मेलम्चीमा महाभुल
२०४८ सालमा निर्वाचन प्रचारका क्रममा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनावी सभाको भाषणमा भनेका थिए, ‘मेलम्ची खोलाको पानी ल्याएर काठमाडौंका सडक पखालिनेछ।’ भट्टराईको भाषणपछि मेलम्चीको पानीको चर्चा सुरु भएको थियो। सो समय पनि यो विषय भाषणमा सीमित हुने आशंका धेरैमा थियो। भट्टराईको भाषण अगाडि पनि यो आयोजनाको प्रारम्भिक अध्ययन भने नभएको कहोइन। २०२० सालको अन्त्यतिर सरकारी निकाय र दाताहरूले भविष्यमा पानीको अपर्याप्ततालाई हेरी वैकिल्पक स्रोतका रूपमा मेलम्चीलाई राखेका थिए। बेलायतको अन्तर्राष्ट्रिय संस्था बिन्नी एन्ड पार्टनर्सले सन् १९७३ तिर काठमाडौंको खानेपानीबारे अध्ययन गरी गुरुयोजना बनाएको तथ्य भेटिन्छ। उक्त गुरुयोजनामा विभिन्न सम्भाव्य आयोजनामध्ये एउटा मेलम्ची भएको निक्र्योल गर्दै अध्ययन प्रतिवेदन तत्कालीन सरकारलाई बुझाएको थियो।
कतिपय जानकारहरूले मेलम्चीको पानी काठमाडौंमा ल्याउने तत्कालीन राजा वीरेन्द्रकै परिकल्पना भएको समेत बताउने गरेका छन्। विभिन्न समयमा धेरै कल्पना र परिकल्पना भए पनि एक छल्को मेलम्चीको पानी केही समयअघि काठमाडौंमा झर्यो। कृष्णप्रसादले भनेजस्तो काठमाडौंका सडक पखाल्न नपाए पनि नागरिकले पानी झरेको देखे। तर, अहिले पुनः एकै रातमा आएको बाढीले आयोजनालाई अन्योलतातर्फ धकेलिदिएको छ। पाँच अर्ब रुपैयाँ लगानी र २२ वर्षको मेहनत एक रातमै चक्नाचुर भयो। मेलम्ची नदीमा असार १ गते आएको बाढीले आयोजनालाई क्षतविक्षत बनाएको छ। वर्षायाममा खोलामा बाढी आउनु स्वाभाविक हो तर यत्रो ठूलो राष्ट्रिय गौरवको आयोजना निर्माण गर्दा ‘सम्भावित जोखिम’तर्फ ध्यान नपुग्दा क्षति भोग्नु परेको छ।
कुन काम कहाँबाट कसले सुरु गर्ने ? नयाँ योजनाबारे अन्योल नै छ। बाढीले परियोजनाको सुरुआत विन्दु, बाँध, अडिट सुरुङ, हेडवर्कस, प्रवेश मार्ग, पुल र सुरुको बिन्दुका संरचना क्षतिग्रस्त छ। बाढीले मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचनासम्मको आठ किलोमिटर बाटोको नामनिसाना नहुँदा मुख्य संरचनासम्म पुग्न कठिन छ। कामदार र तत्काल डोजर पुग्ने अवस्था छैन। जसका कारण पुनर्निर्माणको काम कसरी सुरु गर्ने अन्योल छ। मेलाम्चीको पानी काठमाडौंमा वितरण सुरु गर्न थाल्दा पनि कतिपय संरचना निर्माण बाँकी नै थियो। जस्तै, हेडवर्कस् निर्माण पूर्ण रूपमा नभइसकेकाले अस्थायी बाँध बाँधेर सुरुङमा पानी हालिएको थियो। यसको काम अब बाढीले सुरुबाटै गर्ने अवस्थामा पुर्याएको छ।
गौरवको यो आयोजनाको पुनर्निर्माण कहिले सुरु हुन्छ प्राविधिकहरू नै यसको जवाफ दिन सक्ने अवस्थामा छैनन्। सरकारले विशेष निर्णय गरेर नयाँ व्यवस्था नगरेसम्म आयोजनासँग पुनर्निर्माणका लागि बजेटसमेत छैन। बाढीपछिको पुनर्निर्माणमा एक अर्ब ८८ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। आयोजना स्थलसम्म जान सक्ने अवस्था नभएकाले खर्च गर्नुपर्ने बजेट पनि अनुमानित नै हो। बाढीले क्षति पुर्याएको यतिका समयसम्म अनुमानमा गर्नबाहेक अन्य काम भएको छैन। सुरुआतमा राष्ट्रिय गौरवको आयोजना निर्माण गर्दा ‘सम्भावित जोखिम’तर्फ ध्यान नपुर्याउँदा क्षति त भयो नै अब यो आयोजना पुनः सञ्चालन गर्ने र अध्ययन गर्ने विषयमा गम्भीर भएर सोच्ने समय हो।
आयोजना निर्माण गर्दा यसमा कुनै पनि समय पर्ने असरका विषयमा गम्भीर भएर अध्ययन हुन्छ। यो विषय महत्वपूर्ण भएकाले लाखौंदेखि करोडौंसम्म खर्च पनि गरिन्छ। तर, अध्ययनको विषयलाई गम्भीर भएर नसोच्दा यस्ता समस्या आयोजनाहरूमा दोहोरिने गरेका छन्। अझै ठूलो समस्या भनेको अध्ययन गरेको लामो समयपछि मात्रै आयोजना निर्माण गर्ने र पुराना अध्ययन प्रतिवेदनलाई आधार मान्दा क्षति बढी भएको छ। मेलम्ची आयोजनामा पनि भएको समस्या यो नै हो। यसको अध्ययन गरेको भनेको आजभन्दा झन्डै ३०–३५ वर्षअघि हो। २०७२ सालको महाभूकम्पपछि पनि त्यति गहिराइमा सरोकारवाला निकायबाट अध्ययन भएन। यसको नतिजा अहिले आएको बाढीले देखाएको छ। अब गम्भीर भएर अध्ययन होस् र चाँडै पुनर्निर्माणको काम सुरु होस्।