अर्घाखाँचीमा शनिबारदेखि पूर्णकालिन निषेधाज्ञा
सन्धिखर्क : शनिबार (भोलि) देखि अर्घाखाँचीमा पूर्णकालिन निषेधाज्ञा हुने भएको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि रोग फैलन नदिन पूर्णकालिन निषेधाज्ञा गर्ने भएको हो ।
शनिबार राति १२ बजेबाट लागू हुनेगरी ३० गतेसम्म पूर्णनिषेधाज्ञा जारी गर्ने डिसिसिएमसीको बैठकले निर्णय गरेको छ । कोरोनाको उच्च जोखिम भएकाले कडा निषेधाज्ञा लागू गरिने प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिए ।
अत्यावश्यक पसलहरु बिहान ६ देखि ९ बजेसम्म खुल्ने छन् । यातायात, बैंक तथा वित्तीय संस्था पुर्ण रूपमा बन्द हुने निर्णय भएको छ । अर्घाखाँचीमा अहिले सम्म ५ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् । कोभिडका २६ जना विरामी अर्घाखाँची अस्पतालमा भर्ना भएका छन् ।
गत साउन ३० मा सक्रिय संक्रमित १८९ थिए । १५ दिनमा त्यो संख्या ह्वात्तै बढेको छ । सार्वजनिक तथा भाडाका सवारी साधन सञ्चालनमा आउनु, बैंक तथा वित्तीय संस्थामा भीडभाड बढ्नु, व्यवसाय सञ्चालनमा आएसँगै कोरोना संक्रमित बढेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।
एक हप्ताअघि ६ जना बिरामी अर्घाखाँची अस्पतालमा भर्ना भएकोमा बिहीबारसम्म २६ जना कोभिडका बिरामी भर्ना भएका छन्। हाल उनीहरुको उपचार भइरहेको डाक्टर कपिल गौतमको भनाइ छ । अस्पातलमा बिरामी राख्ने समस्या समेत सृजना भएको छ ।
अर्घाखाँचीलगायत १७ जिल्लामा कोरोनाको उच्च जोखिम रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । सरकारले अर्घाखाँची सहित १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ। जसमा कपिलवस्तु, पाल्पा, गुल्मी, प्युठान, झापा, सिरहा, धनुषा, महोत्तरी, रौतहट, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा छन्।
यस्तै २२ जिल्ला जोखिम क्षेत्रमा परेका छन्। जसमा मोरङ, सप्तरी, सर्लाही, पर्सा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कास्की, स्याङजा, दाङ, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट र बझाङ परेका छन् ।