१८ वर्षपछि पाकिस्तानमा न्युजिल्यान्ड
इस्लामावाद : न्युजिल्यान्ड क्रिकेट टोलीले १८ वर्षपछि पाकिस्तान भ्रमण गर्ने भएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आगामी सेप्टेम्बरमा हुने तीन एकदिवसीय र पाँच टीट्वेन्टी शृंखलाका लागि न्युजिल्यान्डले पाकिस्तानको भ्रमण गर्न लागेको जनाएको छ। टीट्वेन्टी विश्वकपको तयारीका लागि न्युजिल्यान्डले पाकिस्तानसँग तीन एकदिवसीय र पाँच टीट्वेन्टी शृंखला खेल्न लागेको हो।
एकदिवसीयका खेलहरु रावलपिन्डीमा हुनेछ। पहिलो एकदिवसीय खेल सेप्टेम्बर १७, दोस्रो सेप्टेम्बर १९ र तेस्रो सेप्टेम्बर २१ मा हुनेछ। त्यसपछि भ्रमणकारी टोली न्युजिल्यान्ड लाहोर जानेछ। जहाँ पाँच टीट्वेन्टी खेल हुनेछ। सेप्टेम्बर २५ मा गद्दाफी स्टेडियममा पहिलो टीट्वेन्टी खेल हुनेछ।
‘न्युजिल्यान्डजस्तो शीर्ष स्थानको टोलीसँग प्रतिस्पर्धा गर्न पाकिस्तानी टोली निकै आतुर छ। एकदिवसीय तथा टीट्वेन्टी शृंखला निकै रामोञ्चक हुने विश्वास हामीले गरेका छौं’, पीसीबीका प्रमुख कार्यकारी अधिकृत वासिम खानले भने, ‘पाकिस्तान सुरक्षित छ भनेर विश्वभर सन्देश फैलाउन पनि न्युजिल्यान्डको भ्रमणले निकै महत्व राख्दछ।’
न्युजिल्यान्ड क्रिकेट बोर्डका प्रमुख कार्यकारी डेभिड ह्वाइटले पाकिस्तान र न्युजिल्यान्डबीचको आपसी सम्बन्ध र भाइचारा अभिवृद्धि गर्न पनि भ्रमण महत्वपूर्ण हुने बताए। न्युजिल्यान्डले पछिल्लो पटक सन् २००३ नोभेम्बरमा पाकिस्तान भ्रमण गरेको थियोे।
सन् २००९ मा लाहोरमा श्रीलंकन क्रिकेट टोली चढेको बसमा आतंककारीले आक्रामण गरेपछि पाकिस्तानमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु एकाध मात्रै हुँदै आएको छ। पाकिस्तानले संयुक्त अरब इमिरेट्स (यूएई) लाई घरेलु मैदान बनाउँदै आएको छ। पछिल्लो समय भने पाकिस्तानमा घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटका खेलहरु भने बाक्लै हुन थालेका छन्। विभिन्न राष्ट्रले पाकिस्तान भ्रमण सुरु गरेका छन्। न्युजिल्यान्डपछि इङ्ल्यान्ड, वेस्ट इन्डिज र अस्ट्रेलियाले पनि पाकिस्तान भ्रमण गर्ने पीसीबीले जनाएको छ।