जीपी श्वासप्रश्वास केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने : मुख्यमन्त्री पोखरेल
दमौली : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने बताएका छन् ।
केन्द्रको निरीक्षण गर्दै उनले प्रदेशको नीति तथा कार्यक्रममा समेत समावेश भएका कारण सरकारले प्रतिवद्धता अनुसारको काम गर्ने बताए । मुख्यमन्त्रीले प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित केन्द्र प्रदेशको गौरव रहेको बताए।
उनले कोभिड संकटका समयमा महत्वपूर्ण सेवा दिएको भन्दै स्वास्थ्यकर्मीको प्रशंसा गरे । कार्यक्रममा केन्द्र व्यवस्थापन समिति सदस्य शेषमणि आचार्यले मुख्यमन्त्री पोखरेलको नेतृत्वमा कर्मचारीको अभाव पूर्ति गर्न सहयोग हुने अपेक्षा गरे कार्यक्रममा प्रदेश सभा सदस्यद्वय डोवाटे विक, सरिता गुरुङ, संविधान सभासद् रामचन्द्र पोखरेल लगायत उपस्थित थिए ।