नाताको हारजित

नाताको हारजित

‘हजुरले बिहे गर्नुभएको छ कि छैन ?’ उनले ‘छैन’ भने। त्यसपछि ‘मैले कस्तो केटी खोज्नुभएको हो ?’ भनें। उहाँले ‘तिमीजस्तै चौबिसै घण्टा हाँसी राख्ने खोजेको हो’ भन्नुभयो। अनि मैले भने., ‘मजस्तै कहाँ खोज्नु त ?’ उनले फेरि भने, ‘खोज्दै गर्नू, भेटी हाल्छ नि। नभेटे तिमी छँदै छौ नि।’


हिउँदको महिना। लेकाली ठाउँ। समय निकै प्रतिकूल छ। सेतै कुहिरोले ढाकेको मौसम। नजिकै उभिएको मान्छे चिन्न पनि कठिन। हामी विद्यालयको गेटनजिकै पुगिसकेका थियौं। ‘दिदी, तुँ सेना देखलिही ? हम त नई जेबो।’ अत्तालिँदै भाइले औंलाले इशारा गरे। ‘कहाँ ? कोनसे देखलिही !’ चारैतिर नजर लगाएँ। बाक्लो हुस्सुले केही देखिँदैन्थ्यो। भाइको कुरालाई वास्ता गरिनँ। तर भाइले एक पाइला पनि अगाडि सार्न मानेनन्। यस्तो भीरपाखे जंगलमा कसरी आउँछ पुलिस–सेना ! त्यसमा पनि खाटी माओवादी आधार इलाकामा। मलाई पत्यार लागेन।

एकछिन अलमलमा पर्‍यौं। अरू दिनभन्दा त्यो दिन विद्यालय जान पनि ढिलो भएको थियो। हामी हतारमा विद्यालयतिर लम्केका थियौं। एकछिन पछि एकाएक हावाले अगाडिको कुहिरो उडायो। मेरो आँखा एक्कासि विद्यालयको चउरमा पुग्यो। त्यसपछि मेरो पाइला एक्कासि रोकियो। अगाडि बढ्नै सकिनँ। विद्यालयको चउरमा सबै विद्यार्थी लाइनमा लामबद्ध थिए। लाइनको अगाडि विद्यालयका शिक्षकहरू पनि उभिएका थिए। विद्यालय सुरु हुनु अगाडि राष्ट्रिय गान र पिटीपरेड खेलेजस्तै दृश्य थियो। तर वरिपरि एउटै खालका सैनिक पोसाक लगाएका सयौंका संख्यामा हतियारधारीले घेरेको थियो। सबैको पिठ्यूँमा झोला थियो। र, सबैको हातमा विभिन्न खाले हतियार। माओवादी जनमुक्ति सेना हुन् या शाही सेना छुट्ट्याउन मुस्किल थियो। किनभने जनमुक्ति सेनाले लगाउने सैनिक पोसाकजस्तै ड्रेस उनीहरूको पहिरन थियो। हामी केटाकेटीका लागि छुट्ट्याउन गाह्रो थियो।

एउटै खालको सैनिक पोसाकले झस्कायो। उनीहरू पक्कै पनि शाही सेना हुनुपर्छ, मनले भन्यो। सबैको हतियार शिक्षक र विद्यार्थीतिर सोझिएका थिए। एकजना सैनिक हतियारको नोक सोझ्याएर पालैपालो सबैको नाम र ठेगाना सोधिरहेको थियो। हामी यो विद्यालयमा पढिरहेको बेला सूचना बोकेर सेनाहरू त्यहाँ आइपुगेका रहेछन्। हाम्रो परिवारको वंश नै सखाप पार्ने धोको लिएर छिरेका रहेछन् उनीहरू। विद्यालयको गेटदेखि लगभग सय मिटर पछाडि बाटो छेउको भीडतिर ठूलो र मोटो रूख थियो। जसको फेदमा भाइलाई काखमा च्याप्दै टाउको लुकाएर एकछिन दृश्य हेर्दी भएँ म।

