धन नभएकाहरूको मन
चोरेर खानेहरूको कथा सबैले सुन्छन्, मागेर खानेको यो कथा कसले सुनोस् ? सरकार कान थुनेर बसेको छ।
उज्यालो छँदै थियो। पारी चन्किली डाँडामा सूर्य बास बस्न जाने क्रममा थियो। गुलाबी सूर्यका राता धर्सा अग्ला रूखका पातहरू छिचोलेर धर्ती सम्म आइपुग्थे। माटोका साना कर्णहरू टलक्क टल्किरहेका थिए। यसैले होला माटोलाई किसानको ‘हिरा’ भनिएको पनि। उनीहरू यतै कतैका मान्छे हुन्। उनीहरू माग्ने मान्छे हुन्। केही मजदुर पनि छन्। उनीहरूका कथा छन्। कथा सुनिदिने पो छैनन्। उनीहरूका आफ्ना मान्छे छैनन्। उनीहरूका लागि ‘जागिर’ कुन चराको नाउँ हो जस्तो भइरहेको छ। उनीहरूलाई यो मात्रै थाहा छ ‘एक छाक कसरी टार्ने ?’
बाजुराका धेरै बस्ती घुमे। उनीहरूसँगै बसें। उनीहरू सँगै गाँस निले। यसै क्रममा खप्तड छेडेदह गाउँपालिकाको एक दलित बस्तीका केही कथा सुन्न गएँ। उनीहरूका पनि भावना छन्। धेरै थोक गर्न नसके पनि उनीहरू रोएको बेला रोइदिन त सक्छु नि ! उनीहरूका न दुःखमा रोइदिने मान्छे छन्, न सुखमा थपडी बजाउने कोही। खोलाकिनारको बस्ती हो। हरेक वर्ष खोलामा बाढी आउँछ। बाढीले ढुंगामाटो मात्रै बगाउँदैन। बाढीले उनीहरूका सपना बगाउँछ। उनीहरूको खाने मानो बगाउँछ। घरको आँगन बगाउँछ। हामी आँगन भएकाहरूलाई, आँगन नभएकाहरूको पीडा कसरी थाहा होस् ? घरको या अझै भनौं झुपडीको आँगन बाढीले चुँडेर लाँदा उनीहरूलाई लाग्दो हो– ‘आफ्नै शरीरको कुनै अंग चुँडेर लग्यो। उनीहरूको शत्रु कोही छ भने त्यो– समय हो।’
हिँड्दा हिँड्दै एक दम्पतीको नजिक पुग्छु। हाँस्दै दुई हात जोडेर नमस्कार गर्छु। ‘नमस्कार काका !’ दुवै हाँस्छन्। तर नमस्कार फर्काउँदैनन्। स्वास्नी चै डराएको, लजाएको जस्तो देखिन्छ। फेरि सोध्छु। ‘किन लजाएको काकी ?’ ‘हामीलाई आजसम्म कनैले नमस्कार हर्याको नाई उँथा ?’ ‘ए ए। मैले गरें नि त। यो के बुनेको काका ?’ ‘यो डोको हो रौत्यालाउ।’ ‘निकाला कताबाट ल्याउनुहुन्छ ? कस्तो बुन्न जानेको ?’ ‘निकाला मुथि नौला रोलबाटी आन्नु पड्डो। सिक्याकै यत्ती त हो। सज्जी छ सिक्यापछि।’
एकछिन वातावरण शान्त हुन्छ। कुनै एउटा अर्गानिक चलचित्रजस्तो दृश्य देखिन्छ। छेउमा कुकुरको छाउरो छ। ऊ सुत्केरी रहिछे। बच्चाहरूले दूध चुसिरहेका छन्। ती अंकलको सानो छोराले कुकुरका बच्चालाई जिस्क्याउँछ। कुकुर उठेर भुक्दै टोकुलाझैं गर्छ। बच्चाहरूको माया मान्छेलाई मात्रै नहुँदो रहेछ। डोको बुन्ने काम ती काकाले रफ्तारमा गरीरहेका छन्। म बिचमै सोध्छु। ‘एक डोको कतिमा बेच्नुहुन्छ, काका ?’ ‘हेरीहेरी हुन्छ भदु। ठूला डोकाको ठूलै मोल। नाना डोकाको नानु मोल।’ ‘अनि हजुरको खेत छ ? बारी छ ?’
