अभाव नहोस् अक्सिजन

अभाव नहोस् अक्सिजन

कोरोना महामारीको दोस्रो लहरमा सबैभन्दा बढी बिरामीलाई अक्सिजनको अवश्यकता भयो। अक्सिजनको तह घट्दै जाने समस्या बढी बिरामीमा देखिएकाले यसको पूर्ति गर्न अस्पताल र बिरामीको आफन्तलाई धाउधाउ पर्‍यो। धेरैले अक्सिजन अभावमा ज्यान गुमाए। पहिलो चरणको महामारीमा त्यति आवश्यक नपरेको अक्सिजनको आवश्यकता दोस्रो चरणमा खड्कियो। हतारमा केही स्थानमा अक्सिजन प्लान्ट पनि बने। पहिले भएका उद्योग र अस्पतालका प्लान्टको महŒव महामारीले दर्सायो। अक्सिजन भए पनि सिलिण्डर नहुँदा अर्को समस्या राज्यले झेल्नुपर्‍यो। देश विदेशबाट अक्सिजन सिलिण्डर जुटाउनेदेखि अक्सिजन प्लान्ट निर्माण गर्ने विषयमा सरकारले ध्यान केन्द्रित गर्‍यो। दोस्रो चरणको कोरोना महामारी अक्सिजनको अभाव टार्दाटार्दै केही हदसम्म नियन्त्रण भयो।

अब तेस्रो चरणको खतरा छ। मुलुकभर फेरि विस्तारै कोरोना महामारीको लहर बढ्दैछ। क्रमशः खाली बन्न लागेका अस्पतालका बेड पुनः भरिन थालेका छन्। मृतकको संख्या बढ्दैछ। सहरमा मात्रै नभई गाउँ गाउँसम्म कोरोनाका लक्षणसहितका संक्रमित थपिँदैछन्। बजार पसलमा भीड बढ्दा संक्रमण चाँडो फैलँदैछ। घरबाहिर निस्कनेले स्वास्थ्य मापदण्ड नअपनाउँदा खतरा अझै उच्च छ। कोरोनाको उपचारका लागि नै भनेर औषधि नबनाए पनि बिरामीमा देखिने लक्षणको उपचार गरेर संक्रमितलाई निको पारिँदै आएको चिकित्सक बताउँछन्। तर, त्यसका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री अभावले पनि कोरोना महामारी नियन्त्रण गर्न समस्या भएको उदाहरण धेरै छन्। कोरोना महामारी सुरु भएपछि स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले ध्यान दिए पनि अझै पर्याप्त भने छैन।

कोरोना संक्रमितमा पहिले देखिने लक्षण भनेकै श्वासप्रश्वासको हो। श्वासप्रश्वासमा समस्या देखिएका बिरामीको पहिलो आवश्यकता अक्सिजन हो। अक्सिजन मास्क लगाएपछि मात्रै बिरामीलाई सहज बनाएर अन्य उपचार सुरु गरिने भएकाले यसको महत्व कोरोना महामारीमा अझै बढी छ। पहिलो चरणको महामारीमा श्वासप्रश्वासको समस्या कम देखिएका संक्रमित हुँदा अक्सिजनको चर्चा पनि कम भयो। दोस्रो चरणमा अक्सिजनको आवश्यकता अत्याधिक भयो। अहिले पनि अक्सिजनको दर घट्ने अवस्थाका कोरोना संक्रमित बढी छन्। यसले अब पुनः तेस्रो चरणमा महामारी फैलिए अक्सिजनको व्यवस्था सबै जिल्ला र अस्पतालहरूमा चुस्त रूपमा राख्नुपर्ने आवश्यकता खड्किएको छ। 

मुलुक संघीयतामा गएसँगै प्रदेश र स्थानीय तहको काँधमा पनि नागरिकको जीवन रक्षा गर्नुपर्ने कर्तव्य थपिएको छ। यस अघिको महामारीबाट पाठ सिकेर धेरै प्रदेशले अक्सिजन प्लान्ट निर्माण गर्ने योजना बनाए र केही स्थानमा निर्माण सम्पन्न भएका उदाहरण पनि छन्। यो सकारात्मक पक्ष हो। तर, अझै पनि केही प्रदेशमा यसको व्यवस्थापन सुस्त छ भने केहीमा कामै भएको छैन। प्रदेश १ का अस्पतालहरूमा धमाधम अक्सिजन प्लान्ट निर्माण भइरहेका छन्। ६ जिल्लाका अस्पतालमा प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन सुरु भइसकेको छ। अन्य जिल्लामा पनि काम भइरहेको छ। उता गण्डकी प्रदेशकै सबैभन्दा ठूलो अस्पतालमा भने अक्सिजन प्लान्ट नै छैन। यो प्रदेशमा सरकार अझै दाताको आस गरेर बसेको देखिन्छ। बाग्मती प्रदेशमा तयारी भइरहे पनि सुदूरपश्चिममा सुरसार छैन। यस्तो तयारीले तेस्रो लहर आए नियन्त्रण गर्न समस्या हुनेछ।

कोरोना महामारी आउनु अघिसम्म स्वास्थ्य क्षेत्रको सुधारका विषयमा चर्चा र काम पनि कमै थियो। कुनै रोग लागे नागरिकले निजी अस्पतालमा पुगेर पनि उपचार गर्थे र निको हुन्थे। सरकारी अस्पतालको सुधार, आवश्यक स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको व्यवस्थापनमा सरकारको पनि खासै ध्यान थिएन। महामारीले यसको सुधार गर्नुपर्छ भन्ने चेत खुलाएको छ। तर, दुईवटा लहर पार गर्दा पनि अझै आवश्यक पर्ने स्वास्थ्य सामग्रीको तयारी नहुनु स्वास्थ्य क्षेत्रमा देखिएको सरकारको लापरबाही हो। अझै समय छ, महामारीको तेस्रो लहरलाई मध्यनजर गरेर समयमा तयारीमा सरकार जुटोस्। अब पुनः नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउने अवस्था नआओस्। यो विषयमा तीनै तहका सरकार समयमै गम्भीर बनुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.