त्यसपछि त मेरो होसहवास नै उड्यो। अगाडि जाऊँ कि पछाडि फर्कौं भएँ। खुट्टा उचाल्नै सकिनँ। पूरै खुट्टा र शरीर गलेर पाइलै चाल्न नसक्ने भएँ। शरीर पसिनाले निथ्रुुक्कै भिज्यो। त्यतिबेला १० वर्षकी थिएँ। ५ कक्षामा पढ्थें। भाइ ८ वर्षको थियो। ४ कक्षामा पढ्थ्यो। एक हातले भाइको हात दह्रो समातें र अर्को हातमा किताब समातेर हस्याङफस्याङ गर्दै आफू बसेको सेल्टरतिर फर्कियौं। बाटोमै शंकर राउत दाइ भेटिनुभयो। शंकर दाइकै घरमा हामी बसेका थियौं। उहाँ त्यहाँको जनशिक्षककार प्रमुख हुनुहुन्थ्यो। हामीलाई सेनाले विद्यालयबाट गिरफ्तार गरेर मार्ने कुराको सुइँको पाएर विद्यालयतिरै हतारहतार आइरहनुभएको रहेछ। बाटोमै भेटाउनुभयो। तर हामी त मृत्युको मुखबाट बल्लतल्ल फर्किसकेका थियौं। त्यहाँबाट शंकर दाइले हामीलाई काँधमा बोकेर जंगलतिर लुकाउन छिर्नुभयो। अहिले उहाँ हामीसँग हुनुहुन्न। सदाका लागि यो संसारबाट बिदा हुनुभएको छ। २०७६ कात्तिक २६ गते साथीहरूसँग जंगलमा सिकार खेल्न गएको बेला गोली लागेर उहाँको निधन भयो।

२०५५ सालमा बुवा जामुन चौधरी र बुवाका साथीहरू मोहन कटुवाल र चक्र राईलाई प्रहरीले गिरफ्तार गरी हत्या गरे। हामी सानै थियौं। बुवालाई देखेको स्मरणसमेत छैन। अरू विषय त परकै भए। बुवाको माया पाउन सकिएन। २०५५ सालमा आमा इन्द्रावती अधिकारी, चारू दनुवार, कुसुम दनुवार, दयावती दनुवार, उर्मिला भुजेल, तासकुमारी माझी, शारदा थापा, विष्णु खत्रीलाई एकै दिन घरबाट गिरफ्तार गरी प्रहरीले जेल चलान गर्‍यो। पहुँच हुनेहरूले जेलबाट आफ्नो मान्छे निकाले। तर मेरो आमाको पक्षमा कोही थिएन। त्यसपछि मेरी आमा जेलमा निर्मम यातनाको दासी बनिन्। भनौं, पारिवारिक जीवन नै दुःखमा फेरियो।

बुवाले त्यसबखत भूमिगत भएर घर छाडिसक्नुभएको थियो। भाइ त्यतिबेला ३/४ वर्षको थियो। छोराको पर्खाइमा हामी तीन बहिनी जन्मेपछि भाइ जन्मेका थिए। मभन्दा एक, दुई वर्ष मात्र कान्छा छन् भाइ। कान्छो छोरा भएकाले परिवारमा निकै माया थियो। त्यसैले भाइ ३/४ वर्षसम्म आमाको दूध खान छोडेको थिएन। त्यसैबेला आमा जेल पर्नुभयो। भाइ दिनरात सुत्नै छाड्यो। आमा..दुदु....भनी रहन्थे। गाउँमा को सुत्केरी छ, दिदी र आन्टीहरूले दूध चुसाउन त्यहाँ पुग्नु हुन्थ्यो। एक दिन दिदीसँग दुधौलीस्थित मामा घरतिर लागेका थियौं। बाटोमा भाइले निकै हैरान पारेको थियो। दिदीले एकजना बच्चाबाली बटुवा आन्टीलाई आग्रह गरेपछि भाइलाई दूध खुवाएको स्मरण छ। भाइ त आमा र आमाको दूधबिना टुहुरो भयो।

