चेक बाउन्स बढ्यो : झण्डै ९ हजार ७ सय कसुरजन्य मुद्दा दर्ता

चेक बाउन्स बढ्यो : झण्डै ९ हजार ७ सय कसुरजन्य मुद्दा दर्ता

काठमाडौं : बाँके नेपालगञ्जका ५६ वर्षे विनोदकुमार श्रेष्ठले बाउन्स चेक दिँदा बैंकिङ कसुरको मुद्दादेखि जरिवाना र ७ दिने कैदको सजाय भोग्नु परेको छ। उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्याएर नबिल बैंकको चेक काटेर दिए। तर, खातामा पर्याप्त  रकम नहँुदा चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता भयो। यसपछि चेकबाहकले श्रेष्ठमाथि उच्च अदालत तुलसीपुर, नेपालगन्जमा  बैंकिङ कसुरको मुद्दा दायर गराए।  

अदालतले गत चैत १२ गते  बैंकिङ कसुर जन्य अपराधको ठहर गर्‍यो। जस्ले गर्दा श्रेष्ठलाई साढे २३ लाख जरिवाना र ७ दिनको कैद सजायको फैसला सुनायो। तर, प्रतिवादी श्रेष्ठ भागे। केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)साउन १८ गते भक्तपुरको काँडाघारीबाट पक्राउ गरेको छ।

चेक बाउन्स गरेकै कारण काठमाडौं बूढानीलकण्ठका ६२ वर्षे ठाकुरप्रताप थापालाई पनि सीआईबीले साउन १९ गते चक्रपथबाट पक्राउ गरेको छ। श्रेष्ठले देव विकास बैंकमा रहेको पर्याप्त नगद नभएकोे चेक काटेर दिएको विरुद्ध जाहेरवालाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए। अदालतले २०७६ भदौ ३ गते बैंकिङ कसुरजन्य अपराध ठहर गरेर ३९ लाख ९६ हजार ४ सय रुपैंयाँ जरिवानाको फैसला गरेको थियो। तर, उनी फरार रहेपछि सीआईबीले पक्राउ गरेको हो। 

यी त नमुना मात्रै हुन्। पछिल्लो समय यसरी चेकमार्फत हुने कारोबारबाट ठगी बढेको छ। यसले समग्रमा बैंकिङ कसुरका अपराध बढ्न गएको छ। बिगत पाँच आर्थिक वर्षमा कुल ९ हजार ७ सय २१ वटा बैंकिङ कसुरसम्बन्धी अपराध भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएका छ। यसमध्य प्रहरीले ३ हजार ९ सय ६४ जना अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरीले बैंकिङ कसुर मुद्दामा उजुरी गरेको अनुपातमा ४० दशमलव ७८ प्रतिशतलाई मात्रै अदालतको फैसलाअनुसार पक्राउ गरेको छ। पक्राउमध्ये विदेशी नागरिक पनि परेका छन्। जसमा ५१ जना पुरुष परेका छन्। यस्तै, नेपालका पुरुष ३ हजार ४ सय ८१ ज्ना सो कसुरमा पक्राउ हँुदा ५१ जना महिला छन्।  

प्रहरी प्रधान कार्यालयलका अनुसार बैंक खातामा रकम नभएको चेक ‘बाउन्स’ दिनेको संख्या बढ्दा बैंकिङ कसुरका अपराध बढेको हो। यससँगै विशेष गरेर लेनदेन, ठगी, जालसाजी फस्टाएको र अहिले अनलाइन कारोबारको समेत दुरुपयोग गर्ने बढेकाले पछिल्ला ३ आर्थिक वर्षमा यसको संख्या बढेको छ। कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४मा ९३ ओटा बैंकिङ कसुरका उजुरी परेकोमा छन्। यसमध्ये ७३ जना अभियुक्तलाई प्रहरीले पक्राउ गर्‍यो। यसपछिका वर्षहरूमा यस्तो उजुरीको संख्या क्रमशः बढ्दै गएको छ। आव २०७४÷७५मा बढेर यस्तो संख्या ७ सय ७६ पुग्यो। यसमध्ये ३ सय १५ जना अभियुक्तलाई पक्राउ समेत गरेको बताएको छ। अझै यसपछिका वर्षमा बैंकिङ कसुर अपराध गर्ने हजारमाथि पुग्न थाल्यो। आव २०७५/७६ मा बैंकिङ कसुर गर्नेको संख्या ३ हजार १ सय ६७ पुगेको छ। यसमध्ये २ हजार ९ सय ५७ जना अभियुक्तलाई पक्राउ गरी कारबाही अद्दि बढाएको थियो।

