थापाको ‘के जिन्दगी ?’
ललितपुर : हर्ष थापाको आत्मकथाका रूपमा लेखिएको कविता संग्रह ‘...के जिन्दगी ?’ शनिबार विमोचन गरिएको छ। महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र नेपाल ललितकला प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले कविता कृति विमोचन गरेका हुन्।
नगर प्रमुख श्रेष्ठले अलग अलग विषयमा फरक ढंगले विषय प्रस्तुत गरेको भन्दै कवि थापालाई निरन्तर कृति लेख्न प्रोत्साहन गरेका थिए। उनले सरल लेखनका कारण पाठकलाई कविता बुझ्न सहज हुने र सबैले विषयवस्तु सहजै ग्रहण गर्ने बताए। पूर्वकुलपति मानन्धरले के जिन्दगीभित्र जीवन र जगतसँगै प्रकृतिको चित्रण गहन ढंगले गरेको जानकारी दिए। कृतिको आवरण उनैले बनाएका हुन्। स्वामी कृष्णमणिजी महाराजले के जिन्दगीका पाठकले हर्षबाट प्रेरणा लिएर जीवन सहज र सरल बनाउने बताए। सम्पादक गोपीकृष्ण ढुंगानाले संग्रहमा हर्षले जीवनको सम्पूर्ण पक्ष भोगेजसरी कविताहरूमा उतार्न सफल भएको बताए। ‘हर्षको सिर्जना व्यावहारिक छ, उनले न कसैलाई रिझाउन लेखे न कसैलाई चिड्याउन’, उनले भने।
कवि थापाले चिनजानको मान्छे क्षणभरमै गुमाउँदाको सन्दर्भले के जिन्दगी ? जन्मिएको बताए। ‘यो काव्ययात्रामा अहिलेसम्मको जीवनीलाई छोटो रूपमा प्रस्तुत गरेको छु। जसमा मेरो जीवनको पूर्ण चिनारी जगजाहेर हुनेछ’, उनले भने। जीवन यात्रा, संस्थामा आवद्धता, राष्ट्रिय भावना, नेपाली भजन, हिन्दी भजन र विविध विधाका लेखन गरी पाँचवटा खण्ड छन्।