बिहानबेलुका आमाको खाना पुर्‍याउन कारागार दिदी र अंकल आन्टीसँग जान्थ्यौं। जहाँ आमा बन्दीगृहमा हुनुहुन्थ्यो। समयमा विद्यालय जानुपर्ने। समयमै आमाको खाना पुर्‍याउन धाउनुपर्ने दैनिकी बन्न गयो हाम्रो जीवन। त्यसपछि दिदीहरूको आलोपालो हुन थाल्यो विद्यालय पनि। अनि हाम्रो पढाइ पनि कमजोर हुन थाल्यो। विद्यालयमा शिक्षकले दिएको गृहकार्य पनि पूरा गर्न कठिन हुन थाल्यो। हामी त अभिभावकबिना टुहुरा भयौं। विद्यालयमा केही शिक्षकहरूले हेप्न र गिज्याउन थाले। समाजका केही मान्छेले पनि त्यस्तै गरी हेप्न थाले। बरोबर ‘तिमीहरू दनुवारनीकी छोरी न हौ, पढ्न सक्दैनौ’ भन्नेसम्मको अपमान सहनु पर्‍यो। दुई दिदीको पढाइ अधुरो हुन पुग्यो। बीचमै दुवैले पढाइ छाडे।

आमाको खाना पुर्‍याउन कारागारभित्र छिर्दा गेटमै पहिलो खाना प्रहरीले खान्थ्यो। जहिले पनि कडाइपूर्वक चेकजाँच गर्थ्यो। अनि मात्र दर्जनौं घेरा क्रस गरेर क्यामभित्र आमाको शरणतिर पुग्थ्यौं। त्यो पनि आमनेसामने मात्र। बीचमा फलामे रडको ढोका थियो। पुग्नासाथ आमाले कारागारभित्रबाट दुवै हात फलामे दुलोबाट बाहिर निकालेर हाम्रो गाला सुम्सुम्याउनु हुन्थ्यो। गहभरि आँसु झारेर रुनु हुन्थ्यो। आमासँगै हामी पनि रुन्थ्याँं। ‘अब मेरो जीवन रहँला नरहँला। तिमीहरू राम्रोसँग पढ्नू। ठूलो मान्छे बन्नू। झैझगडा नगर्नू। भाइलाई राम्रोसँग हेर्नू।’ सधैं भन्नुहुन्थ्यो आमा।

आमाको जीवनको अनिश्चित बन्यो। प्रहरीले आमालाई फेरि खोज्न थाल्यो। घरबार सबैतिर छापा हाल्न थाल्यो। त्यसपछि हाम्रो पूरै परिवार र गाउँ माओवादीमै समाहित भयो। सेना र प्रहरीले दर्जनौं पटक घर र गाउँ घेरा हाले। खानतलासी गरे। थुप्रै गाउँले अनावश्यक गिरफ्तार र यातनाको सिकार बने।

दिनदिनै गिरफ्तार र हत्याका घटनाले आमाको जेलजीवन कष्टकर हुन थाल्यो। त्यसपछि बुवालाई चिनेको एकजना गाईघाटको बैकुण्ठ दाहाल वकिल हुनुहुन्थ्यो। उहाँले पहल थाल्नुभयो। ३५ दिनपछि लालपुर्जा राखेर आमा तारिखमा छुट्नुभयो। तीन वर्षसम्म तारिख धाउनुभयो। बीचमै २०५५ कात्तिक १२ गते बुवा जामुन चौधरी र उहाँका दुई साथी मोहन कटुवाल र चक्र राईलाई गिरफ्तार गरी कटारीको चिम्टाघारीमा लगेर दोहोरो भिडन्तको नाममा तीनै जनालाई गोली हानी हत्या गरियो। २०५९ सालमा मोहन कटुवालको श्रीमती गंगालाई प्रहरीले घरबाटै गिरफ्तार गरी ताराघारी आर्मी क्याम्पमा ल्याएर निर्ममतापूर्वक हत्या गर्‍यो। गंगा आन्टीले हामीलाई निकै माया गर्नुहुन्थ्यो। सम्झना छ, उहाँले हामीलाई लुकाएर राख्नुहुन्थ्यो। अहिले पनि पारिवारिक सम्बन्ध नै छ। हाम्रो सुरक्षा पनि उत्तिकै गर्नुहुन्थ्यो। परिवारले गंगा आन्टीको लास पनि पाएन।

