भाइरल डाँडो
एकताका जताततै सामाजिक सञ्जालमा टिकटक भाइरल हुन थालेपछि सबैले व्यास नगरपालिकाको पर्यटकीय थलो मानुङ डाँडोबारे थाहा पाए। पृथ्वी राजमार्गबाट नजिकको दूरी अनि सुन्दर प्रकृतिका कारण टिकटकमा भाइरल मानुङले छोटो समयमै ‘भाइरल डाँडो’को पहिचान बनायो। तर स्थानीयमाझ पहिल्यैदेखि शनिबार वा बिदा मनाउन जाने थलोको रूपमा चिनिएको मानुङका पर्यटनसँगै धार्मिक र सांस्कृतिक पाटा पनि प्रशस्तै छन्, जसलाई उधिन्न सकिएमा यस ठाउँले गण्डकी प्रदेशमै बेग्लै पहिचान बनाउन सक्ने देखिएको छ।
सुन्दर दृश्य र मनमोहक तस्बिर
हिउँदका समयमा मानुङ जाने जोकोही त्यहाँको दृश्य देखेर मन्त्रमुग्ध हुन्छन्। कुहिरोको उत्पत्ति थलोमा त्यसलाई पन्छाउँदै घाम निस्कँदै गरेको यत्तिको सुन्दर दृश्य राजमार्गको यति नजिकै सायदै कतै भेटिएला। त्यसले पनि मानिसको घुइँचो हिउँदमा विशेष लाग्छ। यहाँबाट तनहुँ सदरमुकाम दमौली र आसपासको सहर बिछट्टै राम्रो देखिन्छ। अनि लमतन्न परेका चाँदीजस्ता हिमशृंखला अनि डाँडाकाँडा पनि एकै ठाउँबाट देख्न पाइने भएपछि दर्शकको अब्बल रोजाइको गन्तव्य मानुङ बनिरहेको छ।
टिकटक र सामाजिक सञ्जालमा भाइरल
दृश्यावली सुन्दर भएकै कारण मानुङ सामाजिक सञ्जाल टिकटक, फेसबुक र युट्युबमा भाइरल बन्यो। वडाले थेग्नै नसक्ने गरी मानिस आउन थालेपछि कोभिड जोखिमका कारण मानिस नै रोक्नुपर्ने अवस्था आयो। यसको एउटा मुख्य कारण टिकटकमा बनेका भिडियोलाई पनि ठानिएको छ। घुम्न आउनेले फेसबुक अनि इन्स्टाग्राममा राख्ने तस्बिरले अरू धेरैलाई मानुङमा तानिरहेको छ।
दुर्लभ मगर संस्कृति
मानुङ डाँडामा एकैपटक धेरै पर्यटकको घुइँचो लागेकाले धेरैले यसको प्रकृतिसँग आनन्द लिन नसके पनि यहाँ रमाउन सकिने चिज प्रशस्तै रहेको स्थानीय राजनीतिक कार्यकर्ता हीरा थापा बताउँछन्। ‘यो मगर संस्कृतिसँग रमाउन चाहनेका लागि त झनै उत्तम ठाउँ हो’, उनी भन्छन्, ‘मगर समुदायकै घरमा उनीहरूकै परिकार अनि संस्कृतिमा रमाउन सकिने यति राम्रो ठाउँ कमै छ।’ थापा यसका लागि स्थानीय समुदाय लागेको बताउँछन्।
मानुङ र नजिकका टाक्राङ, अलैंचेलगायतका ठाउँमा यस्ता होमस्टे खुलेका छन्। जहाँ कम शुल्कमा मगरको मौलिक कौरहा नाच नाच्दै स्थानीय परिकारको स्वाद लिएर रात बिताउन सकिन्छ। धेरैलाई मानुङ तान्ने यो पनि अर्को गहना हो।
‘काकाकुल डाँडो’ अब पर्यटकीय थलो