पछिल्लो ५ वर्षमा सबैभन्दा बढी यसै आवमा बढी पक्राउ गरेको छ। आव २०७६÷७७ मा बैंकिङ कसुर गर्ने ३ हजार ३ सय ९ मध्ये प्रहरीले ४ सय ३६ लाई पक्राउसमेत गरेको बताएको छ। गत आवमा भने यस्तो संख्या थोरै घट्न गएको छ। गत आव भर २ हजार ३ सय ७६ पुगेको छ। यसमध्ये १ सय ८४ जनालाई मात्रै पक्राउ गरेको छ।  बैंकिङ कसुर तथा सजाय ऐन (पहिलो संशोधन) २०७३ ले अनधिकृत रूपमा कर्जा लिन वा दिन नहुने, अनधिकृत रूपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने, विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुने, कर्जाको दुरुपयोग गर्न नहुने, बैंकिङ स्रोत साधन र सम्पत्तिको दुरुपयोग गर्न नहुने, ऋणीले रकम झिक्न र सम्पत्ति प्राप्त गर्न नपाउनेलगायत व्यवस्था गरेको छ। उक्त ऐनले यो व्यवस्था विपरीतका कार्य गर्नेलाई बैंकिङ कसुर भनेर उल्लेख गरेको छ। 

पैसा नभएको खाताको चेक दिएर ठग्ने प्रवृत्ति (चेक बाउन्स) बढेकाले बैंकिङ कसुरका उजुरी तथा मुद्दा बढेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी  वसन्तबहादुर कुँवर बताउँछन्। ‘यसमा व्यापार–व्यवसाय, जग्गाको कारोबार गर्नेहरूदेखि सबैखाले क्षेत्रबाट चेक बाउन्स भएको देखिएको छ। 

अहिले झन इन्टरनेट तथा अनलाइनबाट हुने कारोबारमा पनि बैंकिङ कसुरहरू पर्ने गरेका छन्।,’ प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी कुँवरले भने, ‘यस्तो अपराध बढ्नुको कारण  प्रविधिको दुरुपयोग गरेर छिटो लाभ लिने मानसीकता भएकाहरूले पनि हो।यस्तो काम सामूहीक रुपमा परिचालित भएर गरेका छ। हामीलाई थाहा भए जतिलाई समाएर मुद्दा अगाडि बढाएका छौं।’ 
साथै विज्ञानप्रविधिको बढ्दो प्रयोग हुनु र अधिकांश अवस्थामा व्यक्ति अप्रत्यक्ष संलग्न हुने गरेको अध्ययनले देखाएको उनको भनाइ छ। बैंकिङ कसुरका ठूला–ठूला नेटवर्किङ रहेका जटिल अनुसन्धानको काम केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हेर्दै आएको छ। 

जघन्य अपराध, लामो समयसम्म पत्ता लगाउन नसकेका उजुरी हेर्दै आएको सीआईबीले गत कात्तिकमा मात्रै बैंकिङ कसुरका आधा दर्जन केशमा संलग्नलाई पक्राउ गरेको छ।
यस्ता कसुरबारे बैंकका संगठनहरूसँग समन्वय गरिरहेको उनले बताए। यस्ता खाले अपराध रोक्न बैंक तथा वित्तीय संस्थाहरूले अत्याधुनिक प्रणालीका प्रविधिहरूको प्रयोग गर्न जरुरी भएको उनले औंल्याए। ‘पुराना प्रविधि प्रयोगमा धेरै ह्याक हुने सम्भावना भएकाले नयाँ प्रविधिमा लगानी बढाउन कन्जुस्याइँ गर्न नहुने उनको तर्क छ। बैंकहरू स्वयम्ले लगानी बढाएर प्रविधि प्रयोग र सुरक्षामा थप सतर्कता अपनाउन जरुरी छ,’ उनले अन्नपूर्ण पोस्टसँग भने। 