त्यसपछि मेरी आमाको जीवनको अनिश्चित बन्यो। प्रहरीले आमालाई फेरि खोज्न थाल्यो। घरबार सबैतिर छापा हाल्न थाल्यो। त्यसपछि आमाले हामीलाई काखमा बोकेर २०५९ सालमा भूमिगत हुनुभयो। हामी आमासँगै पहाडतिर पुग्यौं र पार्टीको सम्पर्कमा गयौं। त्यसपछि हाम्रो पूरै परिवार र गाउँ माओवादीमै समाहित भयो। सेना र प्रहरीले दर्जनौं पटक घर र गाउँ घेरा हाले। खानतलासी गरे। थुप्रै गाउँले अनावश्यक गिरफ्तार र यातनाको सिकार बने। निकै दुःखको सामना गरियो। आमासँगै पार्टीको आधार इलाका पहाडमा छिर्‍यौँ।

त्यसपछि आमाको नाम फेरिएर नयाँ भयो– जेनी आन्टी। हाम्रो नाम पनि फेरियो। जेठी दिदी बबिताबाट सुनिता भइन्, माइली दिदी नीलमबाट रीमा भइन्, म भने शर्मिलाबाट ज्योति र कान्छो भाइ किरणबाट विजय भए। सबैको काम पनि पार्टीले बाँडफाँट गरिदियो। जेठी दिदी सुनिता जिल्ला जनमिलिसियामा भर्ती भइन्। माइली दिदी रीमा जामो स्मृति सांस्कृतिक परिवारमा (बुवाको सहादतपछि बनेको जनसांस्कृतिक टिम) गीतसंगीत गाउने र नाच्ने कलाकारमा फेरिइन्। आमाले पार्टीको नेताकार्यकर्ता तथा सेनाको व्यवस्थापनका लागि पार्टीको निर्देशनमा खाद्यान्नको स्टोर रुङ्ने र व्यवस्थापन गर्ने भइन्। हामी साना दुई दिदीभाइलाई पार्टीले शिक्षा र सुरक्षाका लागि सुरक्षित ठाउँ आधार इलाकातिर पठायो।

उदयपुरको विकट ठाउँ ताप्ली, ताम्लिछा, रौता, सोरुंग, छबिसे, खुट्टी, मयांग, थाना गाउँलगायतका विभिन्न ठाउँको विद्यालयहरूमा पार्टीले लुकाउँदै पढाउँदै गर्थ्यो। टोलीको बास जहाँ हुन्थ्यो त्यही नजिकको विद्यालय हाम्रा लागि पाठशाला हुन्थ्यो। कुनै बेला सेनाले घेरा हाल्ने वा त्यस्तो खतराको सूचना आउँदा छोटै समयमा ठाउँ पनि परिवर्तन हुन्थ्यो। पढाइ पनि परिवर्तन हुन्थ्यो। पढाइ र बसाइको कुनै निश्चित ठाउँ हुँदैनथ्यो। हप्ता, दस दिनमा हाम्रो पढ्ने विद्यालय फेरि रहन्थ्यो। त्यो परिस्थितिमा भर पर्थ्यो। हाम्रो सुरक्षामा मीनकुमार, दीपक र वसन्त अंकल, कोपिला, इन्द्र र नमुना दिदीहरूको ठूलो भूमिका हुन्थ्यो। हामी सानै थियौं। उहाँहरूले नै हामीलाई काँधमा बोकेर खोलानाला र भीरपाखातिर लगेर लुकाउनु हुन्थ्यो।