‘कठै दैन। खेत भया रे, छकाल बाहा यै डोकाप्पै को आँखा फुट्याको लाग्दो हो। आछिनै खेत।’ ‘डोको बेचेरै खान पुग्छ त ?’ ‘पुग्दैन। पर गाउँ झादीछ घरवाली। मागेर आन्दी। काम हरीदिनु पड्डो मागेपछि। काम हरीदियो। अनाज माग्यो। यसै हरी चल्याको छ जिन्दगी।’ उनीहरू माग्ने हुन्। यो मागेर खानेहरूको कथा हो। चोरेर खानेहरूको कथा सबैले सुन्छ। रेडियोले सुन्छ। टिभीले सुन्छ। अखबारले सुन्छ। मागेर खानेको कथा कसले सुनोस् ? सुन्नै पर्ने सरकार वर्षौंदेखिको बहिरो जो छ।
यो त्यस्तो गाउँको कथा हो जहाँ दस क्लास पास गर्नेहरू कोही पनि छैनन्। एसएलसी पास गर्नेहरू गाउँभरि छैनन्। गाउँलेहरूका मन नजिक छन् तर घर टाढा टाढा। स्कुल झन् टाढा। यो बस्तीलाई स्कुलसम्म जोड्ने पुल छैन। भावनाको पुलमा मन त जसोतसो तराउन सकिँदो रहेछ तर बच्चाहरू तराउन नसकिँदो रहेछ। सानो बच्चालाई झोलाबाट झिकेर चकलेट दिन्छु। दसको नोट बच्चाको हातमा थमाएर म त्यही गाउँको अर्को टोल पुग्छु।
...
टाढैबाट गुन्द्रीमा बसेर जुत्ता सिलाउँदै गरेका हजुरबा उमेरका मान्छे, धागो उनेको सियो जुत्तामै छोडेर मलाई नमस्कार गर्छन्। म हजुरबाका हात समात्न पुग्छु। उल्टो नमस्कार गर्छु। बुढो अनुहार लजाएको नसुहाउँदो रहेछ। उमेर पुगेपछि मान्छेहरू मात्रै संसार नछोड्दा रहेछन्। दाँतहरूले पनि उमेर पुगेपछि आफ्नो जन्मेको ठाउँ छोड्दा रहेछन्।
‘बाजे। जुत्ता सिलाउनु भएको हो ?’ ‘हो त नि नाती।’ ‘कसको जुत्ता हो बाजे ?’ ‘पल्ला गाउँको दोकानदारको।’ गुन्द्रीको छेउछाउ जुत्ताको ठूलो चाङ देखिन्छ। टाढाबाट हेर्दा लाग्छ त्यो घर– जुत्तापसलेको हो। तर होइन यो घर जुत्ता सिलाएर पेट पाल्ने सार्की बाको हो। यो जुत्ता बेच्नेको कथा होइन। जुत्ता सिलाउनेको कथा हो। ‘यत्रो जुत्ता क–कसको नि बाजे ?’ ‘त्याँ झिक्कै छन् नाती। मुखियाको होला। ठेकेदारको होला। मास्टरको होला। चौकीदारको होला। खडदारको होला। प्रधानको होला। कैका छन् छन्। सिलाई सक्या छन्। भोलि गाउँ जान्छु पौला (जुत्ता) बुझाउन।’
‘ठूल्बा नमस्कार है।’ ‘नमस्कार रौत्यालाउ।’ ‘आराम हुनुहुन्छ नि ? ज्यानलाई कस्तो छ ?’ ‘निकोई छु राक्या। बाँच्याको छु।’ ‘ठूला बा, सोध्न मिल्ने होकी नाई ? मनमा लाग्यो। सोध्छु है। हजुरले कसरी खुट्टा गुमाउनुभयो ?’
‘एक जोर जुत्ता सिलाएको कति दिन्छन् बाजे ?’ ‘प्रभूहरूले जति दियो मनखुसीले, राजीखुसीले। हामी त्यति नै लिँदाछौं। केई रोक तोक लायाको नाई।’ कति गाह्रो रहेछ बाँच्न। आफ्नो श्रमको मूल्य आफैं तोक्न नमिल्ने। योभन्दा बिडम्बना अरू के होला ? बाजेको कुरा सुनेर मेरा आँखा यसपटक ओभाना रहँदैनन्। बाजेको आँखामा हेर्छु। पीडाको बिरुवा उम्रेको देख्छु। कसैको जुत्ता सिलाउनु छ कि भनेर गाउँ गाउँ सोध्न जानुपर्छ। जुत्ता सिलाउन दिएकाहरूको, जुत्ता सिलाएर फेरि उनीहरूकै घरघर दैलो दैलो बुझाउनु पर्छ।
उनीहरू जुत्ता सिलाउन त खुब माहिर छन्। तर उनीहरूले आफ्ना च्यातिएका सपना सिलाउन जानेका छैनन्। जुत्ता सिलाउनेहरूसँग उध्रिएका सपना सिलाउने सीप नहुँदोरहेछ। उनीहरू जुत्ता टाल्नेहरू मात्रै होइनन्। उनीहरू भोक टाल्नेहरू पनि हुन्। भोक सिउनेहरू पनि हुन्। उनीहरू जुत्ता सिलाएर छोराछोरीको भविष्य सिउन प्रयासरत आवाजविहीनहरू हुन्। कर्ममा विश्वास गर्ने कर्मवीरहरू हुन्। अँध्यारोमा जूनकिरी टल्किएजस्तै बाजेको अनुहारमा एक अस्थिर खुसी टल्कियो।
उनीहरूका कथा धेरै छन्: उनीहरू जसले मरेका गोरुभैंसीको छाला निकाल्न सक्छन् तर आफ्नो भोकको छाला निकाल्न सक्दैनन्। म कुरिरहेछु– यो बस्तीमा भोक, गरिबी, अशिक्षा कहिले हट्ला ? कहिले उज्यालो होला यो गाउँ ? कहिले यो गाउँका मान्छेहरू मान्छे भएर बाँच्न पाउलान् ? यहाँका साँघुरा गल्लीहरूले कहिले सुखको सास फेर्लान् ? कहिले यहाँको माटोले अक्षरको खेती उत्पादन गर्ला ?