आधुनिक बैंकिङ प्रणाली भित्र्याउन प्रविधिमा लगानी बढाउन नेपाल राष्ट्र बैंकले पनि जोड दिँदै आएको छ। यसैबीच साउन पहिलो साता पनि राष्ट्र बैंकसँगै १५ वटा वाणिज्य बैंकलाई फेक इमेल, म्यासेञ्ज्मार्फत ह्याक गर्ने चेतावनी आएको थियो। यसबारे केन्द्रीय बैंकले सिस्टम सुरक्षित भएकाले नडराउन ढाडस दियो। राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख तथा प्रवक्ता देवकुमार ढकालका अनुसार  त्रास फैलाउन मात्रै धम्की आएकोले सबै सिस्टम जाँच गर्दा सामान्य रहेको थियो। यसलगत्तै साइबर ब्युरोलाई अनुसन्धानका लागि पठाएको र अहिलेसम्म चुरो पत्ता नलगाएको उनले जानकारी दिए। पछिल्लो समय बैंकिङ प्रणालीमाथी धम्की आउन थालेकाले थप सजगता, सुरक्षामा कडाइ, अनुगमन  गर्न जरुरी भएको ठहर गर्दै प्रवक्ता ढकाल अझै प्रविधिमा लगानी बढाउन आवश्यक भएको बताउँछन्। 

यता नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बैंकहरूले केन्द्रीय बैंकले भनेअनुसार लगानी बढाएको बताउँछन्।  ‘यसमा कडाइ पनि गरेको छ। हरेक बैंकले प्रत्येक वर्ष आईटिको अडिट गर्नुपर्ने व्यवस्था छ,’ उनले भने,‘ अडिट ईन्फरमेशन अफिसर राख्नै पर्ने व्यवस्था छ।  आम जनताको पैसा राखेका छौं। चोरले याट्याक्ट गर्ने प्रयास गरिरहन्छन। हामीले सुरक्षा र लगानी त बढाउनै पर्‍यो नि। ’

व्यक्तिहरूमा छिटो धनी हुने अभिलाषा, गलत देखासीकी,  महत्वाकाङ्क्षा, बढ्दो सहरीकरण लगायतलेपनि यस्ता अपराध बढ्दै गएको देखिन्छ। बैंक कर्मचारीहरको मिलीमतोमा समेत भएका थुप्रै घटनाहरू भएको रे अधिकांशलाई कारबाहीको दायरामा ल्याइसकेको प्रहरी प्रधान कार्यालयले बताएको छ। 

कसरी हुन्छ चेक बाउन्स ?
चेक काटेर दिने व्यक्तिले लेखिए अनुसारको नगद बैंक खातामा भुक्तानी योग्य रकम नभएमा चेक बाउन्स हुन्छ। भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता हुनु भनेको ‘चेक बाउन्स’ हुनु हो। प्रायले यस्तो चेक नियतवश दिँदा अपराधको भागेदारी बन्नु परेको छ। साथै बैंक खातावालाले  चेकमा लेखिएको मिति, अंक, बेहोरा लगायतमा फरक परेमा पनि चेक बाउन्स भएको ठहर हुन्छ। यसैले यस्ता कुरामा ध्यान दिन जरुरी छ। चेक काट्दा धेरै सजग हुनुपर्छ। यदि चेक बाउन्स भए चेक काट्ने वा चेक जारी गर्ने ब्यक्तिले नेपालमा प्रचलित कानुनअनुसार सजाय भोग्नुपर्छ। 

सुरुमा चेक बाउन्स भएको एक साताभित्र बैंकलाई खबर गरेर चेक वाहकले चेक जारी गर्नेलाई कालोसूचीमा समेत राख्न पाउँछ। यसरी कालोूुचीमा भएपछि नहटेसम्म सो व्यक्तिले बैंकमा खाता खोल्न, ऋण लिन पाउँदैन। साथै सरकारी सेवा सुविधाबाट पनि वञ्चित हुनुपर्छ।
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.