वीहरू एउटै कक्षमा अटाउन नसक्नु नै हो। चालीस पचास वर्षदेखि अविरल राजनीति खेलिरहेका एकसेएक चतुर खेलाडीहरूले अर्कोलाई देखिसहनु अत्यन्तै मुस्किल कुरा हो। त्यसमाथि हालवालाबाट समकक्षी र साबिकवालालाई गर्ने गरिएको चोटिलो कटाक्ष र उपहास। कलहको जगमा केही रचनात्मक क्रियाशीलता पनि छ कि अभिमानसृजित अपमान मात्र हो भन्ने कुरा प्रकट हुँदै जाला। यो युद्धको कारण वास्तविक नैतिकतावादमा आधारित हो कि  इष्र्यालु गतिविधि हो भन्ने कुरा भने सम्बन्धित पक्षहरूलाई नै राम्रोसँग थाहा होला।
राजनीतिक नेता एउटा अध्यापक पनि हो। राजनीति शक्तिका लागि संघर्ष हो तापनि यसले शिष्टता खोज्दछ र राजनीतिमा शिष्टता र शालीनता सर्वोपरि हुन्छ। एउटा उच्च तहको राजनीतिक नेताको बोलीवचन र चरित्रलाई उसका अनुयायी मात्र होइन, सर्वसाधारणले समेत यही नै असल होला भनेर सिको गर्दछन्। राजनीतिमा कटाक्ष र उपहास गर्नुपर्ने स्थिति पनि नआउने होइन, तर यसको प्रयोग अत्यन्तै आवश्यक पर्दा मात्र गर्नु उचित हुन्छ। जब डर र लाज हराउँछ र त्यसको निगरानी गर्ने हैसियत राख्ने कोही हुँदैन भने स्वाभाविक रूपमा मनोमानी हुन्छ। सत्ताबाहिर पर्दा लोकतन्त्रको चिन्ता र सत्तामा बस्दा उपहास हुने हो भने सुनको सिक्का फगत माटोको डल्लो मात्र रहन्छ।

स्थापित राजनीतिक दलको जगमा गाडिएको कीलो हल्लिनु भनेको लोकतन्त्रको कीलो हल्लिनु हो। नेपाली राजनीतिमा आफ्नो कीलो आफैं हल्लाउने र अर्कोलाई उखेलेर फाल्ने मौका दिने प्रवृत्ति पुरानो हो। उखेलिएको कीलो फेरि गाड्न फेरि आन्दोलन, फेरि उही प्रवृत्ति र उनै पात्रहरू र अनि फेरि सुनको सिक्का ग्रहण एवं फेरि दुरूपयोग। लामो अनुभव हासिल गरेका नेताहरू एकै ठाउँ बसेर सल्लाह गरी मुलुकको मूल कानुन निर्माण गर्दा सर्पले सर्पको खुट्टा देख्छ भन्ने लोकोक्तिलाई चरितार्थ गर्दै आपसी अविश्वासकै कारण ७६(५) घुसाउने काम भयो। यसबाट उहाँहरू कति अविश्वसनीय र बेभरको हुनुहुँदोरहेछ भन्ने प्रष्ट हुन्छ। आन्दोलनको उपजको रूपमा बनेको संविधानमा त्यस्तो प्रवन्ध राख्नु आन्दोलनको सम्मान थियो कि अपमान ?