पटकपटक हाम्रो नाम ठेगाना परिवर्तन गर्नुहुन्थ्यो। पछि पहाडमा वर्गसंघर्षले चर्को रूप लियो। मोर्चाबन्दी लडाइँले उग्ररूप लियो। तत्कालीन शाही सेना र जनमुक्ति सेनाबीच दिनहुँजसो भिडन्त हुन थाल्यो। भिडन्तमा दुवैतिरका मानिस मारिन थाले। परिणामतः पहाडतिर हामीमाथि सुरक्षा चुनौती बढ्यो। जेठी दिदी सुनिता पनि उदयपुरको लिम्पाटारमा सेनाको घेरामा परेर गिरफ्तार परिन्। त्यसै घटनामा भावना गिरी चाहिँ मारिइन्। त्यसपछि हामीलाई पार्टीले तराईको शिक्षककहाँ लहानमा सुरक्षित स्थानतिर सारे। त्यहाँ मेरो नाम र अभिभावक पनि फेरियो।

अभिभावक गोविन्द चौधरी हुनुभयो र नाम ज्योतिबाट पार्वती चौधरी भएँ। भाइको अभिभावक पनि फेरियो। भाइको अभिभावक इन्द्र राउत हुनुभयो। भाइको नाम पनि विजयबाट विकास र सुशील भयो। पढाइका लागि म लहानको पशुपति उच्च माविमा भर्ना भएँ। मेरो सबै व्यवस्थापन सप्तरीको गोविन्द चौधरीले गरेका थिए। उहाँलाई पछि शान्तिकालमा विरोधीहरूले गोली हानेर मारे र उहाँ सहिद हुनुभयो। भाइ विकासलाई सप्तरीको राजविराज लिटिल फ्लावर विद्यालयमा नन्दलाल आचार्य शिक्षककोमा पुर्‍याइयो। बसाइ भने सप्तरी रेडक्रस एम्बुलेन्सको ड्राइभर गुलाबको घरमा भयो। म्याजिक स्टेसन नजिकै गुलाब खाँको घर थियो।

पछि भाइ दिनभर पढाइ छाडेर टेम्पोको खलासीको काममा गर्न थाले। बिग्रिने संगत भएपछि त्यहाँबाट भाइलाई ल्याएर मसँगैको विद्यालयमा भर्ना गरें। भाइको सबै रेखदेख गर्ने जिम्मा इन्द्र राउतको थियो। उहाँ अहिले पनि हुनुहुन्छ। बाल्यकालमै तराईमा भूमिगत पढाइ र बसाइको यात्रा सुरु भयो। म चञ्चल स्वभावकी थिएँ। हामी बसेको ठाउँ र पढेको विद्यालय असुरक्षित महसुस भयो। त्यसपछि हाम्रो ठाउँ र पढ्ने विद्यालय पनि फेरियो। पशुपति विद्यालयबाट लहानको रामचन्द्र गुप्ताको बोर्डिङ विद्यालय नेपाल पब्लिक बोर्डिङ विद्यालयमा बोर्डस्सहित भर्ना भयौं। महिनौं दिनमा आमासँग भेटघाट हुन्थ्यो। हामीलाई पार्टीका मान्छेहरूले लहानदेखि २०/३० किलोमिटर उत्तरपट्टिको चुरे जंगलतिर पार्टीको आधार इलाकामा लगेर भेटघाट गराएर ल्याउनुहुन्थ्यो। अहिलेको जस्तो हातहातमा मोबाइल र घरघरमा टीभी र इन्टरनेटको दुनियाँ थिएन।

आमासँग धेरै दिनमा भेटघाट हुँदा हामी निकै खुसी हुन्थ्यौं। ‘तिमीहरू ठूलो मान्छे बन्नू। मेरो जीवनको कुनै भर छैन। बुवा पनि बित्नुभयो।’ आमा भेटपिच्छे यही भन्नुहुन्थ्यो। आमासँगको भेटमा खुसीले हामी रातभर जाग्राम नै बस्थ्यौं। रातभर आमासँग सुखदुःखका कुरा बिसाउँथ्यौं। रातभर आमाको काखमा सुत्न पाउँदा अर्कै स्वर्गानुभूति हुन्थ्यो। आमाको काखमा निदाउन दिदीभाइको तँछाडमछाड हुन्थ्यो। तर त्यो स्वर्गानुभूति काख केही समयका लागि मात्र भेटिन्थ्यो। त्यसपछि भेटघाटको समय सकिन्थ्यो। हामी आमासँग रुँदै बिछोड हुन्थ्यौं। आमा पार्टीको काममा फर्किनु हुन्थ्यो। हामी भने विद्यालयतिर फर्किन्यौं।

