जनकपुरका ‘सुकुम्बासी’ मठ–मन्दिर
जनकपुरधाम : जनकपुरधाममा २३ वटा गुठीमातहतका मठमन्दिरका नाममा कुनै समय ६ हजार बिघासम्म जग्गा थियो। त्यसमध्ये ५ हजार बिघा महन्तलगायतले हडपेर सिध्याएका छन्। यति धेरै सार्वजनिक सम्पत्ति मासेको प्रतिवेदन बनेको पनि १६ वर्ष पुगेको छ। तर, प्रतिवेदन कार्यान्वयन नहुँदा धार्मिक, सांस्कृतिक तथा पौराणिक ठाउँहरूको अतिक्रमण रोकिएको छैन। यस्ता ठाउँमा ठुल्ठूला घर÷भवन निर्माण गर्ने क्रम जारी छ।
उक्त प्रतिवेदन कार्यान्वयन नभएका कारण जनकपुरधामका मठमन्दिर तथा पोखरी मासिँदै गएको कार्यदलका सदस्य डा. भोगेन्द्र झा बताउँछन्। ‘हामीले प्रतिवेदनमा जनकपुरको सम्पदा मन्दिर, पोखरी र गुठी जग्गा जोगाउन प्रभावकारी ट्रस्टको निर्माण गर्न सुझाएका थियौं’, डा. झा भन्छन्, ‘तर, त्यो कार्यान्वयन नहुँदा कुन मन्दिरको आम्दानी कति, खर्च कतिजस्ता पारदर्शिता नभएपछि बिस्तारै अनियमितता मौलाएर अस्तित्व समाप्त हुने अवस्थामा पुगेको छ।’ उनका अनुसार अर्बौं–खर्बौं मूल्यको गुठी जग्गाको व्यवस्थापकीय पक्ष कमजोर रहेकाले मासिने क्रम जारी छ।
सरकारले २०६२ सालमा बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत तत्कालीन जनकपुर नगरपालिकाभित्र रहेका पोखरी, पोखरी डिल, रामजानकीलगायत प्रमुख मन्दिर तथा गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि सिफारिस गर्न उच्चस्तरीय कार्यदल बनाएको थियो। कार्यदलको प्रतिवेदनमा विभिन्न गुठीको जमिन ६ सय ५० भन्दा बढी परिवारले हडपेर भोगचलन गरिरहेको उल्लेख छ। १६ वर्षमा यो संख्या झन्डै तीन गुणा बढेको हुन सक्ने स्रोत बताउँछ। गुठी संस्थान जनकपुरधामका प्रमुख वैकुण्ठप्रसाद रेग्मी भने १० प्रतिशत थप घर अतिक्रमण गरी बनाइएको बताउँछन्।
जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान बाह्रबिघाको पश्चिम–दक्षिण कुनामा रहेको रामजानकी थारु कुटी हडपेर बनाइँदै गरेको भौतिक संरचना। तस्बिर : गोविन्द महतो
मिथिला माहात्म्य कृतिमा ७२ तलाव, १५ कुप, १५ शिवालय, २४ देवीका प्रसिद्ध पीठ, ५ उपवन, २६ ऋषि आश्रम, ५ पर्वत र सुप्रसिद्ध १५ नदी भएको उल्लेख छ। यसमध्ये केही लोप भए भने केही भूमाफियाको हातबाट बेचिँदै गएको छ। कैयौं पोखरी अतिक्रमण गरी ठुल्ठूला भवन बनाइएका छन्। धार्मिक, सांस्कृतिक तथा पौराणिक महत्वका स्थल संरक्षणको दायित्व बोकेका महन्त तथा मान महन्तले नै चलअचल सम्पत्ति बेचबिखन गरेको जनाइएको छ। यसमा उच्चपदस्थ सरकारी कर्मचारी, व्यापारीदेखि पूर्वमन्त्रीसम्मको पनि संलग्नता रहेको प्रतिवेदनमा उल्लेख छ।
जानकी मन्दिरका नामको चलअचल सम्पत्ति रेखदेख गर्न, आम्दानी–खर्च दुरुस्त राखी मन्दिर सुव्यवस्थित राख्न तथा बेचबिखन, दानदातव्य, मनखप कसैलाई दिन नपाउने गरी छुट गुठीमा राखिएको छ। सोको सम्पूर्ण जिम्मेवारी महन्तलाई सुम्पिए पनि त्यसविपरीत महन्त रामशरण दासदेखि रामतपेश्वर दाससम्मले छुट गुठीलाई निजी गुठीका रूपमा प्रयोग गरेको देखिन्छ।
महन्तलाई लुटको छुट
