पुल नबन्दा युवाहरु काँधमै बोकेर तार्छन् मोटरसाइकल

पुल नबन्दा युवाहरु काँधमै बोकेर तार्छन् मोटरसाइकल

कालिकोट: गत वर्षको साउन महिनामा भारी वर्षा आयो । जिल्लाका विभिन्न ठाँउमा बाढी-पहिरो गयो ।

जिल्लाभरी जम्मा ५१ जनाले बाढी र पहिरोमा परेर ज्यान गुमाए । सयौँ नागरिक घाइते भए । हजारोँ नागरिक घरबार विहीन भए । त्यसै वर्षाका कारण जिल्लाको रास्कोट नगरपालिका वडा नं. ९ स्थित फुगाड खोलामा ठूलो बाढी आयो ।

कर्णाली करिडोरमा नेपाली सेनाले बनाएको बेलिब्रिज र वर्षौँअघि बनेको झुलंगे पुल बाढीले बगायो । त्यससँगै स्थानीयका तीन घर, माछापालन, तरकारी खेती सबै बग्यो । तरकारी खेती र धान फल्ने खेत बगर बने । त्यसपछि फुगाड खोलामा पुल बनेन । गाडीहरु खोलाबाट गुडाउन थालियो ।

यस वर्ष पनि फुगाड खोलामा पानीको बहाव दिन प्रतिदिन बढ्दैछ । यातायात सेवा अवरुद्ध भयो । स्थानीयले मोटरसाइकल यात्रा गर्दा खोलामा गुडाएर ल्याउन सकिँदैन । आसपासमा बसोबास गर्ने स्थानीय युवाहरुले प्रति मोटरसाइकल एक हजार तिरेर बोकेर खोला पार गर्नु परेको छ ।

असारको महिनापछि खोलामा गाडीहरु सहजै तर्न सक्दैनन् । स्थानीय खीम बरालले भने, "कहिले खोलामा पानी घट्छ । कर्णाली करिडोरमा खोलाबाटै गाडी तर्छन् । पानी परेको दिन खोलामा भेल बढ्छ । गाडी चल्न सक्दैनन् । मोटरसाइकल दश जनाजति युवाले बोकेर तार्नुपर्छ । मोटरसाइकल तार्न स्थानीयले ज्यानै जोखिममा राखेर बोकेर खोलो पार गर्छन् ।"

कर्णाली करिडोरको लालिघाटदेखि घाटाचौरसम्म दर्जनौँ ठाँउमा पहिरो र खाल्डाखुल्डी छन् । ठाँउ ठाँउमा गाडी फसेर यात्रा निकै कठिन छ । मोटर साइकलमा दुई जनालाई यात्रा गर्न समस्या हुन्छ । गाडी चालक महेश न्यौपानेले भने, "कर्णाली करिडोर दिन प्रति दिन बिग्रिँदै गएको छ । बाढी पहिरोका कारण सडकको स्वरुप नै बिगारिदिएको छ । फुगाडमा पुल नबन्दा खोलाबाट ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छौँ । पैदल यात्रा गर्ने यात्रुहरुलाई पनि उस्तै समस्या छ । बिरामीलाई सदरमुकाम ल्याउन पनि समस्या छ । कति बेला खोलामा बाढी आउँछ पत्तो हुदैन । छिनमै पानी घट्छ छिनमै पानी बढ्छ ।"

पुल निर्माण अन्योल

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले कर्णाली करिडोर नेपाली सेनाले सडक विभागलाई हस्तान्त्रण गरिसकेको हुनाले अब फुगाड खोलामा पुल पनि सडक विभागले नै निर्माण गर्ने बताएका छन् ।

उनले भने, "नेपाली सेनाले करिडोर सडक विभागलाई हस्तान्त्रण गरिसकेको हो । पहिले फुगाड खोलामा खोलाको चौडाइ कम थियो । बेलिब्रिजले नै भ्याउने भएका कारण सेनाले बिलिब्रिज बनायो । गत वर्षको बाढीले पुल बगायो । खोलाको चौडाइ बढ्यो । पछि प्राविधिक कठिनाइका कारण बिलिब्रिज जडान गर्न नसकिने अवस्था आयो । पक्की पुल निर्माणको लागि नेपाली सेनाको जिम्मा थिएन । अब सडक विभागले नै फुगाडमा पुल निर्माण गर्छ । 

डिभिजन सडक कार्यालय जुम्लाका प्रमूख इन्जीनियर लीलाबहादुर भण्डारीले फुगाडको पुलको विषयमा आफुलाई जानकारी नभएको बताए । उनले कर्णाली करिडोरलाई हुम्लाको आयोजना प्रमूखले बुझे पनि आफुहरुले नबुझेको बताए । उनले भने, "फुगाडमा पक्कील पुल कहिले बन्छ मलाई थाहा छैन । हामीले बुझेका पनि छैनौँ । कहिले बन्छ फुगाडमा पुल भन्ने विषयमा मलाई जानकारी छैन ।"

सडक विभागको हिल्शा सिमिकोट सडक आयोजना प्रमूख बिसुनदाश लामाले फुगाड खोला लगायत कर्णाली करिडोर अन्तरगत ५ वटा ठाँउमा बेलिब्रिज निर्माण गर्ने गरी प्रक्रिया सुरुवात गरिसकेको बताए । उनले भने, "अहिले खोलाको बहाव बढेकाले केही गर्न सकिने अवस्था छैन । खोलामा पानी घट्यो भने फेरि ५० मिटरको बेलिब्रिज जडानका लागि तयारी गरेका छौँ । ५ वटा बेलिब्रिजका लागि फाइलहरु सडक विभागमा पेश गरिसकेका छौँ । स्वीकृत भयो भने खोलामा पानी घटेपछि काम अगाडी बढ्छ ।"


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.