२०५९ सालतिर लहानमाथि जनमुक्ति सेनाले आक्रमण गर्‍यो। हामी फेरि असुरक्षित भयौं। लहानबाट हामीलाई पार्टीले उदयपुरको आधार इलाका (जनसत्ता)  मयँखुको गोठडाँडा गाउँमा जनशिक्षककार प्रमुख शंकर राउत दाइको घरमा ल्याएर राखेको थियो। मलाई त्यहाँको जनता उच्च माविको कक्षा ५ मा र कक्षा ४ मा भाइको एडमिसन भयो। हामी अरूको घरमा बसेर पढ्न थाल्यौं। अरूकै घरलाई आफ्नो घर मानेर घरको कामकाज गर्दै समयमा विद्यालय जान थाल्यौं। अरूकै आमाबुवालाई आफ्नो आमाबुवाभन्दा पनि महान् ठान्न थाल्यौं। रगतको नाताभन्दा वर्गीय नातालाई आत्मसात गर्न थाल्यौं। मेरो बाल्यकालको जीवन समर मैदानमा फुल्यो र हुर्कियो।

२०६१/०६२ सालतिर देशको परिस्थितिमा निकै बदलाब आइसकेको थियो। त्यसपछि हामी आफ्नै नगरी उदयपुरको कटारी आइपुग्यौं। त्यसपछि कटारीको त्रिवेणी विद्यालयमा कक्षा ८ मा भर्ना भएँ। भाइ सुशीललाई सिन्धुलीमा सीपी गजुरेलको आफन्तको बोर्डिङ विद्यालयमा भर्ना गरियो। तबसम्म देशको परिस्थिति झन् बदलिसकेको थियो। अर्थात् सामान्य स्थिति बनिसकेको थियो। मैले त्रिवेणी माविबाटै २०६५ सालमा एसएलसी पास गरें। त्यसपछि उच्च शिक्षाका लागि शिक्षकहाँको मिर्चैया मोहन उच्च माविमा भर्ना गरें। प्लस टु पास गरें र बीएडमा पढ्न थालें।

विभिन्न आरोह अवरोहबीच मुलुक २०६२/०६३ मा संयुक्त राजनीतिक आन्दोलन भयो। तत्कालीन सात राजनीतिक दलको रूपमा तत्कालीन नेकपा माओवादी विद्रोही पक्षबीच मुलुक शान्ति प्रक्रियामा छिर्‍यो। मेरी आमा २०६४ सालको अन्तरिम संविधानको समानुपातिक सांसद हुनुभयो। त्यसपछि हाम्रो बसाइ आमासँगै काठमाडौं हुनपुग्यो। काठमाडौंको तीनकुनेमा माओवादी सांसदहरू बस्ने छुट्टै घर थियो भाडामा लिएको। पार्टी केन्द्रको प्रकाशनलगायतको धेरै काम त्यहीँ हुन्थ्यो। धनुषाकी सांसद रामकुमारी यादव जसको ग्याँस दुर्घटनामा त्यहीँ मृत्यु भयो, उहाँको कोठामा उनीहरूसँग भेटघाटका लागि कहिलेकाहीँ जनमुक्ति सेनाको क्याम्पबाट राजेश विद्रोही आउनुहुन्थ्यो। उहाँसँग त्यही चिनजान भयो। उनी सीमान्तकृत समुदायका रहेछन्। मन, भावना र विचार मिलेपछि अरू सबै कुरा सहायक हुन्थ्यो। जातपातको कुरा सामान्य थियो। अहिलेको जस्तो थिएन। माओवादी आन्दोलनका कारण सबै मौन थियो।