मानुङले अहिलेको चर्चा पाउनुअघि यो ठाउँ ‘काकाकुल डाँडो’को रूपमा चिनिने गरेको स्थानीय युवा चाम थापा बताउँछन्। डाँडाको टुप्पोमा भएकाले पानीको मूल थिएन। यहाँ बस्नेहरू घण्टौं हिँडेर पानी ल्याउनुपर्ने बाध्यता थियो। ‘त्यही भएर आदिवासी धेरै मगर समुदायले थलो छाडेर रित्तै हुने अवस्था आए पछि हामी खानेपानी ल्याउन जुट्यौं’, उनी थप्छन्। चार वर्षअघि टाक्राङ र मानुङसम्म हुने गरी पानी आएपछि अहिले पहिलेभन्दा धेरै सहज बनेको छ। भन्छन्, ‘नत्र बसेका मान्छे पनि छाड्न लागेको ठाउँमा कसरी पर्यटक ल्याउनु ? हामीले पानी ल्याएपछि गाउँ छाड्ने केही घटेका छन्। तर मुख्य टाकुरोमा अझै पनि पानी पुग्न सकेको छैन।’ सुविधा थप्ने हो भने मानुङका बासिन्दाले आफ्नो थलो, संस्कृति अनि पहिचान जोगाएर सरकारलाई पनि पर्यटनबाट कमाउन सघाउन सक्छन्।
पौराणिक साइनो
महर्षि परासरलाई माझीकी छोरी मत्स्यगन्धासँग रासलीलाको चाहना जाग्यो। मादीको दक्षिणी भागमा बस्ने ऋषिसामु लोकलाज ढाक्नुपर्ने पनि बाध्यता थियो। अनि उनले मानुङ डाँडोबाट कुहिरोको सृष्टि गराइदिए, अनि मत्स्यगन्धासँगको रासलीलाका लागि उनीसामु लोकलाजको डर भएन।
व्यासका अध्येता काशीनाथ न्यौपानेका अनुसार पौराणिककालको यो वृत्तान्त महाभारतको आदि पर्वमा उल्लेख पाइन्छ। त्यहीँबाट कुहिरोको सिर्जना भएको मान्यता भएकाले हिन्दू धर्मदर्शनमा विश्वास गर्नेका लागि मानुङ एउटा कुहिरो हेर्ने पर्यटकीय थलो बन्न सक्छ। ‘हिन्दू धर्मदर्शनले यस कुरालाई मान्ने भएकाले यो ठाउँ धार्मिक हिसाबले पनि पर्यटकीय थलो बन्न सक्छ’, उनी भन्छन्।
तर धार्मिक मात्र होइन, कुहिरो हेर्नका लागि धार्मिक महत्त्व वा इतिहास थाहा नभएका युवा जमात आजकल दमौलीबाट मानुङ उक्लन थालेको छ। बिहान सूर्योदय अनि हिउँदमा कुहिरो हेर्नु यहाँका मुख्य पर्यटकीय मनोरञ्जन हुन्। तर पर्यटकको संख्या बढ्न थालेसँगै यहाँ युवाहरूले होटलका अतिरिक्त क्याम्पिङ गर्ने व्यवस्था पनि गरिदिएका छन्। र, यही कारण मानुङ डाँडोमा जाने पर्यटकको संख्या बाक्लिँदो छ। ‘कहिलेकाँही त मान्छे खुट्टा राख्ने ठाउँ पनि भएन’, वडाध्यक्ष मोहनकुमार श्रेष्ठ भन्छन्, ‘व्यवस्थापन गर्नै गाह्रो भएर मान्छे नै रोक्नुपर्यो।’
कसरी जाने ?
व्यास नगरपालिका–५, चापाघाटस्थित पृथ्वी राजमार्गबाट ४० मिनेटमा मानुङ पुग्न सकिन्छ। वर्षामा केही समस्या भए पनि धेरै समय निजी र सार्वजनिक सवारी साधनमा मानुङ जोकोही सहजै पुग्न सक्छ।
के के पाइन्छ ?
- कुहिरो उत्पत्तिास्थलको दृश्यावलोकन
- सूर्योदय अवलोकन
- मगर होमस्टेमा बास
- हिमशृंखला र दमौलीका दृश्यहरू
- तनहुँ जलविद्युत्को अवलोकन
- घुम्न लाग्ने समय
- एक रात र एक बिहान