०००
कालो मैलो टोपी, निधारभरि पसिना, हातमा हथौडा समातेर गिट्टी कुट्दै गरेका ठूलाबा उमेरका मान्छे देख्छु। छेउमै घर छ। घरको दलिनमा ठूलीआमा बसेकी छन्। ठूलीआमाका वरीपरी चार ओटी छोरी छन्। गिट्टी कुट्दै गरेका ठूला बाको नजिक गएपछि मात्रै थाहा पाउँछु– ती ठूला बाको एउटा घुँडाभन्दा तल्तिरको खुट्टो रैनछ। ‘ठूल्बा नमस्कार है।’ ‘नमस्कार रौत्यालाउ।’ ‘आराम हुनुहुन्छ नि ? ज्यानलाई कस्तो छ ?’ ‘निकोई छु राक्या। बाँच्याको छु।’ ‘ठूला बा, सोध्न मिल्ने होकी नाई ? मनमा लाग्यो। सोध्छु है। हजुरले कसरी खुट्टा गुमाउनुभयो ?’ ‘यो उहिले जनयुद्धमा हामीलाई अभियानमा लियो। दुई वर्षसम्म घर आउन दिएन। चाल्ने गडाको लडाईंमा यस्तो भयो। यहीको लामु कथा छ, रौत्यालाउ। तमीलाई अबेला होला। म सुनाउँला हा एक दिन तमीकी। दुःख नमान्या।’
‘साह्रै दुःखद् ठूला बा। मैले सोध्ने बेला हजुरको घाउमा नुन खुर्सानी मले जस्तो भयो होला है। माफ पाउँ ठूला बा।’ ‘नाई नाई। केही मान्दैन। भयाको कुडा त हो।’ ‘अनि। यो गिट्टी कसरी बेच्नुहुन्छ ?’ ‘एक कट्टाको पचास रुप्याँ दिँदा छन् ठेकेदार साब।’ दलिनमा बसेकी ठूली आमाले भन्नुभो। अब दलिनतिर जान्छु। ठूली आमाको छेउमा बस्छु। आमाको वरीपरी चार ओटी छोरी छन्। गुँडमा बसेको माउ जस्तै छन् आमा।
‘यी सबै छोरी तपाईकै हुन् आमा ?’ ‘यी जेठीकी छोरी हुन्। मु कान्छी हुँ। जेठीबाटी चार जनी छोरी छोरी भया पछि मुलाई आन्यो तीनुले।’ ‘ए ए। तपाईका कति छोराछोरी ?’ ‘मेरो एकै छोरो छ हजुर। नानु छ। भित्रै छ। छ महिनाको भयो।’ मेरो बोली बन्द हुन्छ। मेरा आँखामा आक्रोशको छायाँ देखिन्छ। यो कुन शासकले जन्माएको समाज रहेछ– जसलाई अझै छोरा जन्माइदिनु पर्ने। छोरा पाइदिनु पर्ने। छोरा नै चाहिने ?
‘सबै छोरीहरू स्कुल पढ्छन् ?’ फेरि सोध्छु। ‘हजुर सब स्कुल झानी छन्।’ यो एउटा त्यस्ता मजदुरको कथा हो– जसले बन्दुक मात्रै बोकेनन्। देश बनाउने सपना बोके। जसले बन्दुक त जसो तसो बिसाए तर आफ्ना दुःखहरूको भारी बिसाएका छैनन्। युद्धको घाउ त सुक्यो तर उनको आँखाको आँसु सुकेनन्। यो एउटा त्यस्तो योद्धाको कथा हो– जसले शान्ति अमनचैन पूरा ल्याउँछु भनेर घर छोडे। तर घर फर्किदा आफ्नो शरीर पनि आधा लिएर आए। यो एउटा त्यस्तो गाउँको कथा हो– जुन गाउँले पसिना बेच्छ। गिट्टी बेच्छ। छाला बेच्छ। पाना बेच्छ। तर स्वाभिमान र ईमान बेच्न जानेको छैन। यो एउटा त्यस्तो बस्तीको कथा हो– जुन बस्तीको पेटमा अनिकाल फल्छ। भोक फल्छ। आँखामा आँसु फल्छ।