जानकी मन्दिरको जग्गा राज गुठीमा भए पनि छुट गुठीमा राखेर महन्तको जिम्मामा गएदेखि मन्दिर, पोखरी, पाटीपौवाको श्रीसम्पत्ति मासिँदै गएको पाइएको छ। गुठीको रेखदेख संस्थानले गर्नुपर्नेमा मन्दिरको श्रीसम्पत्ति बेचबिखन, दान दातव्य कसैलाई पनि दिन नपाउने सर्तमा सम्पूर्ण जिम्मेवारी महन्तलाई सुम्पिएपछि महन्तको मनोमानी सुरु भएको हो।
तत्कालीन सरकारले महन्तबाट गरिने कुनै पनि कामकारबाहीबारे रेखदेख, नियन्त्रण गर्न नसक्ने छुट दिएपछि तत्कालीन महन्त रामशरण दास वैष्णवले आफ्नो कार्यकालमै विवाहमण्डपको साइनबोर्डमा जानकी मन्दिरको नाम सानो अक्षर र छुट गुठीचाहिँ ठूलो अक्षरमा लेख्न थालेको उल्लेख पाइन्छ। यसरी मन्दिरको श्रीसम्पत्ति महन्तको बिर्तासरह भएपछि जग्गाको बेचबिखन बढेर गयो।
जानकी मन्दिरको पुरानो स्रेस्ता अर्थात् १९८३ सालको लगत गुठी संस्थान कार्यालयबाट गायब भएपछि ठेकेदारदेखि कर्मचारी र राजनीतिज्ञसम्मले जग्गामा लुट मच्चाउने थालेको जनाइएको छ। तत्कालीन अञ्चलाधीश कार्यालयले २०२९ सालमा महन्त रामशरण दास वैष्णवबाट फाँटबारी जग्गा नगदीबाट हुने आयस्था माग गरेको थियो। सो समयमा अञ्चलाधीश कार्यालयलाई फाँटबारीमा जग्गाको विवरण लुकाएर दिइएको पाइएको छ। सोही विवरणलाई गुठी संस्थानले आधिकारिक मानेर दस्तावेजका रूपमा प्रस्तुत गरेको थियो।
तत्कालीन महन्त रामशरण दासले जनकपुर नगरपालिका क्षेत्रभित्र जानकी मन्दिर छुट गुठीअन्तर्गत साविकको बेल्ही, बिर्ता मौजाअन्तर्गत हाल किशोरी नगर, बेल्ही, रजौल, पिडारी तथा त्यस वरिपरिको ९१ बिघा १८ कठ्टा ८ धुर उल्लेख छ। लगतमा उल्लेख भएअनुसार मन्दिर, सडक, गौचर, पोखरीजस्ता धार्मिक, पुरातात्विक, ऐतिहासिक महत्वको ७४ कित्तामा ५५ बिघा ८ कठ्टा १८ धुरको मात्र लगत देखियो। बाँकी चार किल्ला लेखिएकाले उक्त जग्गा कुन अवस्थामा छ, कहाँ छ भन्ने खोजी गरिएको छैन। सोही समयदेखि लगत नराखिएपछि मन्दिरका गुठी बेवारिसे भयो। बेवारिसे गुठीलाई संस्थानले छुट गुठीअन्तर्गत राखेर रेखदेख र सम्पदाको संरक्षणको सम्पूर्ण जिम्मा महन्त रामशरण दासलाई सुम्पिएको थियो। महन्त थलिँदै गएपछि बिस्तारै रामतपेश्वर दास वैष्णवले आफ्नो गुरु रामशरण दासको किर्ते (नक्कली) हस्ताक्षरबाट कबुलियतनामा लेखी आफूले कुत बुझेको भर्पाइ दिई प्रतिकठ्टा २५ देखि ५० हजारका दरले बिक्रीवितरण गरेको देखिन्छ। २०४४ सालदेखि २०५१ सम्ममा जानकी मन्दिरबाट मनखप प्राप्त गरेका जग्गामा घर बनाई बसेकाहरूलाई महन्तले मनखपबापत आफूले गुठीको जमिन लिएर सो जमिन व्यक्तिलाई बेचिदिएको दिएको भनी लिखितम बनाइदिन्थे।
महन्तकै लिखितमका आधारमा २०५१ सालको नापीको मौका छोपेर विभिन्न व्यक्तिले छुट गुठीको जमिन आ–आफ्नो नाममा दर्ता गराएका थिए। ०५१ सालमा नापी गरिएको जमिन गुठी संस्थान ऐन २०३३ को संशोधनसहितको दफा २५(३) लगाएर रैतानी दर्ता गरियो। महन्तको जालसाजपूर्ण लिखितमलाई गुठी संस्थान, मालपोत कार्यालय र नापी विभागले मान्यता दिएपछि महन्तले स्थानीय भूमाफियासँग मिलेर गुठी जमिनको खुला कारोबार चलाएको जनाइएको छ। मनगढन्ते मनखपको आधारमा जानकी मन्दिरको जमिनमा अहिले हजारौंभन्दा बढी परिवारले घर बनाएर व्यापार–व्यवसाय र धन्दा चलाएका छन्।
