अक्सिजन उत्पादनमा जुट्यो कर्णाली

अक्सिजन उत्पादनमा जुट्यो कर्णाली

सुर्खेत : गत वैशाखमा कोरोना महामारीको दोस्रो लहर सुरु भयो । जटिल प्रकारका संक्रमितले अक्सिजन नै पाएनन् । कर्णालीमा अक्सिजनको हाहाकार नै भयो । यतिसम्मकी अक्सिजन नै नपाएर धेरै संक्रमितको मृत्यु नै भयो । केही अस्पतालहरुले त अक्सिजन अभावमा विरामी भर्ना नै गर्न नसक्ने बताए । 

कर्णालीमा अक्सिजनको हाहाकार हुनुको एउटै कारण थियो यहाँ अक्सिजनको उत्पादन नहुनु । अर्थात प्रदेश बाहिरबाट सिलिण्डरमा अक्सिजन ल्याउनुपर्ने बाध्यता थियो । बाहिरबाट आपूर्ती नहुँदा कर्णालीले अक्सिजनको चरम संकट सामना गर्नुपर्‍यो । तर कोरोनाको दोस्रो लहरले कर्णालीलाई गतिलो पाठ पनि सिकायो । त्यही पाठ सिकेपछि यतिबेला कर्णाली आफै अक्सिजन उत्पादनमा जुटेको छ । 

कोरोनाको तेस्रो लहर आउने चर्चा भइरहँदा कर्णालीमा धमाधम अक्सिजन प्लान्ट जडान हुन थालेका छन् । सम्भावित महामारीको जोखिमबाट बच्न र अक्सिजनको अभाव हुन नदिन अस्पतालहरुमा प्लान्ट जडान हुन थालेका हुन् । प्रदेशका अधिकांश अस्पतालमा प्लान्ट जडान भइसकेका छन् भने केही अस्पतालले जडानको प्रक्रिया थालेका छन् । कर्णालीमा प्रदेश सरकारले तीन वटा अस्पताललाई कोरोना विशेष अस्पतालको रुपमा तोकेको छ । प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र रुकुमपश्चिमको चौरजहारी अस्पतालमा अक्सिजन प्लान्ट संचालन भइसकेका छन् । जहाँ हाल अक्सिजन उत्पादन भइरहेको छ ।

प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले भने,‘हाम्रो अस्पतालमा दुई वटा प्लान्ट संचालनमा आएका छन्, केन्द्र सरकारको सहयोगमा चाँडै अर्को प्लान्ट जडान गर्दैछौं । अहिले विरामीको बेडमा सिधै अक्सिजन पुग्छ, चाँडै सिलिण्डरमा पनि भर्ने व्यवस्था गर्दैछौं ।’ यो अस्पतालमा हाल दैनिक एकसय भन्दा बढी सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ ।

उनले अब पहिलाको जस्तो अक्सिजनको समस्या नहुने बताए । यस्तै जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि अक्सिजन उत्पादन सुरु गरेको छ । हाल दैनिक ९० सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने प्लान्ट जडान भइसकेको भन्दै प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले भने,‘अब अर्को प्लान्ट जडानका लागि पनि टेण्डर भएको छ, त्यो पनि चाँडै संचालनमा आउँछ ।’

विद्युतको समस्याका कारण प्लान्ट संचालनमा केही कठिनाइ भइरहेको भन्दै डाक्टर रावलले लाइन जडान गरेर आफूहरुले अक्सिजन सप्लाई गर्ने योजना बनाएको सुनाए । प्रतिष्ठानसँग पर्याप्त सिलिण्डर रहेको र उत्पादन क्षमता विस्तार गरेर प्रदेशका अन्य जिल्लामा पनि अक्सिजन निर्यात गर्ने तयारीमा आफूहरु रहेको उनको भनाइ छ । उनले भने,‘हामी तयारी हालतमा छौं, पहिलेजस्तो डराउनुपर्ने अवस्था छैन ।’

सम्भावित महामारीविरुद्ध जुध्न प्रदेश सरकारले सबै जिल्ला अस्पतालमा अक्सिजन उत्पादनका लागि मिनी प्लान्ट जडान गर्न बजेट उपलब्ध गराइसकेको छ । सोही बजेटबाट कालिकोट र हुम्लाले प्लान्ट जडान गरिसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख कटकबहादर महतले भने,‘हामीकहाँ दैनिक ४८ सिलिण्डर अक्सिजन उत्पादन हुन्छ, हामी अक्सिजनमा आत्मनिर्भर भयौं ।’ 

उनले अब नेपालगंज लगायतका स्थानबाट अक्सिजन ल्याउनुपर्ने बाध्यता अन्त्य भएको बताए ।प्रदेशका दैलेख, जाजरकोट, मुगु, सल्यान र डोल्पाका जिल्ला अस्पतालमा पनि प्लान्ट जडानको प्रक्रिया चलिरहेको प्रदेश सरकारले जनाएको छ । केही जिल्लाले मेसिन खरिद गरिसकेका छन् भने केहीले खरिद गर्दैछन् । यस्तै प्रदेश राजधानी वीरेन्द्रनगरमा ठूलो क्षमताको प्लान्ट जडानको काम चलिरहेको छ ।

केही सातामै यो प्लान्ट पनि संचालनमा आउने वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताइन् । ‘डेढ करोडको लागतमा प्लान्ट जडानको काम अन्तिम चरणमा पुगेको छ’ उपप्रमुख ढकालले भनिन्,‘केही साताभित्रै उत्पादन सुरु हुन्छ, यहाँबाट दैनिक एकसय ४० सिलिण्डर भर्न सकिनेछ । यो भनेको धेरै उत्पादन हो, हामी अन्य जिल्लामा पनि पठाउने छौं ।’ वीरेन्द्रनगर नगरपालिका, प्रदेश सरकार र चौधरी ग्रुपको लगानीमा यो प्लान्ट संचालन हुँदैछ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका कोरोना फोकल पर्सन श्यामलाल आचार्यले प्रदेशका ठूला अस्पतालमा पर्याप्त मात्रामा अक्सिजन उत्पादन सुरु भएको र अन्य जिल्ला अस्पतालहरुमा पनि प्लान्ट जडान हुनेक्रममा रहेको बताए । उनले भने,‘सबै जिल्ला अस्पताललाई प्लान्ट जडान गर्न बजेट दिइएको छ, केहीले उत्पादन सुरु गरिसके । केही जडानको प्रक्रियामा छन्, अब कर्णालीमा अक्सिजनको समस्या हुँदैन ।’ कतिपय स्थानीय तहले पनि आफै प्लान्ट जडान गरेका छन् ।

यसकारण पनि कर्णालीमा अब अक्सिजनको अभाव नहुने प्रदेश सरकारको दाबी छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाले कोरोना नियन्त्रणमा बजेट अभाव नहुने बताए । कोरोनाको सम्भावित तेस्रो लहरसँग जुध्न प्रदेश सरकार पूर्वतयारीमा जुटिसकेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.