विदेशमा कोभिडबाट ४८६ नेपालीको मृत्यु: सबैभन्दा धेरै मलेसियामा
काठमाडौँ: विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९)का कारण विदेशी भूमिमा ४ सय ८६ जना नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार २९ देशमा ४ सय ८६ जना नेपालीको मृत्यु भएको हो । संघका अनुसार पछिल्लो तीन सातामा विदेशमा थप ३९ जना नेपालीको मृत्यु भएको छ । मलेसियामा ३७ जना, इराक र युगान्डामा १/१ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।
संघका अनुसार इराकमा पहिलो पटक कोरोनाका कारण नेपालीको ज्यान गएको छ । संघको स्वास्थ्य समितिका अनुसार हालसम्म ५४ देशमा १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोरोनामुक्त भइसकेका छन् ।
समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१.८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन् । विगत दुई सातामा मलेसिया र भारतमा रहेका नेपालीमा कोरोना जोखिम देखिएको छ । कोरोना संक्रमण हुने क्रम बढेको संघले जनाएको छ ।
गैरआवासीय नेपाली संघले कोरोना भाइरस महामारी सुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्धारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको कोभिड १९ उच्चस्तरीय समितिका संयोजक चिरन शर्माले जानकारी दिए ।