कांग्रेसबाट निर्वाचित वडाध्यक्षको नेतृत्वमा विदुर नगरपालिकाको कार्यालय तोडफोड
नुवाकोट : नुवाकोटको विदुर नगरपालिका कार्यालयमा तोडफोड भएको छ। विदुर–२ स्थित मुल सडकमै रहेको कार्यालयमा सोमबार दिउँसो आक्रमण गरी तोडफोड भएको हो।
फलफूल पकेट क्षेत्रको सशर्त अनुदानमा अनियमितता भएको दावी गर्दै विदुर–१३ कल्याणपुरका वडाध्यक्षसहितको टोलीले कार्यालयमा प्रवेश गरेर आक्रमण गरेको विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले जानकारी दिए। कार्यालयमा प्रवेश गरी एक टोलीले अपशव्द प्रयोग गर्दै कार्यालयको झ्यालढोका तोडफोड गर्नुका साथै कार्यालयको सूचनामुलक डिजिटल बोर्डमा आक्रमण गरी तोडफोड गरेको मेयर पण्डितको भनाई छ।
मेयर पण्डितका अनुसार आक्रमणवाट वडाध्यक्ष दलबहादुर तामाङलगायतको नेतृत्वमा रहेको टोलीले तोडफोड गर्दा एक लाख रुपैयाँ बराबरको भौतिक संरचना नष्ट भएको छ। दोषीलाई कानून अनुसार कारवाहीका लागि सम्वन्धित निकायको ध्यानाकर्षण गराइएको मेयर पण्डितको भनाई छ।
आक्रमण र तोडफोडका समयमा करिव दुई घण्टा विदुर नगरपालिकाको कार्य सम्पादनमा अवरुद्ध भएको थियो। नेपाल सरकारले गत आर्थिक वर्ष २०७७/०७८ का लागि उपलव्ध गराएको २३ लाख रुपैयाँ शसर्त अनुदानमध्ये विदुर नगरपालिका–१३ कल्याणपुरमा फलफूल खेतिको पकेट क्षेत्रका लागि ११ लाख रुपैया स्वीकृत गरि कार्यविधिमा तोकिएको मापदण्ड अनरुप हुने गरी सककारीमार्फत किसान छनौट, जमिनको एकिन, पानी ट्यांकी निर्माण, मिनिटिलर खरिद तथा वितरण, औषधि छर्ने अपकरण खरिद तथा वितरण, फलफुलको विरुवा खपिरद तथा कृषकहरुलाई विरुवा वितरण कार्य रहेकोमा मापदण्ड अनुदान पानी ट्यांकी मात्र निर्माण भएको र त्यसका लागि ६ लाख ९८ हजार ६ सय ६८ रुपैया मात्र भुक्तानी गरिएको र अन्य भुक्तानी नभएको विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनकुमार मरासिनीले बताए।
आफूहरुले विवाद आएको फलफूल विरुवा वितरण सम्वन्धि विषयमा कुनै पनि भुक्तानी नगरेको सोमबार अपरान्ह कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मेयर सन्जु पण्डितले बताए। उनका अनुसार स्थानीय तहको निर्वाचनको मिति आउँदै गर्दा प्रतिपक्षी वडाध्यक्षहरुले राजनीतिक नारा दिनकै लागि आरोप लगाउँदै कार्यालयमा आक्रमण गरेका हुन्।
नेपाली कांग्रेसमा आवद्ध कार्यकर्ता तथा वडाध्यक्षहरुले जनप्रतिनिधिले साझा भुमिका निर्वाह गर्नुपर्नेमा त्यसो नगरी राजनीतिक प्रतिशोधले कार्यालयमा आक्रमण गरि भौतिक सम्पत्तिमाथि आक्रमण गरेको मेयर पण्डितले वताए। सार्वजनिक सम्पत्ति तोडफोड गरेर जनतालाई गुमराहमा पार्न खोज्नेहरुलाई आफ्नो नेतृत्वमा रहेको नगरपालिकाको टिमले एक हजार रुपैयाँ अनियमितता गरेको प्रमाणित गरेर सार्वजनिक जीवन नै छाडिदिने चुनौती दिए।
तीन वर्ष अगाडि पनि कांग्रेस पक्षधरले विदुर नगरपालिका कार्यालय तोडफोड गरेको मेयर पण्डितले वताए। तोडफोड गर्ने क्रममा दुई प्रहरीसहित चारजना घाइते भएका छन्। नेपाली कांग्रेस निकट ६ जना वडाध्यक्षहरुले नगरपालिकामा आर्थिक अनियमितता भएको दावी गर्दै तोडफोड गरेका हुन्।
कांग्रेसबाट निर्वाचित ६ जना वडाध्यक्षको नेतृत्वमा आएका कांग्रेस कार्यकर्ताहरुले नगरपालिकामा ढुङगामुढा र तोडफोड गरेको प्रत्यक्षदर्शीहरुले बताए। प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखको कार्यकक्षसहित नगरपालिकामा भएका भौतिक वस्तुमा क्षति पुगेको छ।
विदुर नगरपालिका–१३ कल्याणपुरमा फलफूल पकेट क्षेत्र निर्धारण गरी बिरुवा वितरणमा अनियमितता गरेको भन्दै भुक्तानी नदिन कांग्रेस निकट वडाध्यक्षहरुले माग गर्दै आएकोमा भुक्तानी भएको बनाउँदै विरोध भएको हो। प्रक्रिया सच्याउन र अनियमितताविरुद्ध आवाज उठाउँदा आफुहरुलाई वहुमतको आडमा अपमान गर्न थालिएको थालेको र प्रहरी परिचालन गरेर दमन गर्न खोजेको विदुर नगरपालिका ३ का वडाध्यक्ष बद्रीप्रसाद रिमालको आरोप छ।