रिजवानको कीर्तिमान
गुयना : पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहमद रिजवानले टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाएका छन्। २९ वर्षीय ब्याट्सम्यान रिजवानले टीट्वेन्टी क्रिकेटमा एकै वर्षमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन्।
कोरोनाले प्रभावित सन् २०२१ मा रिजवानले सात सय ५२ रन जोड्दै कीर्तिमान बनाएका हुन्। उनले १५ टीट्वेन्टी खेलको १४ पालिमा यो कीर्तिमान बनाएका हुन्। रिजवानले एक शतक र सात अर्धशतक बनाएका छन्। कीर्तिमान बनाउने क्रममा उनको स्ट्राइक रेट १४०.०३ छ। उनले २५ छक्का र ६५ चौका हिर्काएका छन्।
घरेलु टोली वेस्ट इन्डिजविरुद्धको दोस्रो टीट्वेन्टी क्रिकेटमा रिजवानले यो कीर्तिमान बनाएका हुन्। वेस्ट इन्डिजविरुद्ध रिजवानले ३६ बलमा ४६ रन जोडेका थिए। उनले आफ्नो पालिमा दुई छक्का र दुई चौका हिर्काएका थिए। उनी इभिन लेविसबाट रनआउट भएका थिए। उनकै आक्रामक ब्याटिङमा पाकिस्तानले घरेलु टोलीलाई सात रनले पराजित गरेको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो। पाकिस्तानका लागि कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय पालि खेलेका थिए। यसैगरी सर्जित खानले २० तथा फाखर जामनले १५ रन बनाएका थिए। वेस्ट इन्डिजका जासन होल्डरले चार तथा डीजे ब्राभोले दुई विकेट लिए। एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले चार विकेट गुमाएर एक सय ५० रन मात्र बनाउन सक्यो। वेस्ट इन्डिजका निकोलस पुरनले अविजित ६२ तथा इभिन लेविसले ३५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
रिजवानले आयरल्यान्डका पाउल स्ट्रर्लिङको कीर्तिमानलाई पछाडि छाडेका हुन्। पाउलले सन् २०१९ मा सात सय ४८ रन जोड्दै कीर्तिमान बनाएका थिए।