बारम्बार सुनको सिक्कालाई पित्तलसरी बनाउने हाम्रा राजनीतिक नेताहरू सदाकाल अनुत्तीर्ण हुने पात्रहरू हुन्, तैपनि यिनीहरू नै निर्विकल्प छन्। नजागेका जनताको देश हो नेपाल।
प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका नवनियुक्त प्रधानमन्त्रीको काँधमा ठूलो जिम्मेवारी आएको छ। उहाँ सारथी रहेको रथमा धेरैजसो कलहजनित कारणले घर छाडेर आएका चिर प्रतिद्वन्द्वीहरू सवार छन्। अनपेक्षित समयमा अचम्मसँग भएको यो सत्तारोहण उहाँका लागि काँडा उम्रेको कुर्सीमा बस्नुसरह हो। परन्तु यो अवसरको सदुपयोग गर्न सक्नुभयो भने हालसम्मका समस्त असफलता र आरोप धोएर उज्ज्वल बनाउने सुनौलो मौका पनि हो यो। सत्तासुखमा लीन हुन पुग्नुभयो भने प्राप्त गरेका सुनौला सिक्काहरू क्रमशः झर्दै जानेछन् र उहाँको तौल पनि घट्दै जानेछ। प्रत्येक साँझको समयमा आफूले दिनभरि गरेका कार्यको तौल लिने गर्नुभयो भने मात्र उहाँको छवि उज्जर हुनेछ। उहाँले सदनमा देखाएको शालीनताको आमरूपमा प्रशंसा भएको छ। त्यो शालीनता र सहनशीलतालाई अविचल कायम राख्दै संयम र धैर्यसाथ अघि बढ्नु अत्यन्तै जरुरी छ।

सत्ताले स्वार्थीहरूको नजिक पुर्‍याउने सम्भावना नितान्त प्रवल हुन्छ। उहाँले राजनीतिक जीवनको यो मुकाममा अकस्मात प्राप्त भएको आश्चर्यजनक उपलब्धिको कति मान राख्नुहुने हो, त्यो हेर्न देशदेशावर नै उत्सुक छ। नेपाली जनताले उहाँबाट ठूलो अपेक्षा गरेका छैनन्। उहाँले ठूलो सपना देख्न र अपत्यारिला तिलस्म खडा गर्नु जरुरी छैन। आफ्नो कार्यकालभन्दा परसम्म लक्ष्यित हुने आयोजना ल्याउनु पनि पर्दैन। नेतृत्व प्रयत्न र संयोग गरी दुई तरिकाले प्राप्त हुन्छ। राजनीतिको खेलमा प्रयत्नबिना नेतृत्वको अवसर प्राप्त हुनु दुर्लभ हो। परन्तु शेरबहादुर देउवालाई संयोगवश यो प्राप्त भएको छ। कसैलाई आश्वासन नबाँडीकन र दौडधूप नगरीकन प्राप्त भएको यो मौकामा उहाँले गुमाउनु पर्ने केही छैन र हुलहालमा आएको त हो भनेर निस्फिक्री हुने सुविधा पनि छैन। उहाँको अहिलेको मुख्य अभिभारा महामारीबाट पीडित जनतालाई त्राण दिनु हो।

निवर्तमान सरकारले सुरु गरेका असल अभ्यासको सम्मान गर्नुभयो भने उहाँकै सम्मान बढ्नेछ। राष्ट्रिय स्वाभिमानलाई उच्च राख्दै मित्रराष्ट्रहरूसँग सुमधुर सम्बन्ध कायम गर्नुभयो भने व्यक्त हुने गरेका आशंकाहरू स्वतः निराकरण हुनेछन्। उहाँको उमेर पनि धेरै भइसकेको छ। पार्टीभित्रका भरोसायोग्य युवानेतालाई विश्वासमा लिएर काम गर्ने बेला हो यो। अन्त्यमा, आश्वासनले मात्र महामारी रोकिनेवाला छैन। कुराले भात पाक्दैन। छ छ र हो हो भन्दैमा प्रज्ज्वल छवि कायम हुँदैन। सत्ता र शक्तिले भ्रष्ट बन्न प्रेरित गर्ने हुँदा अपूर्व रूपमा होसियार हुनु जरुरी छ। सबै आफ्ना मान्छे असल र हितकारी नहुन सक्छन्। फुस्लाउने, स्तुतिगान गर्ने, फकाउने र प्रशंसा गर्नेहरू प्रायः स्वार्थी हुन्छन्। राष्ट्रिय स्वाभिमान, सदाचार, लोकतन्त्रको जगेर्ना एवं महामारीपीडित जनतालाई परित्राण समेत यति चार कुरामा सम्झौता नगरी काम गर्नुभयो भने मात्र उहाँ यो परीक्षामा उत्तीर्ण हुनुहुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.