उठ तिलोत्तमामाथि परिचर्चा
काठमाडौं : आख्यानकार शशी थापा पण्डितद्वारा लिखित कथासंग्रह ‘उठ तिलोत्तमा’को एक कार्यक्रमबीच विशेष परिचर्चा गरिएको छ। साहित्यिक पत्रकार संघद्वारा आयोजित कार्यक्रममा समीक्षकहरुले कथासंग्रहको चिरफार गरेका हुन्।
समीक्षक डा. सावित्री मल्ल कक्षपतिले कृतिको गहन चिरफार गरेकी थिइन्। उनले फरक धारबाट लेखिएका कथाहरुले उठाएका विषयवस्तुहरुले विभिन्न प्रश्न उठाएको बताइन्। युवतीहरु किन विवाह गर्न चाहँदैनन् ? किन बच्चा जन्माउन तयार हुँदैनन् ? किन सम्बन्ध विच्छेद गर्न चाहन्छन् ? परिवार र समाजबाट कसरी विमुख बनिरहेका छन् ? यौनकै कारण आफू प्रताडित बन्नुपर्दा कसरी प्रतिकार गर्छन् ? समाजले नारीलाई हेर्ने दृष्टिकोणमा किन फरक नआएको होला ? भन्ने जस्ता विषय कथाले उठाएको उनले बताइन्।
पुस्तकमाथि चर्चा गर्दै आख्यानकार नयनराज पाण्डेले पछिल्ला वर्षहरुमा साहित्यको बजार विस्तार भएको बताए। साहित्यकार श्रीओम श्रेष्ठ रोदनले आफ्नो अभिलेख अनुसार देशभर करिब पाँच सय पुस्तक प्रकाशित हुने र त्यसमध्ये ५० वटा पुस्तक पढ्न लायक र ५–१० वटा जति साँच्चिकै समाजले सम्मान गर्नुपर्ने पुस्तक हुने बताए।
अहिले आकाशको तारा हेरेर कविता लेख्ने, एकान्तमा बसेर कल्पना गरेर कथा, उपन्यास लेख्ने जमाना नभएको भन्दै उनले यथार्थ र वास्तविकतासँग जोडेर लेखन गर्नुपर्ने अवस्था आएको बताए।
कलेज पढ्दादेखि नै कथा लेख्न थालेको बताउँदै कथाकार थापाले आफू संस्कृतिको विद्यार्थी भएकाले फिल्ड रिपोर्टिङ गर्दा समाजका संस्कृतिका नयाँ नयाँ विषयहरु टिपोट गर्ने गरेको र त्यसलाई नै कथा बनाउन सहयोग गरेको बताइन्।
वरिष्ठ कथाकार पुस्कर लोहनीले कथा संग्रहमा समेटिएका कथाहरु उत्कृष्ठ रहेको बताए। धर्म, कला, साहित्य, संस्कृति, भूगोल आदि एउटै कृतिमा समेटिएको उनले बताए।