एक दिन किताब प्रकाशन गर्न राजेश हामी बसेको तल्लो फ्लाइटमा इन्द्र राउतको प्रकाशन विभागमा आउनुभएको थियो। इन्द्र दाइले हाम्रो दुवै जना जोडीका बारेमा आमासँग सिरियसली कुरा चलाइदिनुभयो। त्यहाँदेखि नै हामी दुवैजना अलिक नजिक भयौं। फोन नम्बर पनि आदानप्रदान भयो। हाम्रो फोन संवाद नै मायाप्रेमको रूपमा बदलियो। दुई जीवन एउटा जीवनमा जोडियो। मैले एक दिन उनलाई सोधें, ‘हजुरले बिहे गर्नुभएको छ कि छैन ?’ उनले ‘छैन’ भने। त्यसपछि ‘मैले कस्तो केटी खोज्नुभएको हो ?’ भनें। उहाँले ‘तिमीजस्तै चौबिसै घण्टा हाँसी राख्ने खोजेको हो’ भन्नुभयो। अनि मैले भने., ‘मजस्तै कहाँ खोज्नु त ?’ उनले फेरि भने, ‘खोज्दै गर्नू, भेटी हाल्छ नि। नभेटे तिमी छँदै छौ नि।’ त्यसपछि लजाएर फोन राखिदिएँ।

त्यहीँबाट हामी नजिकिँदै गयौं। पछि आमालाई थाहा भयो। केही दिन त आमा केही बोल्नु भएन। त्यसपछि पार्टीकै साथीहरूबाट राजेशको जातको बारेमा सोधिखोजी गर्न थाल्नुभयो। त्यसपछि आमा नाराज हुनुभयो। मलाई निकै निगरानी गर्न थाल्नुभयो। मेरो लगाव र सम्बन्ध बाल्यकालदेखि नै वर्गीय विचार र व्यवहारको समरमैदानसँग जोडिएकाले निकै सचेत भइसकेकी थिएँ। मैंले यो जातपात र मधेसी–पहाडी केही पनि होइन, मुख्य कुरा वर्गीय सम्बन्ध र वर्गीय आन्दोलन नै हो भन्ने प्रभाव परिसकेको थियो।

कम्युनिस्ट विचारको पार्टी राजनीतिमा त्यो शोभनीय हुँदैन। मान्छे भनेको मान्छे नै हो। प्रेम गरिहालें। यो निरन्तर हुनुपर्छ भन्नेतिर लागें। भाँड्ने र बिगार्नेको कमी थिएन। घरदेखि बाहिरसम्म। कमरेडदेखि गैर कमरेडसम्म। केही समय पार्टीदेखि परिवारसम्म यस्तै कोलाहल मच्चियो। त्यसपछि मैले सहन सकिनँ। उनलाई फोन गरेर बोलाएँ। र, उनी वसेको क्याम्प सिन्धुलीको चन्दनपुरमा रहेको सोलुसल्लेरी ब्रिगेड पुगें। त्यहाँ पनि मधेसीसँग बिहे गर्छस् ? मारेर, पोलेर फाल्छ... भन्नेहरू धेरै भए। म आफ्नो मन, वचन र कर्ममा अडिग रहें।

२०६४ जेठ १५ गते मुलुकमा गणतन्त्र घोषणा भएकै दिन। उहाँसँग सामान्य तरिकाले जनवादी विवाह भयो। अहिले दुईवटा छोरा छन्। माइतीदेखि ससुरालसम्मको सम्बन्ध सुमधुर छ। मुनाफाको जीवन बाँचेका हामी आज स्मृतिको पानामा ती दिनहरूको मीठा सपना देखिरहेकी छु। थुप्रै अग्रजहरूलाई र महान् सहिदहरूलाई सम्झिरहेकी छु। जो परिवर्तनको महान् यात्रामा हेर्दाहेर्दै आँखा अगाडि ढलेको दृश्य आज पनि ताजै लागिरहेको छ। यदि म पनि त्यो दिन गिरफ्तार भएको भए, सायद उहाँहरू जस्तै स्मृतिको पानामा टोलाइरहेकी हुन्थें अजर–अमर भएर। आजको परिवर्तनले सबैलाई छुन नसके पनि मुलुकमा ठूलो राजनीतिक परिवर्तन भएको छ। सामाजिक सांस्कृतिक परिवर्तन बाँकी रहेको महसुस रगतको नाताभन्दा वर्गीय नाता साँच्चिकै महान् हुँदोरहेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.