कर्णाली राजमार्गमा दुर्घटना, तीन बालबालिका सहित सात घाइते
दैलेखः कर्णाली राजमार्गस्थित चामुण्डा विन्द्रासैनी नगरपालिका–७ रामघाटमा यात्रुवाहक बसले जिपलाई ठक्कर दिँदा जिपमा सवार तीन बालबालिका सहित सात जना घाइते भएका छन् ।
ठाटीकाँध गाउँपालिकाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०२०४ नम्बरको जिपलाई नेपालगञ्जबाट मुगु तर्फ जाँदै गरेको ना ६ ख ७४१९ नम्बरको बसले ठक्कर दिएको हो ।
दुर्घटनामा ठाटीकाँध गाउँपालिका–३ बस्ने २१ वर्षीया मनिषा सारु मगर, २१ वर्षीया कल्पना तारामी मगर, २८ वर्षीय हिमाल बोगटी, ९ वर्षीया जीवन बोगटी, ७ वर्षीया कमला लामिछाने, १ वर्षीया लिजा आलेमगर र कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २४ वर्षीय खगेन्द्र अधिकारी घाइते भएका छन् ।
घाइते सबैको अवस्था सामान्य रहेको र घाइतेहरुको कर्णाली राजमार्गमै रहेको साङलेतडास्थित स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक राजेश साहुले बताए । प्रहरी निरीक्षक साहुका अनुसार बस, जिप र दुई जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्करबाट जिपमा क्षति पुगेको प्रहरीले जनाएको छ । साथै घटनाको छानविन गरिने प्रहरीले जनाएको छ ।