जानकी मन्दिरका महन्त रामशरण दास वैष्णवको २०५३ सालमा निधनपछि रामतपेश्वर दास उत्तराधिकारी बने। उनले पुरानै मितिमा गुरु रामशरण दासका नाममा नक्कली हस्ताक्षरमा मनखप लिखत तयार पारेर गुठीको जमिन बेचे। कार्यदलको प्रतिवेदनमा लेखिएको छ, ‘२०५३ सालमा नापी हुँदा सर्वे नक्सामा घर नरहेको र मन्दिरका खाली रहेको जमिनमा पनि मन्दिरका महन्तद्वारा नापी पहिलेको मितिको जालसाजी मनखप कागज तयार गराई घर बनाउन लगाएको देखिएको छ।’ अरगज्जा सर, तेलहा, मराहा पोखरी, पाकवती पोखरी, रामानन्द चोकपूर्वको खाली जग्गा, जनस्वास्थ्य कार्यालयपूर्वको जग्गा, देवी चोकको जग्गा, दशरथ तलाउ र मणिमण्डप तथा हनुमान मन्दिरको जग्गा रामतपेश्वरले बिक्री गरेको उल्लेख छ। सर्वे नापीपछि खाली रहेको जग्गालाई पुरानो मितिको कवुलियतको कागज लेखी आफ्ना गुरु रामशरण दासको नक्कली हस्ताक्षर गरी छाप लगाई आफूले हालसम्मको मनखप बुझेको भरपाई दिई बिक्री गरेको पाइएको छ।
प्रतिवेदनमा महन्त रामतपेश्वर दास वैष्णवले अनधिकृत रूपमा जानकी मन्दिरको पोखरी, त्यसको डिलको जग्गामा घर, सटर आदि बनाउन लगाएको उल्लेख छ। जुन पछिल्लो समय बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्ष रामकुमार शर्मा हुँदा खाली गराइएको थियो। यसैगरी रामचन्द्र गुठी, लक्ष्मण मन्दिर गुठी र हनुमान मन्दिर गुठीको ४ बिघा जमिन पनि बिक्री भयो। रानीपाटीको ५ बिघा जमिन अतिक्रमण गरेर रैकर दर्ता गराई बिक्री गरिसकेका छन्। महन्त दास भने आफूले कुनै मन्दिरको कुनै पनि जग्गा बिक्री नगरेको दाबी गर्छन्।
तीन प्रकारका गुठी
राज गुठी :
गुठी संस्थान स्थापनाअघि सरकारले बन्दोबस्त र सञ्चालन गरी आएकोमा गुठी संस्थान ऐन २०२१ को दफा २ (घ) बमोजिम त्यस्ता गुठीमा सरकारबाट संस्थानमा हक र दायित्व सर्न आई संस्थानले बन्दोबस्त र सञ्चालन गरेका राज गुठी हो।
छुट गुठी :
गुठीको आयस्ता गुठियार आफैंले उठाइ लिखत तथा परम्पराबमोजिम गुठीको पूजाआजा, पर्व, जात्रा चलाइ बाँकी रहेको शेष रकम राज गुठीमा बुझाउने वा गुठियार आफैंले खान पाउने गरी छुट पाएका नै छुट गुठी हुन्। गुठी संस्थान ऐनले छुट गुठी नरहेको व्यवस्था गरेको छ। अर्थात् छुट गुठीलाई राज गुठीमा परिणत गरी चलअचल जायजेथा, देवमूर्तिउपर छुट गुठीको सबै अधिकार संस्थानमा सर्ने र गुठियार खानगिदारको हक समाप्त हुने उल्लेख छ। तर, कानुनले राज गुठी र निजी गुठीलाई मात्र मान्यता दिए पनि छुट गुठी कायमै रहेको देखिन्छ। यस्ता गुठीको संख्या १ हजार ३२ छ।
निजी गुठी :
राज गुठीको लगतमा दर्ता नभएका र व्यक्ति आफैंले सञ्चालन गर्दै आएका व्यक्तिगत वा पारिवारिक दुनियाँ गुठीलाई निजी गुठी भनिन्छ। यस्ता गुठीको लगतसम्म संस्थानले लिन सक्ने कानुनी व्यवस्था छ। दातासहित अधिकांश गुठियारले लिखित अनुरोध गरे त्यस्तो गुठी संस्थानले जिम्मा लिई सञ्चालन गर्न सक्छ। सामाजिक हितका लागि राखिएको निजी गुठीका गुठियारले गुठीको सम्पत्ति हिनामिना गरी धर्मलोप गरे गुठियारले अनुरोध नगरे पनि संस्थानले आफ्नो जिम्मामा लिई सञ्चालन र बन्दोबस्त गर्न सक्ने व्यवस्था छ।
जनकपुरधामस्थित पयश्विनी पोखरी मासेर बनाइएको होटल मानकी .
रामानन्द चोकस्थित हनुमन्त दरबार मन्दिर मासेर बनाइएको भवनमा सञ्चालित होटल तथा डिपार्टमेन्टल स्टोर।